पालुङटार नगरपालिकामा भूमि व्यवस्थापनसम्बन्धी सेवा प्रवाहलाई थप व्यवस्थित तथा प्रभावकारी बनाउने उद्देश्यले भूमि व्यवस्थापन सेवा शुभारम्भ कार्यक्रम सम्पन्न भएको छ ।
पालुङटार नगरपालिका परिसरमा नगर प्रमुख श्री विवस चिन्तनज्यूको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको सञ्चालन शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख श्री मनोज नेपाली सिर्मलज्यूले गर्नुभएको थियो ।
कार्यक्रममा पालुङटार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री शेर बहादुर बि.सी.ज्यूले भूमि व्यवस्थापन शाखाबाट उपलब्ध हुने सेवाहरूका सम्बन्धमा संक्षिप्त जानकारी गराउँदै स्वागत मन्तव्य राख्नुभएको थियो । उहाँले भूमि व्यवस्थापनसम्बन्धी सेवा प्रवाहलाई सहज, व्यवस्थित र प्रभावकारी बनाउन शाखाबाट गरिने कार्य तथा उपलब्ध हुने सेवाका बारेमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा भानु नगरपालिकाका नगर प्रमुख, गोरखा नगरपालिकाका नगर प्रमुख, पालुङटार नगरपालिकाका नगर उपप्रमुख श्री वन्दना पाण्डेज्यू, गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी, पालुङटार नगरपालिकाका पूर्व नगर प्रमुख श्री दीपक बाबु कडेलज्यू, नापी कार्यालय, गोरखाका प्रमुख, भूमि व्यवस्थापन कार्यालय, गोरखाका प्रमुख, जिल्ला प्रहरी कार्यालय, गोरखाका प्रतिनिधि, सशस्त्र प्रहरीका प्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, पालुङटार नगरपालिका क्षेत्रका विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरू, पत्रकार, कर्मचारी तथा नगरवासीहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा भूमि व्यवस्थापनसम्बन्धी सेवा स्थानीय तहबाट प्रभावकारी रूपमा प्रवाह गर्ने, सेवाग्राहीलाई सहज र सरल रूपमा सेवा उपलब्ध गराउने तथा सम्बन्धित निकायहरूबीच आवश्यक समन्वय र सहकार्य कायम गर्ने विषयमा छलफल भएको थियो ।
नगर प्रमुख श्री विवस चिन्तनज्यूले भूमि व्यवस्थापन सेवा नागरिकको प्रत्यक्ष सरोकारसँग जोडिएको महत्वपूर्ण सेवा भएको उल्लेख गर्दै सेवाग्राहीलाई सहज, सरल, पारदर्शी तथा प्रभावकारी रूपमा सेवा उपलब्ध गराउन नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले सेवा प्रवाहका क्रममा सम्बन्धित कार्यालय तथा सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो ।
भूमि व्यवस्थापन सेवा शुभारम्भसँगै पालुङटार नगरपालिकाबाट सम्बन्धित सेवाग्राहीले भूमि व्यवस्थापनसम्बन्धी सेवा स्थानीय स्तरबाटै प्राप्त गर्ने वातावरण निर्माण भएको छ। यसबाट सेवाग्राहीलाई सेवा प्राप्त गर्न सहज हुनुका साथै समय र लागतको बचत हुने तथा सेवा प्रवाह थप व्यवस्थित र प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
पालुङटार नगरपालिकामा भूमि व्यवस्थापन सेवा शुभारम्भ