Gorkha Sansar

पालुङटार नगरपालिकाको ऐतिहासिक कदम, आधारभूत अस्पताल औपचारिक रूपमा सञ्चालनमा

पालुङटार, गोरखा । पालुङटार नगरपालिकाले स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने लक्ष्यसहित वडा नं. ६ स्थित गाइखुर स्वास्थ्य चौकी, भोटेकाटेलाई स्तरोन्नति गरी नगरस्तरीय आधारभूत अस्पतालका रूपमा सञ्चालनमा ल्याएको छ। उक्त अस्पतालको सोमबार एक विशेष समारोहका बीच औपचारिक उद्घाटन गरिएको हो।

पालुङटार नगरपालिका आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रमअन्तर्गत स्तरोन्नति गरिएको अस्पतालको उद्घाटन वडा नं. ६ का वडाध्यक्ष चेतबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा नगर प्रमुख विवस चिन्तन प्रमुख अतिथि रहनुभएको थियो भने नगर उपप्रमुख वन्दना पाण्डे, उपसचिव मनोज नेपाली सिर्मल, विभिन्न वडाका वडाध्यक्ष, स्वास्थ्य शाखा प्रमुख, कर्मचारी, जग्गादाता, सरोकारवाला निकायका प्रतिनिधि तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख विवस चिन्तनले अस्पताल सञ्चालनमा आएपछि वडा नं. ६, ७, ८, ९ र १० का नागरिकहरूले गुणस्तरीय स्वास्थ्य सेवा सहज रूपमा प्राप्त गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले आगामी दिनमा अस्पताललाई थप स्तरोन्नति गर्दै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने र सुविधा सम्पन्न स्वास्थ्य संस्थाका रूपमा विकास गर्ने योजना रहेको जानकारी दिनुभयो।

त्यसैगरी नगर उपप्रमुख वन्दना पाण्डेले अस्पतालको स्थापना पालुङटार नगरपालिकाको स्वास्थ्य क्षेत्र विकासमा महत्वपूर्ण उपलब्धि भएको बताउँदै यसले स्थानीय नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न उल्लेखनीय भूमिका खेल्ने धारणा राख्नुभयो।

कार्यक्रमका अवसरमा अस्पताल निर्माणका लागि जग्गा उपलब्ध गराउने जग्गादाताहरूलाई नगरपालिकाको तर्फबाट सम्मान समेत गरिएको थियो।

ग्रामीण भेगका नागरिकलाई आफ्नै क्षेत्रबाट प्रभावकारी र सहज स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले स्थापना गरिएको यस अस्पतालले स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि गर्नुका साथै स्थानीयवासीको स्वास्थ्य पहुँचमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.