अब विद्यालयमा दुई दिन बिदा : नयाँ कार्यतालिकासँगै शिक्षा प्रणालीमा ठूलो फेरबदल
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय ले विद्यालय शिक्षालाई समयसापेक्ष र व्यवस्थित बनाउने उद्देश्यसहित नयाँ कार्यतालिका लागू गर्ने भएको छ । नयाँ व्यवस्थाअनुसार अब विद्यालयहरूमा सातामा दुई दिन सार्वजनिक बिदा हुने व्यवस्था गरिएको छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्र द्वारा जारी परिपत्रअनुसार शैक्षिक सत्र २०८३ देखि विद्यालय सञ्चालन प्रणालीमै व्यापक परिवर्तन गरिने भएको हो ।
नयाँ कार्यतालिकाअनुसार अब दैनिक १५ मिनेट प्रार्थना समय र ३० मिनेट खाजा समय अनिवार्य गरिएको छ भने सोमबारदेखि शुक्रबारसम्म नियमित र पूर्ण समय पठनपाठन सञ्चालन गर्नुपर्नेछ । शुक्रबार भने परियोजना कार्य, प्रयोगात्मक अभ्यास तथा सूचना प्रविधिमा आधारित सिकाइका लागि विशेष रूपमा प्रयोग गरिने व्यवस्था गरिएको छ ।
त्यसैगरी हिउँदे र बर्से बिदालाई घटाएर ४५ दिनबाट ३० दिनमा सीमित गरिएको छ । आन्तरिक मूल्याङ्कनलाई समेत नियमित कक्षामा असर नपर्ने गरी व्यवस्थापन गर्नुपर्ने निर्देशिकामा उल्लेख गरिएको छ ।
विद्यालयहरूको वार्षिक परीक्षा तथा नतिजा प्रकाशनका लागि शैक्षिक सत्रको अन्तिम १२ दिन छुट्याइने व्यवस्था गरिएको छ । यसबाट परीक्षा व्यवस्थापनलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार नयाँ कार्यतालिकाले विद्यार्थीको सिकाइ उपलब्धि बढाउनुका साथै व्यवहारिक, प्रविधिमैत्री र परिणाममुखी शिक्षण प्रणाली विकास गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । शिक्षा क्षेत्रका सरोकारवालाहरूले भने नयाँ व्यवस्थाले विद्यालय सञ्चालन, शिक्षक व्यवस्थापन तथा विद्यार्थीको सिकाइ शैलीमा महत्वपूर्ण परिवर्तन ल्याउने बताएका छन् ।