Gorkha Sansar

अभिभावक शिक्षा कार्यक्रम भव्य रूपमा सम्पन्न

अभिभावक शिक्षा कार्यक्रम भव्य रूपमा सम्पन्न
पालुङटार–७, खत्रीटार, गोरखा । च्याङ्ली सामुदायिक सिकाई केन्द्रको आयोजनामा बालकल्याण माध्यमिक विद्यालयमा आयोजित अभिभावक शिक्षा कार्यक्रम आज भव्य तथा उत्साहजनक रूपमा सम्पन्न भएको छ। अभिभावकहरूको उल्लेखनीय सहभागितामा सम्पन्न कार्यक्रमले बालबालिकाको सर्वाङ्गीण विकास, सकारात्मक अभिभावकत्व तथा विद्यालय र अभिभावकबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने विश्वास लिइएको छ।
कार्यक्रम च्याङ्ली सामुदायिक सिकाई केन्द्रका अध्यक्ष डा. रविन्द्र कँडेलको अध्यक्षतामा सम्पन्न भएको थियो भने पालुङटार नगरपालिकाका नगर प्रमुख विवश चिन्तन प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा जीवन विज्ञान गण्डकी प्रदेश संयोजक अमर भण्डारी तथा रोजगारीले सहजीकरण तथा प्रशिक्षण प्रदान गर्नुभएको थियो।
कार्यक्रमको प्रारम्भमा बालकल्याण माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेम कोइरालाले स्वागत मन्तव्य व्यक्त गर्दै कार्यक्रमको उद्देश्य, आवश्यकता र औचित्यबारे प्रकाश पार्नुभएको थियो। विद्यालय, अभिभावक र समुदायबीचको सहकार्यबाट मात्र बालबालिकाको शैक्षिक उपलब्धि तथा व्यक्तित्व विकासमा सकारात्मक परिवर्तन ल्याउन सकिने उहाँले बताउनुभयो। कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक लक्ष्मी ढकालले गर्नुभएको थियो।
प्रमुख अतिथि विवश चिन्तनले आफ्नो मन्तव्यका क्रममा पालुङटार नगरपालिकाले शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो। आफूहरू निर्वाचित भएर आएपछि विद्यालयको भौतिक पूर्वाधार विकास, शैक्षिक गुणस्तर अभिवृद्धि, शिक्षक क्षमता विकास तथा विद्यार्थीमैत्री वातावरण निर्माणका लागि विभिन्न महत्वपूर्ण कदमहरू चालिएको जानकारी दिनुभयो। शिक्षा क्षेत्रमा गरिएको लगानीले भविष्यमा सक्षम, जिम्मेवार र प्रतिस्पर्धी नागरिक उत्पादन गर्न मद्दत पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो।
सहजीकरणका क्रममा प्रशिक्षकहरूले बालबालिकाको व्यवहार व्यवस्थापन, सकारात्मक सोचको विकास, अभिभावकको जिम्मेवारी, पारिवारिक संवाद, अनुशासन, भावनात्मक सहयोग तथा बालबालिकाको सिकाइ उपलब्धिमा अभिभावकको भूमिकाबारे विस्तृत रूपमा जानकारी गराउनुभएको थियो। सहभागी अभिभावकहरूले पनि आफ्ना अनुभव तथा जिज्ञासाहरू राख्दै कार्यक्रमलाई अत्यन्त उपयोगी र व्यवहारिक भएको प्रतिक्रिया दिएका थिए।
कार्यक्रममा नगर उपप्रमुख बन्दना पाण्डे, बालकल्याण माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम कुमाल, विभिन्न विद्यालयका प्रधानाध्यापकहरू, स्वास्थ्यकर्मीहरू, स्थानीय बुद्धिजीवीहरू, सामाजिक अगुवाहरू तथा विद्यालयका सम्पूर्ण अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
च्याङ्ली सामुदायिक सिकाई केन्द्रले विगतदेखि नै समुदायस्तरमा अनौपचारिक शिक्षा, जीवनोपयोगी शिक्षा, आयआर्जनमूलक कार्यक्रम, पुस्ता हस्तान्तरण कार्यक्रम, साक्षरता अभियान तथा विभिन्न जनचेतनामूलक गतिविधिहरू सञ्चालन गर्दै आइरहेको छ। केन्द्रले समुदायको शैक्षिक, सामाजिक तथा आर्थिक रूपान्तरणमा योगदान पुर्‍याउने उद्देश्यका साथ विभिन्न कार्यक्रमहरू निरन्तर सञ्चालन गरिरहेको छ। यसअघि पनि केन्द्रले जीवनज्योति माध्यमिक विद्यालयको सभाहलमा करिब ४०० जनाको सहभागितामा अभिभावक शिक्षा कार्यक्रम सफलतापूर्वक सञ्चालन गरेको थियो।
कार्यक्रमको समापन गर्दै अध्यक्ष डा. रविन्द्र कँडेलले कार्यक्रम सफल बनाउन सहयोग गर्ने पालुङटार नगरपालिका, बालकल्याण माध्यमिक विद्यालय परिवार, प्रशिक्षकहरू, अतिथिहरू, सञ्चारकर्मीहरू तथा सम्पूर्ण अभिभावकहरूप्रति हार्दिक आभार व्यक्त गर्नुभयो। यस्ता कार्यक्रमहरूले अभिभावकलाई अझ जिम्मेवार, सचेत र बालमैत्री वातावरण निर्माणतर्फ प्रेरित गर्ने विश्वास व्यक्त गर्दै उहाँले आगामी दिनमा पनि समुदायको आवश्यकताअनुसार यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने जानकारी दिनुभयो।
कार्यक्रमले अभिभावक, विद्यालय र समुदायबीचको सम्बन्धलाई अझ सुदृढ बनाउँदै बालबालिकाको समग्र विकासका लागि साझा प्रतिबद्धता निर्माण गर्न महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूले बताएका छन्।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.