तनहुँ । तनहुँको अग्लो चुचुरो छिम्केश्वरीमा पहिलोपटक व्यवस्थित रिसोर्ट सञ्चालनमा आएको छ । प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र ग्रामीण जीवनशैलीका लागि परिचित छिम्केश्वरीमा आवास तथा आतिथ्य सुविधा थपिएसँगै यस क्षेत्रको पर्यटन विकासमा नयाँ सम्भावना खुलेको छ ।
आबुखैरेनी गाउँपालिका–५, लाब्दी–भोटेश्वारामा करिब २० रोपनी क्षेत्रफलमा निर्माण गरिएको छिम्केश्वरी रिसोर्ट सञ्चालनमा आएको हो । स्थानीय व्यवसायी शेरबहादुर गुरुङ, दीपक गुरुङ र कृष्णमान तामाङको संयुक्त लगानीमा करिब दुई करोड रुपैयाँ खर्चेर रिसोर्ट निर्माण गरिएको हो ।
छिम्केश्वरी पर्यटन विकास समितिका अध्यक्षसमेत रहेका लगानीकर्ता कृष्णमान तामाङका अनुसार रिसोर्टको उद्देश्य व्यवसायसँगै छिम्केश्वरीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन बजारमा चिनाउनु हो ।
समुद्री सतहबाट करिब १ हजार ६२५ मिटरको उचाइमा रहेको रिसोर्टमा ६ वटा सुविधायुक्त कोठा छन् । प्रत्येक कोठामा तीन जनासम्म बस्न सक्ने व्यवस्था छ । समूहमा आउने पर्यटकका लागि २५ जना क्षमताको खुला हल, टेन्टमा बस्ने सुविधा तथा करिब २०० जना क्षमताको सभाहलसमेत निर्माण गरिएको छ ।
रिसोर्टबाट हिमशृङ्खला, हरियाली पहाड र ग्रामीण बस्तीको दृश्यावलोकन गर्न सकिन्छ । चिसो मौसम, शान्त वातावरण र प्रकृतिको नजिक बसेर समय बिताउन चाहने पर्यटकका लागि छिम्केश्वरी नयाँ गन्तव्य बन्न सक्ने व्यवसायीहरूको अपेक्षा छ ।
रिसोर्टमा स्थानीय तथा रैथाने खानाका परिकारलाई समेत प्राथमिकता दिइएको छ । कोदो, फापर र मकैका रोटी, ढिँडो, स्थानीय कुखुरा तथा खसीका परिकार उपलब्ध हुनेछन् । यसले पर्यटकलाई स्थानीय स्वादसँगै ग्रामीण जीवनशैलीको अनुभव गराउने अपेक्षा गरिएको छ ।
छिम्केश्वरी प्राकृतिक पर्यटनसँगै धार्मिक पर्यटनका लागि पनि महत्वपूर्ण क्षेत्र हो । रिसोर्टबाट करिब ३० मिनेटको पैदल दूरीमा २ हजार १३४ मिटर उचाइमा रहेको छिम्केश्वरी माईको मन्दिर छ ।
मन्दिर दर्शनका लागि आउने भक्तजन तथा धार्मिक पर्यटकलाई बसाइ र खानाको सुविधा उपलब्ध भएपछि छिम्केश्वरीको धार्मिक पर्यटनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ । यसले प्रकृति, धर्म र ग्रामीण जीवनशैलीलाई एउटै पर्यटन अनुभवमा जोड्ने अवसर सिर्जना गरेको छ ।
आबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले छिम्केश्वरीमा पर्यटकको आगमन बढाउन आवास तथा खानाको सुविधा आवश्यक रहेको बताए । निजी क्षेत्रको लगानीमा रिसोर्ट सञ्चालनमा आउनु स्थानीय पर्यटन विकासका लागि महत्वपूर्ण कदम भएको उनको भनाइ छ ।
उनका अनुसार छिम्केश्वरी आउने पर्यटकलाई केही घण्टा घुमेर फर्किनेभन्दा केही दिन बस्ने वातावरण बनाउन यस्ता पूर्वाधारले सहयोग गर्नेछ ।
आबुखैरेनीको मिलनचोकबाट सवारीसाधनमा करिब ४५ मिनेटमा रिसोर्ट पुग्न सकिन्छ । सडक पूर्वाधारमा सुधार हुँदै गएसँगै छिम्केश्वरीको पहुँच पनि विगतको तुलनामा सहज बनेको छ । बन्दीपुर हुँदै अफरोड मार्गबाट समेत यस क्षेत्रमा पुग्न सकिन्छ ।
छिम्केश्वरीमा रिसोर्ट सञ्चालनमा आएपछि यहाँको धार्मिक, प्राकृतिक र ग्रामीण पर्यटनलाई एकसाथ प्रवद्र्धन गर्ने आधार तयार भएको स्थानीयहरूको विश्वास छ ।
हिमशृङ्खलाको दृश्य, हरियाली पहाड, शीतल मौसम, ग्रामीण जीवनशैली, स्थानीय खानाका परिकार र छिम्केश्वरी माईको धार्मिक आस्थालाई एउटै यात्रामा अनुभव गर्न सकिने भएकाले छिम्केश्वरीले पर्यटकको बसाइ लम्ब्याउने सम्भावना बोकेको छ ।
रिसोर्टको सञ्चालनसँगै छिम्केश्वरी अब केवल घुमेर फर्किने गन्तव्य नभई बसेर प्रकृति, संस्कृति, धर्म र ग्रामीण जीवनको अनुभव गर्ने नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास हुने अपेक्षा गरिएको छ ।
छिम्केश्वरीमा खुल्यो पहिलो रिसोर्ट, धार्मिक, प्राकृतिक र ग्रामीण पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा