काठमाडौं । विश्वकै सबैभन्दा ठूलो खुला स्रोत (Open Source) वेब समुदाय WordPress को राष्ट्रिय सम्मेलन WordCamp Nepal 2027 पहिलोपटक नेपालको पश्चिमी क्षेत्रमा आयोजना हुने भएको छ। आयोजक समितिले सार्वजनिक गरेको सूचनाअनुसार सन् २०२७ को WordCamp Nepal को आयोजना नेपालगञ्ज मा गरिनेछ, जसका लागि आयोजक (Organizers) बन्न इच्छुक स्वयंसेवकहरूबाट आवेदन आह्वान गरिएको छ।
यस वर्षको WordCamp विशेष बन्नुको मुख्य कारण भनेको यो सम्मेलन पहिलोपटक पश्चिम नेपालमा पुग्न लागेको हो। आयोजक टोलीले नयाँ स्वयंसेवकदेखि अनुभवी कम्युनिटी लिडरसम्मलाई एकै मञ्चमा ल्याएर पश्चिम नेपालमा WordPress समुदायलाई थप सशक्त बनाउने लक्ष्य राखेको जनाएको छ।
WordCamp नेपालले जारी गरेको आह्वानमा भनिएको छ, “तपाईं पहिलोपटक स्वयंसेवक बन्न चाहनुहुन्छ वा अनुभवी आयोजक हुनुहुन्छ भने पनि यो सिक्ने, सम्बन्ध विस्तार गर्ने र पश्चिम नेपालमा अविस्मरणीय WordCamp आयोजना गर्ने अवसर हो।”
WordCamp भनेको के हो?
WordCamp विश्वभर आयोजना हुने WordPress समुदायको आधिकारिक सम्मेलन हो। यसमा वेब डेभलपर, डिजाइनर, ब्लगर, कन्टेन्ट क्रिएटर, व्यवसायी, विद्यार्थी, डिजिटल मार्केटर तथा खुला स्रोत प्रविधिमा रुचि राख्ने व्यक्तिहरू सहभागी हुन्छन्। सम्मेलनमा वेबसाइट विकास, साइबर सुरक्षा, डिजिटल उद्यम, कृत्रिम बुद्धिमत्ता (AI), SEO, ई–कमर्स, खुला स्रोत प्रविधि तथा समुदाय निर्माणजस्ता विषयमा अनुभव आदानप्रदान गरिन्छ। WordCamp कार्यक्रमहरू WordPress Foundation को सहयोग तथा WordCamp Central को स्वीकृतिमा विश्वका सयौँ देशमा आयोजना हुँदै आएका छन्।
नेपालमा WordCamp को १५ वर्षे यात्रा
नेपालमा WordCamp को इतिहास सन् २०१२ नोभेम्बर १० मा काठमाडौंमा आयोजित पहिलो राष्ट्रिय सम्मेलनबाट सुरु भएको हो। उक्त सम्मेलनमा WordPress का सह–संस्थापक Matt Mullenweg को विशेष सन्देश तथा Automattic का प्रतिनिधि Philip Arthur Moore को सहभागिताले नेपाली WordPress समुदायलाई अन्तर्राष्ट्रिय पहिचान दिलाएको थियो। त्यसयता काठमाडौं, ललितपुर, भरतपुर, पोखरा, बुटवललगायत विभिन्न शहरमा राष्ट्रिय तथा स्थानीय WordCamp हरू सफलतापूर्वक सम्पन्न हुँदै आएका छन्।
सन् २०२६ मा बुटवलमा सम्पन्न WordCamp Nepal ले ६६० भन्दा बढी सहभागी, ३१ वक्ता तथा ४५० भन्दा बढी नयाँ योगदानकर्ता (Contributors) सहभागी गराउँदै नेपालको खुला स्रोत समुदायमा नयाँ ऊर्जा थपेको थियो। सम्मेलनपछि आयोजकहरूले सन् २०२७ को गन्तव्य नेपालगञ्ज हुने घोषणा गरेका थिए।
पश्चिम नेपालको डिजिटल समुदायका लागि अवसर
नेपालगञ्जमा पहिलोपटक आयोजना हुन लागेको WordCamp Nepal 2027 ले पश्चिम नेपालका विद्यार्थी, प्रविधिकर्मी, स्टार्टअप, डिजिटल उद्यमी तथा WordPress प्रयोगकर्तालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायसँग जोड्ने महत्वपूर्ण अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।
यस सम्मेलनले ज्ञान आदानप्रदान, नेटवर्किङ, स्वयंसेवा, नेतृत्व विकास तथा खुला स्रोत प्रविधिप्रति नयाँ पुस्ताको आकर्षण बढाउने विश्वास आयोजकहरूको छ। साथै, स्थानीय पर्यटन, आतिथ्य व्यवसाय र सूचना–प्रविधि क्षेत्रलाई समेत सकारात्मक टेवा पुग्ने अपेक्षा गरिएको छ।