गोरखा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पालुङटार नगरपालिका नगर अधिवेशन २०८३ असोज ७ गते बुधबार हुने कार्यतालिका तय भएको छ। सो अधिवेशनमा मानबहादुर आलेले नगर सभापति पदमा उम्मेदवारी दिनुभएको छ। नेपाली कांग्रेसको परिमार्जित निर्वाचन कार्यतालिकाअनुसार गाउँ–नगरपालिका अधिवेशन असोज ७ गते गर्ने व्यवस्था गरिएको छ।
पालुङटार नगरपालिका–५, ठाँटीपोखरी निवासी आले नेपाली कांग्रेस पालुङटार नगर कार्यसमितिका वर्तमान उपसभापति हुनुहुन्छ। उहाँले यसअघि २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट पालुङटार नगरपालिका–५ को वडा अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको थियो।
आले सामाजिक तथा व्यावसायिक क्षेत्रमा समेत सक्रिय रहँदै आउनुभएको छ। उहाँ लिगलिग पालुङटार उद्योग वाणिज्य संघका वर्तमान अध्यक्ष तथा नेपाल मगर संघ, पालुङटार नगर कार्यसमितिका अध्यक्ष हुनुहुन्छ। त्यस्तै उहाँ भारतीय नेपाली भूतपूर्व सैनिक संघ तथा बहुउद्देश्यीय भूतपूर्व सैनिक संघसँग पनि आबद्ध रहनुभएको विवरणमा उल्लेख छ।
राजनीतिक तथा सामाजिक गतिविधिमा लामो समयदेखि सक्रिय रहँदै आएका आलेले नगर सभापति पदमा आफ्नो उम्मेदवारी प्रस्तुत गर्नुभएको हो। उहाँले नेपाली कांग्रेसको संगठनलाई थप व्यवस्थित बनाउँदै पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकबीचको समन्वय र सहकार्यलाई प्राथमिकता दिने विषयलाई आफ्नो राजनीतिक यात्राको महत्वपूर्ण पक्षका रूपमा अघि सारेको बताइएको छ।
पालुङटारमा हुन लागेको नगर अधिवेशनले नगर सभापतिसहित नगर कार्यसमितिको नेतृत्व चयन गर्नेछ। नेपाली कांग्रेसको आधिकारिक कार्यतालिकाअनुसार वडा अधिवेशनपछि गाउँ–नगरपालिका तहको अधिवेशन र त्यसपछि क्रमशः माथिल्ला तहका अधिवेशनहरू अघि बढ्नेछन्।
आलेको उम्मेदवारीसँगै पालुङटार कांग्रेसको नगर नेतृत्व चयन प्रक्रिया थप चर्चामा आएको छ। अधिवेशनमा सहभागी प्रतिनिधिहरूबाट नयाँ नगर नेतृत्व चयन हुनेछ।