Gorkha Sansar

हेटौँडा–४ को उदाहरणीय पहल : २० अति विपन्न विद्यार्थीलाई निःशुल्क शिक्षा

हेटौँडा — आर्थिक अभावका कारण कुनै पनि विद्यार्थी शिक्षाबाट वञ्चित नहोस् भन्ने उद्देश्यसहित हेटौँडा उपमहानगरपालिका–४ नं. वडा कार्यालयले दुई विद्यालयसँग महत्वपूर्ण सम्झौता गरेको छ ।
वडा कार्यालय, भुटनदेवी माध्यमिक विद्यालय र आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय बीच शैक्षिक वर्ष २०८३ देखि लागू हुने गरी २० जना अति विपन्न विद्यार्थीलाई निःशुल्क अध्ययन गराउने सम्झौता/प्रतिबद्धता भएको हो ।
सम्झौताअनुसार दुवै विद्यालयमा कक्षा ११ र १२ मा अध्ययन गर्ने १०/१० जना विद्यार्थीलाई पूर्ण छात्रवृत्तिको व्यवस्था गरिनेछ । वडा कार्यालयले ६ महिनाको मासिक सहयोग शुल्क तथा भर्ना शुल्क व्यहोर्नेछ भने विद्यालयहरूले ६ महिनाको मासिक शुल्क छुट दिने सहमति गरेका छन् ।
छात्रवृत्तिका लागि अति विपन्न, दलित, सिमान्तकृत, द्वन्द्वपीडित, भूमिहीन, अभिभावकविहीन तथा सडक बालबालिकालाई प्राथमिकतामा राखिएको छ । साथै विद्यालयले सञ्चालन गर्ने खेलकुद तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्टता हासिल गर्ने छात्र/छात्रालाई समेत विशेष प्राथमिकता दिइने सम्झौतापत्रमा उल्लेख गरिएको छ ।
सम्झौता/प्रतिबद्धता पत्रमा वडा अध्यक्ष नवीन सिग्देल, वडा सचिव रामप्रसाद गुरागाईं, भुटनदेवी माविका प्रधानाध्यापक सूर्यप्रसाद घिमिरे तथा आधुनिक राष्ट्रिय माविका प्रधानाध्यापक रामसागर गुरागाईंले हस्ताक्षर गर्नुभएको थियो ।
कार्यक्रममा राष्ट्रियसभाका पूर्व सदस्य केदार न्यौपाने, शैक्षिक व्यक्तित्व यादव गजुरेल तथा वडा सदस्य गीता त्रिपाठी लगायतको उपस्थिति रहेको थियो ।
यस पहललाई हेटौँडा–४ ले शिक्षामा समान पहुँच सुनिश्चित गर्न थालेको सकारात्मक र प्रेरणादायी अभियानका रूपमा हेरिएको छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.