Gorkha Sansar

२० वर्ष विद्यालयको ढोका कुरे, अन्तिम दिन रित्तो हात फर्किए”

जीवनज्योति माविका इमान दाइको पीडाले उठायो हजारौँ विद्यालय कर्मचारीको प्रश्न
पालुङटार नगरपालिका वडा नं. ७ च्याङ्ली स्थित जीवनज्योति माध्यमिक विद्यालय मा दुई दशकभन्दा लामो समयसम्म कार्यालय सहयोगीका रूपमा सेवा गर्नुभएका इमानबहादुर पाण्डे — विद्यालय परिवारका प्रिय “इमान दाइ” — उमेर हदका कारण २०८२ जेठ ५ गतेबाट सेवा निवृत्त हुनुभएको छ। तर, उहाँको सेवा निवृत्ति सम्मान, सुरक्षा र सुनिश्चित भविष्यसहित होइन, बरु गहिरो पीडा र निराशाबीच “रित्तो हात” भएको छ।
२०६२ असार १ गते विद्यालयमा नियुक्त भई निरन्तर सेवा गर्नुभएका इमान दाइले विद्यालयको एउटा कर्मचारी भएर मात्रै होइन, विद्यालयकै अभिभावकझैँ भूमिका निभाउनुभयो। बिहान सबेरै विद्यालय खोल्ने, सरसफाइ गर्ने, विद्यार्थीको आवश्यकतामा दौडिने, शिक्षकको काममा सघाउनेदेखि विद्यालयको हरेक सुख–दुःखमा साथ दिने उहाँ आज विद्यालयबाट बाहिरिँदा कुनै सेवा सुविधा, निवृत्तिभरण वा बिदाइ रकमसमेत नपाई फर्किनुपरेको अवस्था छ।
विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकहरू उहाँलाई “कार्यालय सहयोगी” भन्दा बढी “इमान सर” भनेर सम्बोधन गर्छन्। कारण, उहाँले दिएको सेवा पदभन्दा धेरै माथिको थियो।
सेवा निवृत्तिपछि भावुक हुँदै इमान दाइ भन्नुहुन्छ–
“२० वर्षसम्म विद्यालयलाई आफ्नो घर सम्झेर सेवा गरियो। धेरै विद्यार्थी ठूला भए, धेरै मानिस कहाँ–कहाँ पुगे थाहा छैन। तर अन्तिममा आफूजस्ता हजारौँ कार्यालय सहयोगीको अवस्था यस्तै देख्दा मन दुख्छ। यो देशमा सरकार छ कि छैन भन्ने लाग्छ।”
उहाँको पीडा केवल एउटा व्यक्तिको कथा होइन, नेपालभरका हजारौँ सामुदायिक विद्यालयमा कार्यरत कार्यालय सहयोगीहरूको साझा यथार्थ हो। शिक्षक र अन्य कर्मचारीहरूले सेवा निवृत्त हुँदा विभिन्न सुविधा पाउने व्यवस्था भए पनि विद्यालयका कार्यालय सहयोगीहरू भने दशकौँ सेवा गरेर पनि प्रायः खाली हात घर फर्किन बाध्य छन्।
इमान दाइ अहिले पनि कसैको फोन आउँदा आशा गर्नुहुन्छ — “सायद पालिका वा सरकारका कुनै निकायबाट केही सहयोगको खबर आयो कि!” तर, त्यस्तो खबर अहिलेसम्म आएको छैन।
यही संवेदनशील अवस्थालाई मध्यनजर गर्दै विद्यालयका शिक्षकहरू, विद्यार्थीहरू तथा भूपू विद्यार्थीहरूले स्वस्फूर्त रूपमा सहयोग अभियान सुरु गर्ने तयारी गरेका छन्। “एक दिनको खाजा खर्च घटाएरै भए पनि इमान दाइलाई सम्मानजनक बिदाइ गरौँ” भन्ने भावना अहिले विद्यालय समुदायमा फैलिरहेको छ।
विद्यालयका प्रधानाध्यापक कुमार प्रसाद ढकाल का अनुसार,
“जेठ ६ गतेदेखि उहाँ औपचारिक रूपमा विद्यालयबाट बाहिरिनुभएको भए पनि सम्मानपूर्वक बिदाइ कार्यक्रम गर्न बाँकी छ। शिक्षक, विद्यार्थी, भूपू विद्यार्थी तथा शुभेच्छुकहरूबाट केही सहयोग जुटाएर उहाँलाई थोरै भए पनि आर्थिक राहतसहित सम्मानजनक बिदाइ गर्न सकिन्छ कि भनेर हामी प्रयासरत छौँ।”
इमान दाइको जीवनले एउटा गम्भीर प्रश्न उठाएको छ —
विद्यालयका हजारौँ कर्मचारीहरूको श्रम, इमानदारी र जीवनको मूल्य आखिर कसले बुझ्ने?
सामुदायिक विद्यालयको आधारस्तम्भजस्तै भएर काम गर्ने यस्ता कर्मचारीहरूको योगदानलाई राज्यले कहिलेसम्म बेवास्ता गर्ने?
आज इमान दाइ रित्तो हात घर फर्किनुभएको छ, तर उहाँले छोड्नुभएको इमानदारी, समर्पण र सेवाको कथा भने हजारौँ विद्यार्थीको मनमा सदैव जीवित रहनेछ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.