Gorkha Sansar

रैथाने बाली जोगाउन षडानन्दको पहल : ११५ जातका बीउ सङ्कलन, किसानलाई ५० प्रतिशत अनुदान

भोजपुर रैथाने बालीको संरक्षण, प्रवर्द्धन र कृषि जैविक विविधता जोगाउने उद्देश्यसहित षडानन्द नगरपालिकाले बीउ बैंक स्थापना गरेर विशेष अभियान सुरु गरेको छ । परम्परागत रूपमा खेती हुँदै आएका स्थानीय बाली लोप हुने जोखिम बढ्न थालेपछि नगरपालिकाले दीर्घकालीन योजना बनाएर संरक्षण अभियानलाई तीव्रता दिएको हो ।

नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदासका अनुसार बीउ बैंकमार्फत किसानलाई गुणस्तरीय रैथाने बीउ उपलब्ध गराउने, लोपोन्मुख स्थानीय जातका बाली पुनः उत्पादनमा ल्याउने तथा कृषि संस्कृतिलाई जोगाउने लक्ष्य राखिएको छ । “हामीले स्थानीय रैथाने बालीको संरक्षण र विकासलाई प्राथमिकतामा राखेका छौँ,” उनले भने, “बीउ बैंकमार्फत बीउ सङ्कलनसँगै किसानलाई वितरण गर्ने कार्यलाई निरन्तरता दिएका छौँ ।”

कृषि शाखा प्रमुख दिपेन थापाले बीउ बैंकमा कोदो, फापर, जौ, चिनो, कागुनो, गहत, भटमास, सिमी र मकैलगायतका विभिन्न रैथाने बालीका बीउ सङ्कलन गरी संरक्षण गरिएको जानकारी दिए । उनका अनुसार हालसम्म षडानन्द क्षेत्रमा उत्पादन हुने २७ प्रकारका बालीका १ सय १५ जात सङ्कलन भइसकेका छन् ।

बीउ बैंकमार्फत सङ्कलित बीउ किसानलाई ५० प्रतिशत अनुदानमा वितरण गरिँदै आएको छ । साथै किसानलाई बीउ छनोट, संरक्षण विधि र उत्पादन प्रवर्द्धनसम्बन्धी तालिमसमेत दिइँदै आएको नगरपालिकाले जनाएको छ । यसले परम्परागत कृषि ज्ञानलाई आधुनिक प्रविधिसँग जोड्न मद्दत पुगेको विश्वास गरिएको छ ।

नगरपालिकाकी उपप्रमुख प्रमिला राईले स्थानीय बीउको अस्तित्व जोगाउन बीउ बैंक प्रभावकारी बन्ने बताइन् । नगरपालिकाले आगामी दिनमा बीउ बैंकलाई अझ व्यवस्थित बनाउँदै रैथाने बालीको बजारीकरण, ब्रान्डिङ र मूल्य अभिवृद्धिमा जोड दिने योजना बनाएको छ । यसमार्फत किसानको आयस्तर वृद्धि गर्ने लक्ष्यसमेत राखिएको नगरपालिकाले जनाएको छ । रासस

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.