Gorkha Sansar

पढाइसँगै राष्ट्रसेवाको पाठ: च्याङ्लीका किशोर–किशोरी NCC मा सहभागी हुन उत्साहित”

गोरखा, जेठ २७ — विद्यालय शिक्षालाई केवल पाठ्यपुस्तकमा सीमित नराखी अनुशासन, नेतृत्व र राष्ट्रसेवाको भावनासँग जोड्ने उद्देश्यका साथ गोरखाको पालुङटार नगरपालिका–७ च्याङ्लीस्थित जीवन ज्योति माध्यमिक विद्यालयमा राष्ट्रिय सेवा दल (National Cadet Corps–NCC) कार्यक्रममा सहभागी गराउन विद्यार्थी छनोट कार्यक्रम सम्पन्न भएको छ।

बुधबार सम्पन्न छनोट प्रक्रियामा कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा विद्यार्थीहरूलाई राष्ट्रिय सेवा दलमार्फत प्राप्त हुने अवसर, अनुशासनको महत्व, नेतृत्व विकास, राष्ट्रप्रेम, शारीरिक तन्दुरुस्ती तथा मानसिक सुदृढीकरणका विविध पक्षबारे जानकारी प्रदान गरिएको थियो।

कार्यक्रमका प्रमुख प्रशिक्षक तथा रूद्रध्वज गण, गोरखाका सेनानी रोशन अधिकारीले राष्ट्रिय सेवा दलको स्थापना, इतिहास, उद्देश्य तथा यसले विद्यार्थीहरूको व्यक्तित्व विकासमा पार्ने सकारात्मक प्रभावबारे विस्तृत प्रस्तुतीकरण गर्नुभएको थियो।

उहाँले राष्ट्रिय सेवा दल सन् १९६५ मा स्थापना भएको उल्लेख गर्दै विद्यालय तहका विद्यार्थीहरूमा अनुशासन, जिम्मेवारीबोध, नेतृत्व क्षमता, राष्ट्रिय एकता र सेवाभाव विकास गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन हुँदै आएको बताउनुभयो। नेपालभर हजारौं विद्यार्थीहरू यस कार्यक्रममा आबद्ध भई विभिन्न सामाजिक, शैक्षिक र राष्ट्रसेवासम्बन्धी गतिविधिमा सक्रिय सहभागी हुँदै आएका छन्।

सेनानी अधिकारीले राष्ट्रिय सेवा दल केवल सैनिक अभ्यासको कार्यक्रम नभई भविष्यका जिम्मेवार नागरिक निर्माण गर्ने अभियान भएको बताउनुभयो। “आजका विद्यार्थी भोलिका राष्ट्रनिर्माता हुन्। NCC ले उनीहरूलाई आत्मविश्वासी, अनुशासित र जिम्मेवार नागरिक बन्न प्रेरित गर्छ,” उहाँले भन्नुभयो।

विद्यालयले विगत केही वर्षदेखि राष्ट्रिय सेवा दलसँग सहकार्य गर्दै विद्यार्थीहरूलाई यस्ता अवसरमा सहभागी गराउँदै आएको जनाएको छ। यस कार्यक्रममार्फत विद्यार्थीहरूले आधारभूत सैनिक तालिम, विपद् व्यवस्थापन, प्राथमिक उपचार, सामुदायिक सेवा, टोली भावना तथा नेतृत्व विकासका विभिन्न अभ्यासहरूमा सहभागी हुने अवसर पाउनेछन्।

छनोट प्रक्रियामा सहभागी विद्यार्थीहरूले पनि राष्ट्रिय सेवा दलमा आबद्ध भई नयाँ अनुभव हासिल गर्ने र आफूलाई सक्षम तथा अनुशासित नागरिकका रूपमा विकास गर्ने उत्साह व्यक्त गरेका थिए।

विद्यालय प्रशासनका अनुसार NCC मा छनोट भएका विद्यार्थीहरूले आगामी दिनमा सञ्चालन हुने विशेष तालिम तथा विभिन्न राष्ट्रिय कार्यक्रमहरूमा विद्यालयको प्रतिनिधित्व गर्नेछन्।

ग्रामीण विद्यालयका विद्यार्थीहरूलाई राष्ट्रसेवा, नेतृत्व विकास र व्यक्तित्व निर्माणसँग जोड्ने यस्तो कार्यक्रमले शिक्षा क्षेत्रमा नयाँ ऊर्जा थप्नुका साथै भविष्यका सक्षम नागरिक निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.