गाेरखामा तपाइकाे मास्क खै अभियान

बिनामास्क सडकमा मोटरसाईकलमा हुँईकिरहेकालाई प्रहरीले रोक्दै मास्क लगाउन अनुरोध गर्दै थिए । यात्रुबाहक होस् या निजी सवारी साधनमा सवार चालक, यात्रुलाई पनि प्रहरीले मास्क लगाउनु अनुरोध गरे । पसलमा ब्यापारका लागि बसेका होउन् या ग्राहक मास्क नलगाएकालाई सोमवार बिहान ‘तपाईको मास्क खै’ ? भन्दै प्रहरीले सोधिरहेका थिए ।

कतिपयलाई मास्क नजिकैको पसलमा गएर खरिद गर्न अनुरोध गरे भने कतिपयलाई प्रहरीले मास्क उपलब्ध गरायो । सोमवार सामुदायिक सेवा केन्द्र गोरखा र जिल्ला प्रहरी कार्यालयको आयोजनामा गोरखा सदरमुकाममा ‘तपाईको मास्क खै ?’ अभियान चलाइएको थियो ।

गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्त, प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल, प्रहरी प्रमुख एसपी शेखर खनाल, सामुदायिक सेवा केन्द्रका अध्यक्ष कैलाशबाबु श्रेष्ठले मास्क लगाउन अनुरोध गरिरहेका थिए ।

दूध बिक्री गरेर फर्कदै गरेकादेखि कार्यालय हिडेका कर्मचारी, ब्यवशायी, ब्यापारीले पनि मास्क लगाएका थिएनन् । पसलमा बसेका ब्यापारी बिनामास्क थिए । अधिकांस मोटरसाईकल चालकको मुखमा मास्क थिएन । ‘मास्क लगाउनुपर्छ, नियमित लगाउन प्रेरणा मिलोस् भन्ने उद्देश्यले सो अभियान चलाइएको हो’ प्रहरी प्रमुख एसपी खनालले भने ।

उक्त अभियानले मानिसमा सचेतना जगाउने उद्देश्य रहेको सामुदायिक सेवा केन्द्रका अध्यक्ष कैलाशबाबु श्रेष्ठले बताए । गोरखा सदरमुकामको हरमटारीदेखि शक्तिचोक, बसपार्क, नयाँ बजार सम्म मास्क बितरण सँगै सचेतना कार्यक्रम संचालन गरिएको थियो । अभियानमा सहभागिले कोरोना संक्रमणबाट आफु पनि बचौँ, अरुलाई पनि बचाऔँ, साबुन पानीले हात धोऔँ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

कोरोना भाईरसको दोस्रो लहर बढेसँगै सचेतना अभियान संचालन गरिएको हो । पछिल्लो समय गोरखाका कोरोना संक्रमित थपिँदो छन् भने दोस्रो लहर सुरु भएपछि तीन जनाको ज्यान गईसकेको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.