पोखरा ।
नेपालको सूचना प्रविधि तथा डिजिटल समुदायमा सक्रिय र सिर्जनशील पहिचान बनाउँदै आएको WordPress Pokhara Community आज अन्तर्राष्ट्रिय स्तरमै चर्चित समुदायका रूपमा स्थापित हुँदै गएको छ । सन् २०१३ सेप्टेम्बरमा केही उत्साही युवाहरूको पहलबाट सुरु भएको यो समुदायले ज्ञान आदान–प्रदान, सहकार्य, नवप्रवर्तन र नेटवर्किङलाई मुख्य उद्देश्य बनाउँदै निरन्तर गतिविधि सञ्चालन गर्दै आएको छ ।
सुन्दर पर्यटकीय नगरी Pokhara मा आधारित यस समुदायले नियमित मिटअप, तालिम, कार्यशाला, सम्मेलन तथा WordCamp जस्ता कार्यक्रममार्फत नेपाल तथा विश्वभरका वर्डप्रेस डेभलपर, डिजाइनर, ब्लगर, उद्यमी र प्रविधिप्रेमीलाई एउटै मञ्चमा जोड्दै आएको छ ।
विशेषगरी नयाँ पुस्तालाई डिजिटल प्रविधि, वेबसाइट विकास, अनलाइन व्यवसाय तथा सिर्जनात्मक क्षेत्रमा प्रेरित गर्न समुदायले महत्वपूर्ण भूमिका खेलेको सहभागीहरू बताउँछन् । प्रारम्भिक तहका सिक्न चाहने व्यक्तिदेखि अनुभवी विज्ञसम्मलाई समान अवसर दिने संस्कृतिका कारण यो समुदाय अझ लोकप्रिय बन्दै गएको हो ।
समुदायका अनुसार हाल फेसबुक समूहमा १९०० भन्दा बढी सदस्य तथा Meetup.com मा ४६२ सदस्य आबद्ध छन् । हालसम्म ६० भन्दा बढी मिटअप तथा दुईवटा सिटी-आधारित WordCamp सफलतापूर्वक आयोजना भइसकेका छन् ।
हालै समुदायले आयोजना गरिरहेको Nepal Photo Festival 2026 ले पनि अन्तर्राष्ट्रिय ध्यान आकर्षित गरिरहेको छ । नेपालका हिमाल, ताल, संस्कृति, सम्पदा र जनजीवनलाई विश्वसामु चिनाउने उद्देश्यसहित सञ्चालन भइरहेको यस फेस्टिभलमा हालसम्म ८०० भन्दा बढी तस्वीर प्राप्त भइसकेका छन् ।
डिजिटल समुदायलाई बलियो बनाउँदै प्रविधि र सिर्जनशीलतालाई जोड्ने अभियानमा सक्रिय वर्डप्रेस पोखरा कम्युनिटीले पोखरालाई नेपालकै प्रमुख टेक तथा क्रियटिभ हबका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुर्याइरहेको सरोकारवालाहरूको भनाइ छ ।