Gorkha Sansar

पालुङटार–७ मा सामाजिक अगुवालाई योग र मानसिक स्वास्थ्य तालिमः नियमित योग अभियान सुरु गर्ने च्याङ्ली सामुदायिक सिकाइ केन्द्रको घोषणा

गोरखा, पालुङटार ।
समुदायस्तरमा मानसिक स्वास्थ्यप्रति सचेतना बढाउने उद्देश्यले च्याङ्ली सामुदायिक सिकाइ केन्द्र ले पालुङटार नगरपालिका–७ भित्रका सामाजिक अगुवाहरूका लागि योग तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ।

केन्द्रका अध्यक्ष डा. रविन्द्र कडेल को अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नम्बर ७ का विभिन्न सामाजिक अगुवा, समाजसेवी तथा स्थानीय व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

तालिममा ओशो कैलाश ध्यान केन्द्र का सञ्चालक स्वामी सुभाष थापा ले ध्यान, योग तथा मानसिक स्वास्थ्यसम्बन्धी विषयमा सहजीकरण गर्नुभएको थियो। उहाँले नियमित योग र ध्यानले तनाव व्यवस्थापन, सकारात्मक सोच विकास तथा स्वस्थ जीवनशैली निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

त्यसैगरी कमल पोखरेल ले मनोसामाजिक समस्याका कारण, त्यसको प्रभाव तथा समाधानका उपायबारे प्रशिक्षण दिनुभएको थियो। उहाँले समुदायस्तरमै मानसिक स्वास्थ्यप्रति खुला छलफल र सहयोगी वातावरण आवश्यक रहेको धारणा राख्नुभयो।

कार्यक्रमका अध्यक्ष डा. कडेलले केन्द्रले भोलिदेखि नियमित रूपमा योग कार्यक्रम सञ्चालन गर्ने जानकारी दिनुभयो। उहाँका अनुसार हरेक बिहान सञ्चालन हुने योग अभ्यासले स्थानीय समुदायमा स्वास्थ्यप्रति सकारात्मक जागरण ल्याउने अपेक्षा गरिएको छ।

आयोजकका अनुसार तालिमले सामाजिक अगुवाहरूमा मानसिक स्वास्थ्यप्रतिको चेतना अभिवृद्धि गर्नुका साथै तनाव व्यवस्थापन, सकारात्मक सोच र सामुदायिक नेतृत्व विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको छ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.