२० वर्ष विद्यालयको ढोका कुरे, अवकाशमा पाए सम्मानको आँसु : जीवन ज्योतिका कार्यालय सहयोगीलाई करिब दुई लाख सहयोग
गोरखा, पालुङटार ।
विद्यालयको घण्टी बज्नुअघि गेट खोल्ने, शिक्षक–विद्यार्थी आउनुभन्दा पहिले विद्यालय परिसर सफा गर्ने र विद्यालयको दैनिक गतिविधिलाई मौन रूपमा सहज बनाउने व्यक्ति थिए — जीवन ज्योति माध्यमिक विद्यालयका कार्यालय सहयोगी इमानबहादुर पाण्डे। दुई दशकसम्म निरन्तर सेवा गरेपछि अवकाशको संघारमा पुगेका पाण्डे सरकारी व्यवस्थाअनुसार कुनै सामाजिक सुरक्षा वा अवकाश सुविधा नपाउने अवस्थामा थिए। तर उहाँको इमान्दार सेवा र योगदानलाई विद्यालय परिवारले रित्तो हात फर्किन दिएन।
गोरखा जिल्लाको पालुङटार नगरपालिका वडा नं. ७ च्याङ्लीस्थित जीवन ज्योति माध्यमिक विद्यालयमा आयोजित एक भावुक विदाई कार्यक्रममा पूर्व विद्यार्थी, शिक्षक, कर्मचारी, विद्यार्थी तथा शुभचिन्तकहरूको सहयोगमा संकलित रकम गरी कुल १ लाख ८६ हजार ६०० रुपैयाँ उहाँको खातामा जम्मा गरिएको हो।
गोरखा संसार मिडिया प्रा.लि.को संयोजनमा पूर्व विद्यार्थी, पूर्व शिक्षक तथा शुभचिन्तकहरूबाट संकलित ८१ हजार ८१५ रुपैयाँ विद्यालयका शिक्षक डा. रविन्द्र कडेलले हस्तान्तरण गर्नुभएको थियो। त्यस्तै विद्यालयको तर्फबाट उहाँले खाइपाई आएको सुविधाको दुई महिनाबराबरको रकम ३८ हजार ६१० रुपैयाँ प्रदान गरिएको थियो भने विद्यालयका शिक्षक तथा स्टाफहरूको तर्फबाट ४४ हजार ७३५ रुपैयाँ र विद्यार्थीहरूले स्वेच्छिक रूपमा संकलन गरेको रकम समेत जोडेर उक्त सहयोग रकम तयार गरिएको विद्यालयले जनाएको छ।
सहयोग प्राप्त गरेपछि भावुक बन्नुभएका पाण्डेले आफूलाई सम्झने र सम्मान गर्ने सम्पूर्ण शिक्षक, कर्मचारी, विद्यार्थी, पूर्व विद्यार्थी तथा सहयोग संकलनमा समन्वयकारी भूमिका खेल्ने गोरखा संसार मिडिया प्रा.लि.प्रति धन्यवाद तथा कृतज्ञता व्यक्त गर्नुभयो।
विद्यालयका प्रधानाध्यापक कुमारप्रसाद ढकालको अध्यक्षतामा सम्पन्न विदाई कार्यक्रममा शिक्षक तथा विद्यार्थीहरूले फुलमाला, अविर तथा विभिन्न उपहार प्रदान गर्दै पाण्डेको सेवाप्रति सम्मान प्रकट गरेका थिए। कार्यक्रममा विद्यालयका पूर्व प्रधानाध्यापक बद्रीबहादुर पाण्डेले उहाँको इमान्दारिता, मेहनत र विद्यालयप्रतिको समर्पणको खुलेर प्रशंसा गर्नुभयो।
कार्यक्रमको समापन गर्दै प्रधानाध्यापक ढकालले विद्यालयका लागि इमानबहादुर पाण्डेले पुर्याउनुभएको योगदान कहिल्यै बिर्सन नसकिने बताउँदै विद्यालयको तर्फबाट चेक तथा मायाको चिनो हस्तान्तरण गर्नुभयो। कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक ताराबहादुर कुमालले गर्नुभएको थियो।
अवकाशपछि पनि आर्थिक रूपमा कठिनाइ झेल्न सक्ने अवस्था रहेको भन्दै पाण्डेले सहयोग गर्न इच्छुक व्यक्तिहरूलाई आफ्नो ग्लोबल आइएमई बैंक, डुम्रे शाखामा रहेको खातामार्फत सहयोग गर्न सकिने जानकारी दिनुभएको छ।
सम्पर्क नम्बर : ९८०६५६०५८७
बैंक : ग्लोबल आइएमई बैंक, डुम्रे शाखा
खाता नम्बर : ११९०७०१००४७२३२
२० वर्ष विद्यालयको ढोका कुरे, अवकाशमा पाए सम्मानको आँसु : जीवन ज्योतिका कार्यालय सहयोगीलाई करिब दुई लाख
विद्यालयको घण्टी बज्नुअघि गेट खोल्ने, शिक्षक–विद्यार्थी आउनुभन्दा पहिले विद्यालय परिसर सफा गर्ने र विद्यालयको दैनिक गतिविधिलाई मौन रूपमा सहज बनाउने व्यक्ति थिए — जीवन ज्योति माध्यमिक विद्यालयका कार्यालय सहयोगी इमानबहादुर पाण्डे। दुई दशकसम्म निरन्तर सेवा गरेपछि अवकाशको संघारमा पुगेका पाण्डे सरकारी व्यवस्थाअनुसार कुनै सामाजिक सुरक्षा वा अवकाश सुविधा नपाउने अवस्थामा थिए। तर उहाँको इमान्दार सेवा र योगदानलाई विद्यालय परिवारले रित्तो हात फर्किन दिएन।