Gorkha Sansar

कक्षाकोठाबाट भविष्यतर्फ’ : गण्डकीका शिक्षकलाई शुक्रबारको नयाँ पाठ सिकाउँदै दुईदिने कार्यशाला सम्पन्न

श्याम श्रेष्ठ

Friday for Future कार्यक्रम प्रभावकारी बनाउन गण्डकीका ८५ स्थानीय तहका शिक्षक दमौलीमा भेला, सिके नवप्रवर्तन, नेतृत्व र भविष्यका सीप

गाेरखा , जेठ २७ — अब विद्यालयको शिक्षा केवल पाठ्यपुस्तकमा सीमित रहने छैन। विद्यार्थीलाई भविष्यका चुनौती सामना गर्न सक्षम, सिर्जनशील र व्यवहारिक सीपयुक्त बनाउने उद्देश्यसहित सञ्चालन हुँदै आएको ‘Friday for Future’ कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न गण्डकी प्रदेशका शिक्षकहरू दुई दिनसम्म एउटै सिकाइ मञ्चमा जुटेका छन्।

सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय, गण्डकी प्रदेश, पोखराको आयोजनामा तथा शिक्षा तालिम केन्द्र, दमौली, तनहुँमा मिति २०८३ जेठ २६ र २७ गते सञ्चालन भएको ‘Friday for Future कार्यक्रम सञ्चालन तथा व्यवस्थापन निर्देशिका–२०८१’ आधारित दुईदिने सहजीकरण कार्यशाला सम्पन्न भएको हो।

कार्यशालामा गण्डकी प्रदेश अन्तर्गतका सम्पूर्ण स्थानीय तहबाट एक–एक जना गरी गणित वा नेपाली विषयका शिक्षकहरूको सहभागिता रहेको थियो। प्रदेशभरका विद्यालयमा Friday for Future कार्यक्रमलाई प्रभावकारी, सिर्जनशील र विद्यार्थीमैत्री बनाउने उद्देश्यले कार्यशालाको आयोजना गरिएको आयोजकले जनाएको छ।

शिक्षक होइन, परिवर्तनका संवाहक तयार पार्ने प्रयास

कार्यशालाको पहिलो दिन अनुभवी प्रशिक्षक प्रेम नारायण पोखरेलले Friday for Future कार्यक्रमको अवधारणा, उद्देश्य, सञ्चालन प्रक्रिया तथा विद्यालयस्तरमा यसको प्रभावकारी कार्यान्वयनका विविध पक्षबारे सहजीकरण गर्नुभयो।

उहाँले आजको शिक्षा प्रणालीलाई केवल परीक्षा केन्द्रित नभई विद्यार्थीको सोच, सीप, नवप्रवर्तन क्षमता र जीवनोपयोगी दक्षता विकाससँग जोड्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

त्यसैगरी दोस्रो दिन प्रशिक्षक विदुर हरि अाचार्य ले सहभागी शिक्षकहरूलाई व्यवहारिक अभ्यास, परियोजनामूलक सिकाइ, समस्या समाधान क्षमता, नेतृत्व विकास तथा विद्यार्थीको सक्रिय सहभागितामा आधारित शिक्षण विधिबारे प्रशिक्षण दिनुभयो।

किन विशेष छ Friday for Future ?

गण्डकी प्रदेश सरकारले विद्यालय शिक्षामा नयाँ सोच र प्रयोगको संस्कृति विकास गर्ने उद्देश्यले Friday for Future कार्यक्रम सञ्चालन गर्दै आएको छ। कार्यक्रमले विद्यार्थीलाई पुस्तकभन्दा बाहिरको संसारसँग जोड्दै अनुसन्धान, सिर्जनशीलता, उद्यमशीलता, नेतृत्व, सञ्चार सीप तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा अनुभवात्मक सिकाइको अवसर प्रदान गर्ने लक्ष्य राखेको छ।

शिक्षा क्षेत्रका विज्ञहरूका अनुसार यस्तो कार्यक्रमले विद्यार्थीलाई भविष्यका लागि आवश्यक ‘21st Century Skills’ विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

प्रदेशभर एउटै अभियान

कार्यशालामा सहभागी शिक्षकहरूले आफ्नो स्थानीय तह र विद्यालयमा फर्किएपछि प्राप्त ज्ञान तथा अनुभवलाई अन्य शिक्षकहरूसँग साझा गर्दै कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

कार्यक्रमले गण्डकी प्रदेशका विद्यालयहरूमा सिकाइको नयाँ संस्कृति विकास गर्दै विद्यार्थीलाई सिर्जनशील, आत्मनिर्भर र भविष्यका लागि तयार नागरिक बनाउने अभियानलाई थप बल पुर्‍याउने विश्वास गरिएको छ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.