Gorkha Sansar

ऐतिहासिक कोटगढीमा वृहत् वृक्षारोपण : हरियालीसँगै धार्मिक पर्यटन प्रवर्द्धनमा जोड

गोरखा, श्रावण ५। पालुङटार नगरपालिका–१० स्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको कोटगढी परिसरमा सोमबार वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। वातावरण संरक्षण, जैविक विविधताको संवर्द्धन, जलवायु परिवर्तनका असर न्यूनीकरण तथा धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो।

वडा नं. १० का वडाध्यक्ष रिखिराज धौरालीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि पालुङटार नगरपालिकाका नगरप्रमुख विवश चिन्तन रहेका थिए भने विशेष अतिथिका रूपमा नगर उपप्रमुख वन्दना पाण्डे र प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर वि.सी. सहभागी भएका थिए। कार्यक्रमको सञ्चालन टेकबहादुर अधिकारीले गरेका थिए।

कार्यक्रमको शुभारम्भ ॐकार योग आयुर्वेद गुरुकुलका वटुकहरूले वैदिक मन्त्रोच्चारणसहित स्वस्ति–शान्ति पाठ गरी गरेका थिए। धार्मिक वातावरणबीच सम्पन्न उक्त कार्यक्रममा पालुङटार नगरपालिकाका विभिन्न वडाका जनप्रतिनिधि, जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख, वन डिभिजन कार्यालय गोरखाका प्रमुख, सब–डिभिजन वन कार्यालय ठाटीपोखरीका प्रमुख, नेपाली सेना, सशस्त्र प्रहरी बल, इलाका प्रहरी कार्यालय ठाटीपोखरीका प्रतिनिधि, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी तथा स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि विवश चिन्तनले वृक्षारोपण केवल बिरुवा रोप्ने कार्यमा सीमित नभई प्रकृति संरक्षण, पर्यावरणीय सन्तुलन कायम गर्ने तथा धार्मिक पर्यटनको विकाससँग जोडिएको महत्वपूर्ण अभियान भएको बताए। उनले हरियाली प्रवर्द्धनसँगै ऐतिहासिक कोटगढी क्षेत्रलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न नगरपालिकाले प्राथमिकता दिएको धारणा व्यक्त गरे।

विशेष अतिथि नगर उपप्रमुख वन्दना पाण्डेले वातावरण संरक्षण आजको आवश्यकता भएको उल्लेख गर्दै रोपिएका बिरुवाको संरक्षण र दीगो व्यवस्थापनमा सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताइन्। प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर वि.सी.ले यस्ता अभियानले प्राकृतिक सम्पदाको संरक्षणसँगै भावी पुस्ताप्रतिको उत्तरदायित्व पूरा गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

कार्यक्रमका अध्यक्ष तथा वडा नं. १० का वडाध्यक्ष रिखिराज धौरालीले कोटगढी क्षेत्रको समग्र विकासका लागि वडाले दीर्घकालीन योजना अघि बढाएको जानकारी दिए। उनले उक्त क्षेत्रमा भ्यूटावर निर्माण, रेलिङ तथा फुटपाथ निर्माणलगायतका पूर्वाधार विकासका कामहरू भइरहेको उल्लेख गर्दै सौन्दर्यकरणका साथै फलफूलका बिरुवा रोपेर क्षेत्रलाई आकर्षक पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने योजना रहेको बताए।

उनले वृक्षारोपण कार्यक्रमको सफलताभन्दा पनि यसको दीगोपना अझ महत्वपूर्ण पक्ष भएको उल्लेख गर्दै रोपिएका बिरुवाको संरक्षण, स्याहार–सम्भार र व्यवस्थापनमा सबैले चासो दिनुपर्नेमा जोड दिए।

सहभागीहरूले वृक्षारोपणलाई केवल एकदिने अभियानका रूपमा नभई प्रकृति संरक्षण, जैविक विविधताको संवर्द्धन तथा भावी पुस्ताप्रतिको साझा जिम्मेवारीको प्रतीकका रूपमा लिनुपर्ने धारणा व्यक्त गरेका थिए। पछिल्ला वर्षहरूमा बढ्दो जलवायु परिवर्तनका चुनौतीबीच यस्ता कार्यक्रमले वातावरण संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको थियो।

ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्व बोकेको कोटगढी क्षेत्रमा सञ्चालन गरिएको वृक्षारोपण अभियानले स्थानीय वातावरण संरक्षण, क्षेत्रको सौन्दर्य अभिवृद्धि तथा धार्मिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।

कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग, सहभागिता र योगदान पुर्‍याउने सम्पूर्ण महानुभावहरूप्रति पालुङटार नगरपालिकाले हार्दिक आभार व्यक्त गरेको छ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.