कलश यात्रासहित भव्य उद्घाटन, साताभर धार्मिक कार्यक्रम र झाँकी प्रदर्शन हुने
पालुङटार, असोज ३ ।
गोर्खाको पालुङटार नगरपालिका–७ खत्रीटारस्थित राधाकृष्ण मन्दिरको जीर्णोद्धार तथा भवन निर्माणका लागि सप्ताह ज्ञान महायज्ञ आजदेखि विधिवत् रूपमा सुरु भएको छ।
मङ्गलेश्वर सांस्कृतिक मञ्चको आयोजनामा सञ्चालन गरिएको महायज्ञको उद्घाटन पालुङटार नगरपालिकाका नगरप्रमुख विवश चिन्तनले गर्नुभएको हो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख चिन्तनले धार्मिक तथा सामाजिक कार्यले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्न सक्ने बताउँदै महायज्ञको सफलताको शुभकामना व्यक्त गर्नुभयो। सो अवसरमा उहाँले पालुङटार नगरपालिकामा हिजोदेखि शुभारम्भ भएको भूमि प्रशासन सेवाका विषयमा समेत जानकारी गराउनुभएको थियो।
महायज्ञको उद्घाटनअघि राधाकृष्ण मन्दिर परिसरबाट भव्य कलश यात्रा निकालिएको थियो। स्थानीय बाजागाजा, महिला समूह, भजन समूह, क्लब तथा विभिन्न संघसंस्थाको सहभागितामा निकालिएको कलश यात्रा सतीघाटसम्म पुगेर जल ल्याई पुनः यज्ञस्थलमा फर्किएपछि उद्घाटन समारोह सञ्चालन गरिएको थियो। कलश यात्रामा पालुङटार–७ को नौमती पञ्चेबाजाको टोलीसमेत सहभागी भएको थियो।
मङ्गलेश्वर सांस्कृतिक मञ्चका अध्यक्ष दयाराम लामिछानेको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा प्रमुख कथावाचकले महायज्ञको उद्देश्य तथा कार्यक्रमबारे जानकारी गराउँदै स्वस्तीवाचन गर्नुभएको थियो। पालुङटार नगरपालिका–७ का वडा सदस्य खोपबहादुर थापाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन ईश्वर बस्ताकोटीले गर्नुभएको थियो।
बिहान पूजा–यज्ञदेखि साँझ झाँकीसम्म
महायज्ञ अवधिभर प्रमुख वाचक सुकदेव शरणजीबाट कथा वाचन गरिनेछ। मूल आयोजक समितिका अध्यक्ष शम्भुराज न्यौपानेका अनुसार प्रत्येक दिन बिहान ७ बजेदेखि पूजापाठ तथा यज्ञका कार्यक्रम सञ्चालन हुनेछन् भने बिहान ११ बजेदेखि कथावाचन हुनेछ।
त्यसैगरी साँझ ७ बजेदेखि राति १० बजेसम्म विभिन्न कलाकारद्वारा धार्मिक तथा सांस्कृतिक झाँकीहरू प्रस्तुत गरिने आयोजकले जनाएको छ। यसले महायज्ञलाई धार्मिक कार्यक्रमसँगै स्थानीय कला, संस्कृति र मौलिक परम्पराको संरक्षण तथा प्रवर्द्धनसँग जोड्ने अपेक्षा गरिएको छ।
महायज्ञका क्रममा सहयोग तथा दान गर्ने दानवीरहरूलाई दान गरिएको रकमका आधारमा सम्मान गर्ने तयारीसमेत गरिएको आयोजकले जनाएको छ।
राधाकृष्ण मन्दिरको जीर्णोद्धार, आवश्यक भवन निर्माण तथा धार्मिक गतिविधिका लागि आवश्यक पूर्वाधार विकास गर्ने उद्देश्यले आयोजना गरिएको महायज्ञमा स्थानीयवासी, भक्तजन तथा शुभेच्छुकहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।
महायज्ञको संयोजन मार्गदर्शन धर्म प्रतिष्ठान, गोर्खाले गरिरहेको छ।