पालुङटार, असार ३ ।
पालुङटार नगरपालिकाको आयोजनामा विद्यार्थी मनोसामाजिक परामर्शसम्बन्धी ५ दिने कस्टमाइज्ड तालिम आजदेखि सुरु भएको छ। पालुङटार नगरपालिका सभाहलमा आयोजित कार्यक्रम नगरप्रमुख विवस चिन्तनको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै उपप्रमुख बन्दना पाण्डेले विद्यालयमा अध्ययनरत बालबालिकाको मानसिक स्वास्थ्य, भावनात्मक विकास तथा सकारात्मक सिकाइ वातावरण निर्माणका लागि मनोसामाजिक परामर्शको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो।
उहाँले विद्यार्थीका समस्या पहिचान गरी समयमै उचित परामर्श प्रदान गर्न शिक्षकहरू सक्षम हुनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख मनोज नेपालीले स्वागत मन्तव्य व्यक्त गर्दै तालिमले विद्यालयमा देखिने विभिन्न मनोसामाजिक चुनौतीहरूको समाधानमा शिक्षकहरूलाई थप सक्षम बनाउने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रमको सञ्चालन स्रोत शिक्षक सन्तोष पाण्डेले गर्नुभएको थियो।
तालिममा पालुङटार नगरपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूबाट एक–एक जना शिक्षकको सहभागिता रहेको छ। असार ७ गतेसम्म सञ्चालन हुने उक्त तालिममा पालुङटार नगरपालिकाका मनोविद् कमल पोखरेल र शिक्षा शाखा प्रमुख मनोज नेपालीले सहजीकरण गर्नुहुनेछ।
नगरपालिकाले विद्यार्थीको मानसिक स्वास्थ्य प्रवर्द्धन, व्यवहार व्यवस्थापन तथा विद्यालयमा सहयोगी र सुरक्षित वातावरण निर्माण गर्ने उद्देश्यले तालिम सञ्चालन गरेको जनाएको छ। सहभागी शिक्षकहरूले तालिमबाट प्राप्त ज्ञान र सीपलाई विद्यालयस्तरमा व्यवहारमा उतार्दै विद्यार्थीहरूको समग्र विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
पालुङटारमा विद्यार्थी मनोसामाजिक परामर्शसम्बन्धी ५ दिने तालिम सुरु