काठमाडौँ / संघीय संसद्को नयाँ भवन निर्माण कार्य करिब सम्पन्नतिर पुगे पनि अझै पूर्ण रूपमा तयार हुन सकेको छैन । सिंहदरबार परिसरमा निर्माणाधीन भवनमा हाल ९४ प्रतिशत भौतिक प्रगति भएको भए पनि प्रतिनिधिसभाको मुख्य कक्ष प्रयोगयोग्य भइसकेको छैन ।
हाल प्रतिनिधिसभाको बैठक भवनभित्रकै बहुउद्देशीय हलमा अस्थायी रूपमा सञ्चालन भइरहेको छ । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र जलेपछि संसद् बैठक सिंहदरबारस्थित नयाँ भवनतर्फ सारिएको थियो ।
सहरी विकास तथा भवन निर्माण विभागका अनुसार पाँचतले भवनको संरचना तयार भइसकेको छ, तर आन्तरिक सजावट, सूचना प्रविधि प्रणाली, वातानुकूलन (एचभीएसी) र सुरक्षा जडानजस्ता काम अझै बाँकी छन् । यी कामहरू करिब ५० प्रतिशत मात्रै सम्पन्न भएका छन् ।
संसद् भवन १५६ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको छ। सुरुमा ३ वर्षभित्र सक्ने लक्ष्य राखिए पनि विभिन्न कारणले ६ वर्षसम्म पनि निर्माण सम्पन्न हुन सकेको छैन । अहिले दैनिक ४०० भन्दा बढी कामदार खटिएर काम भइरहेको छ ।
आयोजना प्रमुखका अनुसार:सुरुमा पूर्ण डिजाइन बिना निर्माण सुरु गर्दा समस्या आयो कोभिड-१९ महामारीले काम रोकियोसाइट क्लियरिङमा ढिलाइ भयो । ठेक्का प्रक्रियामा “लो बिड” (अत्यधिक कम मूल्यमा ठेक्का) ले क्यास फ्लो समस्या ल्यायोसार्वजनिक खरिद ऐनकै कारण सबैभन्दा कम मूल्य प्रस्ताव गर्ने ठेकेदारलाई काम दिनुपर्ने बाध्यताले पनि काममा ढिलाइ भएको विभागको भनाइ छ ।
सुरुवाती सिभिल ठेक्का करिब ५ अर्ब ६७ करोड रुपैयाँमा भए पनि अहिले भेरिएसनमार्फत बढेर करिब ६ अर्ब २९ करोड रुपैयाँ पुगेको छ ।
विभागका अनुसार:नयाँ डिजाइनअनुसार परिमाण बढ्नु आधुनिक प्रविधि र सामग्री थपिनुमुख्य कारण हुन्, नकि मूल्यवृद्धि मात्र ।
सांसदहरूले आगामी आर्थिक वर्षको बजेट नयाँ संसद् भवनमै प्रस्तुत गर्नुपर्ने माग गरेका छन् । उनीहरूले ६ वर्षसम्म पनि काम नसकिएको भन्दै सरकार र कर्मचारीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । विभागले असार मसान्तभित्र मुख्य संरचना सम्पन्न गर्ने लक्ष्य राखेको छ । तर बजेट भाषण नयाँ भवनमै हुने/नहुने अझै निश्चित भइसकेको छैन ।