Gorkha Sansar

गोरखामा सामुदायिक सिकाइ केन्द्रहरूको सशक्तीकरणका लागि सहजीकरण कार्यक्रम सम्पन्न

CLC

गोरखा, जेठ २८ । गोरखा जिल्लाभर सञ्चालनमा रहेका सामुदायिक सिकाइ केन्द्रहरूको प्रभावकारी व्यवस्थापन, साक्षरता कार्यक्रमको कार्यान्वयन तथा आजीवन शिक्षाको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको “अनौपचारिक तथा निःशुल्क शिक्षाको कार्यान्वयनको स्थिति सम्बन्धी सहजीकरण कार्यक्रम” सम्पन्न भएको छ।

शिक्षा विकास तथा समन्वय इकाइ गोरखाको आयोजनामा सम्पन्न कार्यक्रममा जिल्लाका विभिन्न स्थानीय तहअन्तर्गत सञ्चालित सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष तथा परिचालकहरू, साथै स्थानीय तहका शिक्षा शाखा प्रमुख वा प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा गोरखा नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख चन्द्र खड्काले सामुदायिक सिकाइ केन्द्रहरूको वर्तमान अवस्था, स्थानीय तहको भूमिका तथा साक्षरता अभियानलाई थप प्रभावकारी बनाउने विषयमा प्रस्तुति दिएका थिए। त्यसैगरी पूर्व सहसचिव तोयानाथ लम्सालले आजीवन शिक्षा, सामुदायिक सिकाइ केन्द्रहरूको आवश्यकता तथा सामाजिक रूपान्तरणमा यस्ता केन्द्रहरूले पुर्‍याउँदै आएको योगदानका विषयमा सहभागीहरूलाई जानकारी गराएका थिए।

प्रस्तुतिका क्रममा साक्षरता कार्यक्रमलाई केवल अक्षर चिनाउने अभियानका रूपमा नभई व्यक्तिको जीवनस्तर उकास्ने, सीप विकास गर्ने र समुदायको समग्र विकाससँग जोडिएको अभियानका रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिइएको थियो।

कार्यक्रममा सहभागीहरूको तर्फबाट सिराञ्चोक गाउँपालिका शिक्षा शाखा प्रमुख तथा सामुदायिक सिकाइ केन्द्रका अध्यक्षहरूको प्रतिनिधित्व गर्दै सन्तोष गुरुङले सिकाइ केन्द्रहरूले स्थानीय समुदायमा ल्याएको सकारात्मक परिवर्तन, सञ्चालनका क्रममा भोगिएका चुनौती तथा आगामी दिनमा गर्नुपर्ने सुधारका पक्षहरूबारे धारणा व्यक्त गरेका थिए। उनीहरूले सामुदायिक सिकाइ केन्द्रहरूलाई स्थानीय सरकारसँग अझ नजिकबाट जोड्दै स्रोत–साधन, क्षमता विकास र नियमित अनुगमनमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याए।

जिल्लाका विभिन्न पालिकाबाट आएका शिक्षा क्षेत्रका प्रतिनिधिहरूले आ–आफ्नो क्षेत्रमा सञ्चालित साक्षरता तथा अनौपचारिक शिक्षा कार्यक्रमका अनुभवहरू समेत आदानप्रदान गरेका थिए। कार्यक्रममा सिकाइ केन्द्रहरूको संस्थागत विकास, डिजिटल साक्षरता, सीपमूलक तालिम तथा समुदायमा आधारित शिक्षाका अवसर विस्तारबारे समेत छलफल गरिएको थियो।

शिक्षा विकास तथा समन्वय इकाइ गोरखाका प्रमुख बिरेन्द्रजंग थापा को अध्यक्षतामा सम्पन्न कार्यक्रम सहभागीहरूबीच अनुभव आदानप्रदान, सिकाइ केन्द्रहरूको सुदृढीकरण तथा अनौपचारिक शिक्षालाई थप प्रभावकारी बनाउने साझा प्रतिबद्धतासहित सम्पन्न भएको आयोजकले जनाएको छ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.