गोरखा। गोरखास्थित आँपपीपल अस्पतालले अस्पतालमा कार्यरत कर्मचारीहरूको स्वास्थ्य सुरक्षालाई थप सुदृढ बनाउने उद्देश्यले नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रममा सहभागी हुन प्रोत्साहनस्वरूप स्वास्थ्य बिमा प्रिमियमको ५० प्रतिशत रकम अस्पतालबाट व्यहोर्ने निर्णय गर्नुभएको छ।
अस्पताल व्यवस्थापन समितिकी अध्यक्ष पार्वतीदेवी पाठकका अनुसार उक्त सुविधा प्राप्त गर्न कर्मचारीहरूले स्वास्थ्य बिमाको प्रिमियम रकम प्रारम्भमा आफ्नै खर्चमा भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ। त्यसपछि आफ्नो नाममा जारी भएको आधिकारिक बिल वा रसिद भुक्तानी गरेको मितिले तीन महिनाभित्र अस्पताल प्रशासनमा पेश गर्नुपर्ने उहाँले जानकारी दिनुभयो।
उहाँका अनुसार तोकिएको अवधिभित्र आवश्यक कागजात पेश गर्ने कर्मचारीहरूलाई अस्पतालले स्वास्थ्य बिमा प्रिमियमको ५० प्रतिशत रकम उपलब्ध गराउने व्यवस्था गरिएको छ।
अध्यक्ष पाठकज्यूले कर्मचारीहरूको स्वास्थ्य सुरक्षालाई थप प्रभावकारी बनाउनुका साथै स्वास्थ्य बिमा कार्यक्रममा सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले उक्त निर्णय गरिएको बताउनुभयो। उहाँका अनुसार यस व्यवस्थाले कर्मचारीहरूको उपचारसँग सम्बन्धित आर्थिक भार कम गर्न सहयोग पुग्ने मात्र नभई स्वास्थ्य बिमाप्रति आकर्षण र सहभागिता समेत बढ्ने विश्वास लिइएको छ।
उहाँले अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहसँगै कर्मचारीहरूको सामाजिक सुरक्षा, कल्याण तथा मनोबल अभिवृद्धिलाई पनि उच्च प्राथमिकतामा राख्दै यस्ता कर्मचारीमैत्री कार्यक्रमहरूलाई आगामी दिनमा समेत निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो।