आँपपिपल अस्पतालमा पहिलो पटक पोस्टमार्टम (शव परीक्षण) सेवा सफलतापूर्वक सम्पन्न गरिएको छ। वैशाख १५ गतेदेखि सञ्चालनमा आएको उक्त सेवा अन्तर्गत मिति २०८३/०२/२३ गते पहिलो केस सम्पन्न भएको अस्पतालले जनाएको छ।
स्थानीय स्तरमै पोस्टमार्टम सेवा उपलब्ध भएसँगै अब कानुनी तथा मेडिको–लीगल प्रक्रिया सहज हुने भएको छ। यसअघि यस्ता सेवाका लागि बिरामीका आफन्त तथा सम्बन्धित निकायले टाढा जानुपर्ने बाध्यता रहेको थियो।
सेवा सुरु भएसँगै आपत्कालीन अवस्थामा समय, खर्च तथा प्रशासनिक झन्झट उल्लेख्य रूपमा घट्ने अपेक्षा गरिएको छ। अस्पताल प्रशासनले यसलाई ग्रामीण स्वास्थ्य सेवामा महत्वपूर्ण प्रगतिको रूपमा लिएको छ।
उक्त सेवामा निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. प्रभात सिंह राजपूतको नेतृत्वमा मेडिको–लीगल तालिम प्राप्त मेडिकल अधिकृतहरू डा. नवीन श्रेष्ठ, डा. कुशल मराहट्टा र डा. ईशा जी.सी. संलग्न थिए। साथै नर्सिङ अफिसर सुनिता थापा र मर्चुरी सहायक लालध्वज गुरुङको समेत सहयोग रहेको अस्पतालले जनाएको छ।
अस्पताल प्रशासनले आगामी दिनमा थप सेवा विस्तार गर्दै अस्पताललाई अझ जनमुखी र सुविधासम्पन्न बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
आँपपिपल अस्पतालमा ऐतिहासिक उपलब्धि, अब स्थानीय स्तरमै पोस्टमार्टम सेवा सुरु