Gorkha Sansar

गाउँमै सम्भव जटिल शल्यक्रिया : आँपपिपल अस्पतालमा हर्नियाको सफल अपरेसन

गोरखा, जेठ २८ । गोरखाको आँपपिपल अस्पतालले सीमित स्रोत–साधन र पूर्वाधारका बीच पनि विशेषज्ञ शल्यक्रिया सेवा गाउँमै उपलब्ध गराउँदै आएको अर्को उदाहरण प्रस्तुत गरेको छ।

अस्पतालमा २०८३ जेठ २८ गते एक बिरामीको Open Umbilical Herniaplasty with Mesh Repair शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको अस्पतालले जनाएको छ। यसअघि पित्तथैली (Gallbladder) को शल्यक्रिया गर्दा बनाइएको प्वालको स्थानमा विकसित भएको Incisional/Umbilical Hernia को सफल उपचार गरिएको हो।

अस्पतालका अनुसार अनुभवी चिकित्सक, दक्ष स्वास्थ्यकर्मी तथा उत्कृष्ट टिमवर्कका कारण बिरामीलाई सुरक्षित र प्रभावकारी शल्यक्रिया सेवा गाउँमै प्रदान गर्न सम्भव भएको हो।

शल्यक्रियामा डा. सुनिल कुँवर र डा. सुरज बाबु केसी सम्मिलित थिए। एनेस्थेसिया सेवामा पूजा परियार र स्क्रब नर्सका रूपमा सुनिता थापा, जंगबहादुर गुरुङ तथा नानुमाया राना को सक्रिय भूमिका रहेको थियो।

अस्पतालले ग्रामीण क्षेत्रका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा आफ्नै समुदायमा उपलब्ध गराउने लक्ष्यअनुसार सेवा विस्तार गर्दै आएको जनाएको छ। अस्पतालका स्वास्थ्यकर्मीहरूले सही योजना, दक्ष जनशक्ति र सेवाप्रतिको प्रतिबद्धता भए गाउँमै पनि प्रभावकारी तथा सुरक्षित उपचार सम्भव रहेको तथ्यलाई पुनः प्रमाणित गरेको बताएका छन्।

पछिल्लो समय आँपपिपल अस्पतालमा विभिन्न प्रकारका शल्यक्रिया सेवा सफलतापूर्वक सञ्चालन हुन थालेपछि गोरखा तथा आसपासका जिल्लाका बिरामीहरू समेत लाभान्वित भइरहेका छन्। यसले सामान्यदेखि जटिल उपचारका लागि काठमाडौं वा ठूला शहर धाउनुपर्ने बाध्यता क्रमशः कम हुँदै गएको स्थानीयवासीको भनाइ छ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.