काठमाडौं । नेपालको सूचना प्रविधि तथा शैक्षिक क्षेत्रमा नयाँ आयाम थप्ने उद्देश्यसहित Techpaila Innovation र Kantipur City College (KCC) बीच महत्वपूर्ण समझदारी पत्र (MoU) मा हस्ताक्षर भएको छ।
पुतलीसडकस्थित कलेज परिसरमा आयोजित कार्यक्रममा टेकपाइला इनोभेसनका एसोसिएट डाइरेक्टर चिरञ्जिवी अधिकारी तथा कान्तिपुर सिटी कलेजका प्रिन्सिपल राजु कट्टेल ले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो।
यस सहकार्यले विशेषगरी आर्टिफिसियल इन्टेलिजेन्स (AI) र साइबर सुरक्षा (Cybersecurity) जस्ता तीव्र रूपमा विस्तार भइरहेका प्रविधि क्षेत्रमा नेपाली विद्यार्थीलाई दक्ष र ‘इन्डस्ट्री–रेडी’ बनाउने लक्ष्य लिएको छ।
विद्यार्थीलाई प्रत्यक्ष उद्योग अनुभव
सम्झौताअनुसार अब केसीसीका विद्यार्थी तथा प्राध्यापकहरूले टेकपाइलामार्फत एआई र साइबर सुरक्षासम्बन्धी विशेष तालिम, बुटक्याम्प, कार्यशाला तथा सेमिनारमा सहभागी हुने अवसर पाउनेछन्।
यस्तै, योग्य विद्यार्थीहरूलाई इन्टर्नसिपसँगै विभिन्न प्रविधि कम्पनीमा रोजगारीको अवसर सिर्जना गरिनेछ। दुवै संस्थाले वर्तमान विश्व बजारको आवश्यकता अनुसार पाठ्यक्रम परिमार्जन गर्न संयुक्त रूपमा काम गर्ने जनाएका छन्।
विद्यार्थीहरूमा अनुसन्धान र नवप्रवर्तन संस्कृतिको विकास गर्न ‘ह्याकाथन’, ‘आइडिया फेस्ट’ तथा उद्योग–शिक्षा संवाद कार्यक्रम सञ्चालन गरिने योजना पनि सार्वजनिक गरिएको छ।
“नेपालमा दक्ष जनशक्ति निर्माणको आधार”
कार्यक्रममा बोल्दै चिरञ्जीबी अधिकारीले उद्योग र शिक्षाबीचको सहकार्यलाई समयको आवश्यकता भएको बताउनुभयो।
उहाँले भन्नुभयो,
“विद्यार्थीलाई केवल सैद्धान्तिक ज्ञानले मात्र पुग्दैन। वास्तविक समस्या समाधान गर्न सक्ने सीप, मेन्टरसिप र आधुनिक उपकरणको पहुँच आवश्यक छ। यही उद्देश्यका साथ हामीले यो सहकार्य अघि बढाएका हौं।”
त्यस्तै, प्रिन्सिपल राजु कट्टेलले केसीसीले सदैव गुणस्तरीय सूचना प्रविधि शिक्षामा जोड दिँदै आएको उल्लेख गर्दै यो साझेदारीले विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धाका लागि सक्षम बनाउने विश्वास व्यक्त गर्नुभयो।
डिजिटल नेपालको लक्ष्यमा टेवा
सम्झौताले सुरक्षा अडिट, एआईमा आधारित सामाजिक समाधान तथा प्राविधिक अनुसन्धानलाई समेत प्राथमिकता दिएको छ। टेकपाइलाको प्राविधिक अनुभव र केसीसीको शैक्षिक क्षमता एकीकृत हुँदा नेपालको डिजिटल रूपान्तरण अभियानलाई थप बल पुग्ने अपेक्षा गरिएको छ।
दुई वर्षका लागि गरिएको उक्त सम्झौता भविष्यमा अझ विस्तारित गर्दै लैजाने दुवै संस्थाको योजना रहेको जनाइएको छ।
संस्थाबारे छोटकरीमा
Techpaila Innovation : डिल्लीबजारस्थित साइबर सुरक्षा, एआई अनुसन्धान तथा प्राविधिक क्षमता अभिवृद्धिमा सक्रिय संस्था।
Kantipur City College (KCC) : पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सूचना प्रविधि, इन्जिनियरिङ तथा व्यवस्थापन शिक्षामा अग्रणी कलेज।