गोरखा, पालुङटार । शिक्षा, युवा तथा खेलकुद शाखा पालुङटारको आयोजनामा सम्पन्न अंग्रेजी शिक्षकहरूका लागि क्षमता विकास तालिम अत्यन्त प्रभावकारी रूपमा सम्पन्न भएको छ। सहभागी शिक्षकहरूले तालिमले कक्षा कोठामा आधुनिक शिक्षण विधि र व्यवहारिक ज्ञान थप्न महत्वपूर्ण योगदान पुर्याएको प्रतिक्रिया दिएका छन्।
तालिममा विभिन्न विषयविज्ञहरूले आ–आफ्नो क्षेत्रका महत्वपूर्ण सत्रहरू सहजीकरण गरेका थिए। अंग्रेजी शिक्षक समाज पालुङटारका अध्यक्ष भाइकृष्ण सुनारले पाठ्यक्रम कार्यान्वयन सम्बन्धी सहजीकरण गर्दै व्यवहारिक शिक्षणमा जोड दिएका थिए।
त्यस्तै, सचिव डा. रविन्द्र कंडेलले कक्षा कोठामा आर्टिफिसियल इन्टेलिजेन्स (AI) को प्रयोग सम्बन्धी सत्र सञ्चालन गर्दै शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउने उपायहरू प्रस्तुत गरे। बालकल्याण माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर कोइरालाले वार्षिक कार्ययोजना निर्माणबारे मार्गदर्शन गरेका थिए।
शब्दभण्डार शिक्षणमा ज्याेति धितालले प्रभावकारी अभ्यासहरू प्रस्तुत गरिन् भने आस बहादुर गुरुङले स्तरीकृत परीक्षा (Standardized Assessment) सम्बन्धी प्राविधिक तथा व्यावहारिक पक्षहरूबारे सहजीकरण गरेका थिए।
कार्यक्रमको समापन सत्रमा शिक्षा शाखा प्रमुख मनोज नेपाली सिर्मलले निर्देशनात्मक भनाइ राख्दै तालिमले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
सहभागी शिक्षकहरूले तालिम अत्यन्त उपयोगी, व्यवहारिक र समय सान्दर्भिक रहेको भन्दै सकारात्मक प्रतिक्रिया दिएका छन्। सहभागीहरूको तर्फबाट गोकुल थापा र दिप्सना गिरीले टिप्पणीमूलक मन्तव्य राख्दै यस्तो कार्यक्रम निरन्तर हुनुपर्नेमा जोड दिएका थिए।
तालिमले अंग्रेजी शिक्षणमा नयाँ दृष्टिकोण, प्रविधिको प्रयोग र योजना निर्माण क्षमतामा उल्लेखनीय सुधार ल्याउने अपेक्षा गरिएको छ।