Skip to main content

Gorkha Sansar

विन्ध्यवासिनीका विद्यार्थीलाई एनआईसी एशिया बैंकको सहयोग

गोरखा, असोज ६ — विद्यार्थीको शैक्षिक यात्रामा आर्थिक अभाव बाधक नबनोस् भन्ने उद्देश्यसहित एनआईसी एशिया बैंक लिमिटेड, गोरखाले श्री विन्ध्यवासिनी माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि झोला तथा विभिन्न स्टेसनरी सामग्री हस्तान्तरण गरेको हो। सामग्रीमा कापी, कलम, पेन्सिल, इरेजर, शार्पनर, ज्योमेट्री बक्स, कलर पेपर, कलर पेन्सिललगायतका सामग्री रहेका छन्।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमबहादुर भट्टको अध्यक्षता तथा गोरखा नगरपालिका–३ का वडा अध्यक्ष चुलबहादुर कुँवरको प्रमुख आतिथ्यतामा सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गणेशराज सापकोटाले शैक्षिक सामग्रीको सहयोगले विशेषगरी आर्थिक रूपमा कमजोर तथा जेहेन्दार विद्यार्थीलाई अध्ययनमा थप सहयोग पुग्ने बताउनुभयो। उहाँले विद्यार्थीको शैक्षिक गुणस्तर अभिवृद्धिको अभियानमा यस्ता सहयोग महत्वपूर्ण हुने उल्लेख गर्दै आगामी दिनमा पनि बैंकसँग सहकार्यको अपेक्षा व्यक्त गर्नुभयो।
कार्यक्रममा एनआईसी एशिया बैंक गण्डकी प्रदेश प्रमुख श्वेता शेरचन, गण्डकी प्रदेश कार्यालयका समी पुन, एनआईसी एशिया बैंक गोरखा शाखाका शाखा प्रबन्धक दीपेन्द्र रेग्मी तथा कार्यवाहक वडा अध्यक्ष अञ्जना देवकोटालगायतले मन्तव्य राख्नुभएको थियो।
कार्यक्रममा वडा सचिव अनिल तिवारी, विद्यालय व्यवस्थापन समिति, गुणस्तर लेखाजोखा समिति तथा विद्यालय परिवारको सहभागिता रहेको थियो। विद्यालयका सहायक प्रधानाध्यापक सजिना ढकालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन शिक्षक ज्ञानहरि अर्यालले गर्नुभएको थियो।
CSR लाई केवल सहयोगभन्दा माथि उठाएर विद्यार्थीको शिक्षामा प्रत्यक्ष लगानीका रूपमा अघि बढाउने बैंकको प्रयासले विद्यालय र समुदायबीचको सहकार्यलाई समेत थप बलियो बनाएको विद्यालयले जनाएको छ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.