Gorkha Sansar

१९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने

काठमाडौं, जेठ २५ — सामाजिक संस्था सेवा र विकासका लागि युवा ले देशका १९ जिल्लाका करिब तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने भएको छ। संस्थाले आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत “शैक्षिक सामग्री वितरण कार्यक्रम–२०८३” सार्वजनिक गर्दै दुर्गम तथा आवश्यकता भएका विद्यार्थीहरूलाई लक्षित गरेर अभियान सञ्चालन गर्न लागिएको जनाएको हो।

संस्थाका अनुसार पाँचथर, धनकुटा, ओखलढुंगा, सोलुखुम्बु, सिराहा, महोत्तरी, काठमाडौं, धादिङ, गोरखा, मनाङ, कास्की, पाल्पा, गुल्मी, कपिलवस्तु, पूर्वी रुकुम, दैलेख, कालिकोट र दार्चुला जिल्लाका गरिब, जेहेन्दार तथा आवश्यकतामा रहेका विद्यार्थीहरू कार्यक्रमबाट लाभान्वित हुनेछन्।

कार्यक्रमअन्तर्गत गुरुकुल, गुम्बा तथा विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई झोला, कापी, कलम, अङ्ग्रेजी बोलचाल पुस्तक, प्रज्ञा वृहत् नेपाली शब्दकोश, क्यापलगायतका शैक्षिक सामग्री वितरण गरिने जनाइएको छ।

पत्रकार सम्मेलनमा बोल्दै संस्थाका केन्द्रीय अध्यक्ष डा. देवेन्द्र कण्डेल ले विद्यार्थीहरू राष्ट्रका भविष्यका आधार भएकाले उनीहरूको शिक्षामा सहयोग गर्नु सबैको साझा जिम्मेवारी भएको बताए। उनले दुर्गम र शैक्षिक अवसरबाट वञ्चित क्षेत्रका विद्यार्थीसम्म सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिए।

वि.सं. २०७५ फागुन १५ गते चितवनमा स्थापना भएको संस्थाले शिक्षा, स्वास्थ्य, सामाजिक सेवा तथा विपद् व्यवस्थापनका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। संस्थाका अनुसार हालसम्म करिब ५० जिल्लामा शैक्षिक सामग्री वितरण, छात्रवृत्ति सहयोग, राहत तथा उद्धार, विद्यालय भवन निर्माण, कपडा बैंक सञ्चालन, सरसफाइ अभियान र चेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिसकिएको छ।

संस्थाले यसपटक वितरण गरिने शैक्षिक सामग्री मित्रराष्ट्र भारत को सहयोगमा प्राप्त भएको जनाएको छ। शिक्षा क्षेत्रमा विद्यालय तथा क्याम्पस भवन निर्माण, छात्रवृत्ति, पुस्तकालय स्थापना, छात्रावास निर्माण र विद्यालय बस उपलब्ध गराउनेलगायत विभिन्न क्षेत्रमा भारतले गर्दै आएको सहयोगप्रति संस्थाले आभार व्यक्त गरेको छ।

कार्यक्रम सफल बनाउन सञ्चारमाध्यम, शिक्षाप्रेमी, सामाजिक संघसंस्था तथा सरोकारवाला निकायसँग सहयोग, सहकार्य र समन्वयको अपेक्षा गरिएको संस्थाले जनाएको छ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.