दमौली । तनहुँमा अब एटिएमबाट पैसा झैँ दूध पनि खरिद गर्न सकिने भएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय, तनहुँले चालु आर्थिक वर्ष २०८३/८४ मा परीक्षणका रूपमा ‘मिल्क एटिएम’ सञ्चालन गर्ने तयारी गरेको हो। यससँगै जिल्लामा पशु स्वास्थ्य सेवासमेत आधुनिक प्रविधिमा आधारित बन्दै गएको छ।
कार्यालय प्रमुख रविन्सन अधिकारीका अनुसार स्थानीय दुग्ध सहकारीसँगको सहकार्यमा सञ्चालन हुने ‘मिल्क एटिएम’बाट उपभोक्ताले आवश्यक रकम भुक्तानी गरी आफूलाई चाहिएको परिमाणमा दूध सहज रूपमा खरिद गर्न सक्नेछन्। परीक्षण सफल भए आगामी वर्ष अन्य स्थानमा पनि विस्तार गर्ने योजना रहेको उनले बताए।
कृषि विकास कार्यालय र भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय, तनहुँको संयुक्त आयोजनामा बिहीबार सम्पन्न आर्थिक वर्ष २०८२/८३ को प्रगति समीक्षा तथा आर्थिक वर्ष २०८३/८४ को वार्षिक स्वीकृत कार्यक्रम सार्वजनिक कार्यक्रममा उक्त योजना सार्वजनिक गरिएको हो।
कार्यालयले पशु स्वास्थ्य सेवामा पनि उल्लेखनीय प्रविधि विस्तार गरेको छ। गण्डकी प्रदेशका ११ जिल्लामध्ये पशुको ब्लड टेस्ट सेवा सञ्चालन गर्ने पहिलो तथा हालसम्मको एकमात्र कार्यालय तनहुँ बनेको छ। यस सेवाबाट पशुमा देखिने विभिन्न रोगको वैज्ञानिक, छिटो र भरपर्दो परीक्षण सम्भव हुने भएकाले उपचार प्रक्रिया थप प्रभावकारी हुने विश्वास गरिएको छ। यसअघि यस्ता परीक्षणका लागि किसानले अन्य जिल्ला पुग्नुपर्ने बाध्यता थियो।
त्यसैगरी, कार्यालयले भिडिओ एक्स–रे सेवा तथा हड्डीसम्बन्धी शल्यक्रिया सेवा समेत सञ्चालनमा ल्याएको छ। दुर्घटना वा अन्य कारणले हड्डी भाँचिएका तथा जोर्नीसम्बन्धी समस्या भएका पशुको जिल्लामै उपचार गर्न सकिने भएपछि पशुपालक किसानलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।
कार्यालय प्रमुख अधिकारीका अनुसार यी सेवाबाट तनहुँका मात्र नभई गण्डकी प्रदेशका अन्य जिल्लाका पशुपालक किसानले पनि लाभ लिन सक्नेछन्।
कार्यक्रममा कृषि विकास कार्यालय तनहुँका प्रमुख परशुराम अधिकारीले चालु आर्थिक वर्षका कृषि विकास कार्यक्रम सार्वजनिक गर्दै किसानमुखी, उत्पादनमुखी तथा प्रविधिमा आधारित कृषि प्रणालीलाई प्राथमिकता दिइएको बताए। उनले कृषि र पशुपालनलाई एकीकृत रूपमा अघि बढाउँदै उत्पादन वृद्धि, आम्दानी अभिवृद्धि तथा व्यवसायीकरणमा विशेष जोड दिइने उल्लेख गरे।
कार्यक्रममा गत आर्थिक वर्षका उपलब्धिको समीक्षा गर्दै सेवा प्रवाहलाई अझ प्रभावकारी, प्रविधिमैत्री र किसानको पहुँचभित्र पुर्याउने प्रतिबद्धता व्यक्त गरिएको थियो। सहभागीहरूले आधुनिक पशु स्वास्थ्य सेवा र ‘मिल्क एटिएम’ जस्ता नवीन योजनाले पशुपालन क्षेत्रलाई थप सुरक्षित, व्यावसायिक र उत्पादनमुखी बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।
अब एटिएमबाटै दूध ! तनहुँमा ‘मिल्क एटिएम’ सञ्चालन हुँदै, पशु स्वास्थ्य सेवामा पनि प्रविधिको फड्को