अध्यक्ष कञ्चनको दाबी– ‘जनविद्रोहको राजनीतिक उपलब्धि जनअपेक्षाअनुसार हुन सकेन’
काठमाडौं, भदौ २३ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले गत वर्ष भदौ २३ र २४ गते भएको जेन–जी जनविद्रोहलाई नेपाली राजनीतिक इतिहासमा महत्वपूर्ण उथलपुथलका रूपमा स्मरण गर्दै त्यसबाट उठेका जनअपेक्षालाई वैज्ञानिक समाजवाद स्थापनाको दिशामा अघि बढाउन आह्वान गरेको छ ।
पार्टीका अध्यक्ष कञ्चनले जारी गरेको प्रेस वक्तव्यमा जेन–जी जनविद्रोहलाई नेपाली युवाको ‘भिषण वर्गसंघर्ष’को सुरुवातका रूपमा व्याख्या गर्दै आन्दोलनका क्रममा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । वक्तव्यअनुसार गत वर्ष भदौ २३ गते २३ जना युवाले ज्यान गुमाएका थिए भने भदौ २४ गतेसम्म कुल ५७ जनाको मृत्यु भएको थियो ।
अध्यक्ष कञ्चनले दुई दिनको जनविद्रोहबाट पुरानो सरकार अपदस्थ भई नयाँ सरकार गठन हुनु विश्व राजनीतिक इतिहासमै दुर्लभ घटना भएको दाबी गरेका छन् । तर, विद्रोहपछि बनेको सरकारले आन्दोलनका क्रममा व्यक्त जनअपेक्षालाई सम्बोधन गर्न नसकेको उनको निष्कर्ष छ ।
वक्तव्यमा जेन–जी विद्रोह आकस्मिक घटना नभएको उल्लेख गर्दै त्यसका पछाडि संसदवादी दलहरूको अराजकता, संस्थागत भ्रष्टाचार, कुशासन, बेथिति, शोषण–उत्पीडन, बैंक तथा वित्तीय संस्थाको चरम शोषण, बेरोजगारी र युवाको विदेश पलायनजस्ता समस्या रहेको उल्लेख गरिएको छ ।
कञ्चनले विद्रोहपछि ‘व्यवस्था होइन, अवस्था बदल्ने’ नाममा सुधारवादी राजनीतिक धार हावी भएको र त्यसले आन्दोलनको वास्तविक राजनीतिक लक्ष्यलाई कमजोर बनाएको आरोप लगाएका छन् । उनका अनुसार विद्रोहको राजनीतिक परिणाम जनअपेक्षाअनुसार नआउनुको प्रमुख कारण सत्ताको नेतृत्वमा एकाधिकार पुँजीपति तथा नोकरशाही पुँजीपति वर्गको प्रभाव रहनु हो ।
वक्तव्यमा कांग्रेस, एमाले र माओवादीसहितका संसदवादी शक्तिहरूको राजनीतिक चरित्रप्रति समेत तीव्र आलोचना गरिएको छ । विगतमा जनसंघर्ष, जनआन्दोलन तथा जनयुद्धबाट स्थापित भएका राजनीतिक शक्तिहरू सत्तामा पुगेपछि जनताको पक्षबाट विचलित हुँदै गएको आरोप कञ्चनले लगाएका छन् ।
नेकपा (बहुमत) ले वर्तमान सत्ताको आर्थिक तथा सामाजिक नीतिमाथि पनि प्रश्न उठाएको छ । वक्तव्यमा सुकुम्बासीमाथि राज्य आतंक, किसानविरोधी बजेट, बैंक तथा एकाधिकार पुँजीको पक्षपोषण गर्ने कानुन, अभिव्यक्ति स्वतन्त्रतामाथिको नियन्त्रण तथा शिक्षा, स्वास्थ्य र साना व्यवसायमा करको भार बढाइएको आरोप लगाइएको छ ।
अध्यक्ष कञ्चनले विपद्मा परेका नागरिकको उद्धार र राहतमा समेत सरकार संवेदनशील बन्न नसकेको आरोप लगाउँदै विपत्तिलाई अन्तर्राष्ट्रिय वित्तीय शक्तिसँग व्यापारिकरण गर्ने प्रयास भइरहेको दाबी गरेका छन् ।
वक्तव्यमा जेन–जी आन्दोलनको उपलब्धि अन्ततः एकाधिकारवादी तथा नोकरशाही पुँजीवादी शक्तिको हातमा कसरी पुग्यो भन्ने प्रश्नलाई गम्भीर रूपमा समीक्षा गर्नुपर्नेमा जोड दिइएको छ ।
कञ्चनका अनुसार आन्दोलनमा सहभागी युवाहरूमा स्पष्ट राजनीतिक तथा वैचारिक दृष्टिकोण निर्माण हुन नसक्नु, संघर्षपछि राज्यसत्ता सञ्चालन गर्ने स्पष्ट योजना नहुनु र मार्क्सवादी–लेनिनवादी–माओवादी, समाजवादी तथा अन्य जनवादी शक्तिले समयमै नेतृत्वदायी पहल लिन नसक्नु त्यसको प्रमुख कारण हो ।
उनले पुँजीवादी व्यवस्थाले उत्तरआधुनिकतावादी विचारमार्फत उपभोक्तावाद, व्यक्तिवाद, अराजकतावाद, शून्यवाद तथा विसर्जनवादी प्रवृत्तिलाई प्रोत्साहन गरिरहेको आरोप लगाउँदै त्यसविरुद्ध श्रमजीवी वर्गको वैज्ञानिक विश्वदृष्टिकोण निर्माण गर्नुपर्ने बताएका छन् ।
अध्यक्ष कञ्चनले विश्वव्यापी पुँजीवादी तथा साम्राज्यवादी संकटसँगै विभिन्न देशमा जनअसन्तोष र विद्रोहहरू पैदा भइरहेको दाबी गरेका छन् । भारत, बंगलादेशलगायत विभिन्न देशमा देखिएका राजनीतिक उथलपुथललाई उनले साम्राज्यवादी संकटको अभिव्यक्तिका रूपमा व्याख्या गरेका छन् ।
उनले विश्वभरका उत्पीडित जनताको पक्षमा उभिने समाजवादी, मार्क्सवादी–लेनिनवादी–माओवादी तथा जनवादी शक्तिहरूबीच एकता आवश्यक रहेको बताएका छन् । जनवादी शक्तिहरूको एकतामा अवरोध सिर्जना गर्ने प्रमुख कारणका रूपमा उनले व्यक्तिवादी तथा दलाल पुँजीवादी प्रवृत्तिलाई औंल्याएका छन् ।
नेपालका प्राकृतिक स्रोतसाधनमाथि विदेशी लगानी र हस्तक्षेप बढ्दै गएको दाबी गर्दै नेकपा (बहुमत) ले एमसीसी, एसपीपी, बीआईपीपीए (विप्पा) लगायतका अन्तर्राष्ट्रिय सहमतिप्रति पनि आपत्ति जनाएको छ ।
यस्ता सम्झौता तथा नीतिको प्रभावस्वरूप महँगी बढेको, उत्पादन घटेको र युवाको विदेश पलायन तीव्र बनेको पार्टीको दाबी छ ।
पार्टी अध्यक्ष कञ्चनले अहिलेको परिस्थितिमा नेपाली युवाले जनवादी विश्वदृष्टिकोण निर्माण गर्नुपर्ने र दलाल पुँजीवादी सत्ताविरुद्ध संघर्ष गर्दै वैज्ञानिक समाजवादी सत्ता स्थापनाको दिशामा अघि बढ्नुपर्ने बताएका छन् ।
देशभर छरिएका क्रान्तिकारी पार्टी, संगठन र व्यक्तिहरूलाई एकताबद्ध गर्दै नयाँ प्रकारको जेन–जी आन्दोलन निर्माण गर्नुपर्ने उनको आह्वान छ । यस्तो आन्दोलनमार्फत विभिन्न प्रकारका उत्पीडन अन्त्य गर्दै श्रमजीवी, सर्वहारा तथा प्रगतिशील जनताको हितमा आधारित वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्नुपर्ने वक्तव्यमा उल्लेख छ ।
‘जेन–जी जनविद्रोह’को स्मरण गर्दै पुनः नेपालको सत्ता परिवर्तनको आन्दोलनलाई व्यवस्थित रूपमा अघि बढाउन अध्यक्ष कञ्चनले नेपाली युवालगायत सबै जनसमुदायमा अपिल गरेका छन् ।
प्रेस वक्तव्यको अन्त्यमा उनले भदौ २३ र २४ गतेको आन्दोलनमा जीवन गुमाएका नागरिकप्रति पुनः श्रद्धाञ्जलि अर्पण गर्दै जनविद्रोहबाट उठेका राजनीतिक प्रश्नलाई नयाँ वैचारिक तथा राजनीतिक आन्दोलनसँग जोड्नुपर्नेमा जोड दिएका छन् ।