चितवन : चितवन प्रहरीद्धारा विभिन्न ठाउँबाट ३७० थान अक्सिजन सिलिण्डर नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यलय चितवनका प्रबक्ता डिएसपी सरोज गिरीका अनुसार चितवन जिल्ला भित्रबाट ११३ र जिल्ला बाहिरबाट २५७ थान गरि ३७० थान सिलिण्डर नियन्त्रणमा लिएको हो ।
उनकाअनुसार जिल्ला भित्र वैशाख २७ गते खैरहनी, टाँडी, भण्डारा, गीतानगर र दिव्यनगरस्थित ईलाका प्रहरी कार्यालयहरुले ८८ वटा भरिएका र ८ वटा खाली गरि जम्मा ९६ वटा सिलिण्डर नियन्त्रणमा लिएका थिए । त्यस्तै २६ गते जिल्ला प्रहरी, वडा प्रहरी नारायणगढ र प्रहरी चौकी बसपार्कले १७ वटा सिलिण्डर नियन्त्रणमा लिएका थिए ।
वीरगञ्जबाट १७० र भैरहवाबाट ८७ थान सिलिण्डर नियन्त्रणमा लिएको डिएसपी गिरीले जानकारी दिए । डिएसपी गिरीका अनुसार चितवनबाट अन्य जिल्लामा लगेर होल्ड भएका सिलिण्डर जिल्ला प्रशासन कार्यालयको समन्वयमा प्रहरीले फिर्ता ल्याएको हो ।
उनले चितवन र अन्य जिल्लामा अधिकांश सिलिण्डर ग्रील उद्योग तथा कलकारखानामा स्टक राखिएको अवस्थामा भेटिएपछि नियन्त्रणमा लिएर ल्याइएको बताए ।
‘व्यक्तिले लगेका सिलिण्डर कतिपय आफै फिर्ता पनि गर्नुभएको छ । हामी आफै गएर ल्याएको कम छ,’ उनले भने, ‘घरमा स्टक राखिएको भेटिए त्यस्ता सिलिण्डर पनि फिर्ता गर्छौं ।’
नियन्त्रण गरिएका मध्ये ३१९ वटा सिलिण्डरहरु रामनगरस्थित स्वर्गद्वारी अक्सिजन ग्याँस उद्योगमा राखिएको छ । अन्य सिलिण्डर प्रहरी कार्यालयले राखेको छ । कोरोना भाइरसको महामारी बढ्दै जाँदा देशभर अक्सिजनको अभाव छ । चितवनमा ठूला अस्पतालका आफ्नै प्लन्ट र एउटा उद्योग रहेपनि अक्सिजन भर्ने सिलिण्डरको अभाव देखिँदै आएको थियो ।
केही दिन अघिमात्रै जिल्ला कोभिड १९ व्यवस्थापन समितिले उद्योगी तथा व्यक्तिगतरुपमा सिलिण्डर होल्ड गर्नेहरुलाई फिर्ता गर्न निर्देशन दिँदै नदिए प्रहरी परिचालन गर्ने निर्णय गरेको थियो ।
चितवनमा सप्लायर्सबाट बिक्री हुने अक्सिजनको ५० प्रतिशत हिस्सा उद्योग, कलकारखानामा जाने गरेको थियो । महामारी बढेसँगै कलकारखाना बन्दै गरेर भएपनि अस्पतालमा अक्सिजन अभाव हुन नदिने गरी प्रशासन लागेको छ ।