Gorkha Sansar

दुईवटा रक्तनली बन्द, ८० वर्षीय वृद्धलाई नेपाल मेडिकल कलेजले दियो नयाँ जीवन

काठमाडौं । मुटुको दुईवटा मुख्य रक्तनली बन्द भएर ज्यानै जोखिममा परेका ८० वर्षीय एक वृद्धको नेपाल मेडिकल कलेजले सफल उपचार गरेको छ। अत्याधुनिक क्याथ ल्याब र विशेषज्ञ चिकित्सकको टोलीको समन्वयमा गरिएको एन्जियोप्लास्टीपछि बिरामीले नयाँ जीवन पाएका छन्।

उच्च रक्तचाप र अत्यधिक छाती दुखाइका कारण गम्भीर अवस्थामा बुधबार अस्पताल ल्याइएका काजी शेर्पाको मुटुमा तत्काल उपचार आवश्यक रहेको चिकित्सकहरूले बताएका छन्। नेपाल मेडिकल कलेजका मुटुरोग विशेषज्ञ तथा विभागीय प्रमुख डा. सुर्यराज पाठकको नेतृत्वमा रहेको टोलीले आपतकालीन एन्जियोप्लास्टी गरी बन्द भएका रक्तनलीहरू खोल्न सफल भएको हो।

डा. पाठकका अनुसार बिरामी विगत १० वर्षदेखि उच्च रक्तचापबाट पीडित थिए भने धुम्रपानको बानीका कारण मुटु रोगको जोखिम अझ बढेको थियो। “अस्पताल आइपुग्दासम्म उहाँको अवस्था निकै जटिल बनिसकेको थियो। परीक्षणका क्रममा मुटुका दुईवटा रक्तनली बन्द भएको पाइएपछि तत्काल एन्जियोप्लास्टी गरेर रक्तप्रवाह पुनः सञ्चालन गर्यौं,” उनले बताए।

नेपाल मेडिकल कलेजमा केही महिनाअघि मात्रै स्थापना गरिएको अत्याधुनिक क्याथ ल्याबले मुटुरोग उपचारमा उल्लेखनीय सफलता हासिल गरिरहेको छ। अस्पतालका अनुसार पछिल्लो तीन महिनामै करिब ५० जना बिरामीको एन्जियोप्लास्टी सफलतापूर्वक सम्पन्न भइसकेको छ।

विगतमा क्याथ ल्याब सुविधा नहुँदा जटिल मुटुरोगीलाई अन्य अस्पतालमा रिफर गर्नुपर्ने अवस्था थियो। समयमै उपचार नपाउँदा कतिपय बिरामीले बाटोमै ज्यान गुमाउने जोखिम समेत व्यहोर्नुपर्थ्यो। तर अहिले हृदयघातदेखि मुटुसम्बन्धी जटिल रोगसम्मका बिरामीले नेपाल मेडिकल कलेजमै विशेषज्ञ सेवा पाउन थालेका छन्।

कलेजकी प्रबन्ध निर्देशक डा. सबिहा यासमिनले आधुनिक प्रविधि र नवीनतम उपचार पद्धतिलाई आत्मसात गर्दै सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यका साथ अस्पताल अघि बढिरहेको बताइन्। क्याथ ल्याबसँगै अस्पतालले फिलिप्स कम्पनीको १२८ स्लाइस सिटी स्क्यान तथा १.५ टेस्ला एमआरआई सेवा सञ्चालनमा ल्याएपछि बिरामीको विश्वास र उपचारार्थ आउने संख्या दुवै बढ्दै गएको अस्पतालले जनाएको छ।

विशेषगरी काठमाडौंको उत्तरपूर्वी क्षेत्रका बासिन्दा तथा बाहिरी जिल्लाबाट आउने मुटुरोगीहरूका लागि नेपाल मेडिकल कलेज अहिले भरपर्दो उपचार केन्द्रका रूपमा स्थापित हुँदै गएको छ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.