Gorkha Sansar

लर्निङ बाइ अर्निङ’को नयाँ अभियान : लुम्बिनीबाट सुरु भयो डिजिटल नेपालको टेकपाइला यात्रा

काठमाडौं । नेपालमा डिजिटल शिक्षा र सूचना प्रविधिमार्फत युवालाई आत्मनिर्भर बनाउने लक्ष्यसहित लुम्बिनी प्रदेशको बुटवल मा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न भएको छ । कार्यक्रममा डिजिटल शिक्षामा योगदान पुर्‍याउने विद्यार्थी, शिक्षक तथा प्रविधिमैत्री शैक्षिक संस्थाहरूलाई सम्मान गरिएको थियो ।

डिजी स्कुल ग्लोबल को आयोजना तथा टेकपाइला इनोभेसन को सहकार्यमा सम्पन्न कार्यक्रममा नेपालमै प्रविधिमैत्री शिक्षा र ‘मेड इन नेपाल’ डिजिटल इकोसिस्टम निर्माणको आवश्यकता औँल्याइएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै डिजी ग्रुपका अध्यक्ष विज्ञान श्रेष्ठ ले नेपाली विद्यालय तथा कलेजहरूमा अन्तर्राष्ट्रियस्तरको डिजिटल शिक्षा विस्तार गर्ने उद्देश्यसहित बेलायती मापदण्डअनुसारको कम्प्युटर पाठ्यक्रम र ई–लर्निङ प्रणाली लागू गरिएको जानकारी दिए । उनका अनुसार विद्यार्थीलाई प्रारम्भिक तहदेखि नै विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने डिजिटल सीप प्रदान गर्ने लक्ष्य लिइएको छ ।

कार्यक्रमकै अवसरमा डिजी ग्रुप अन्तर्गत स्थापना गरिएको नयाँ सूचना प्रविधि कम्पनी टेकपाइला इनोभेसन को औपचारिक घोषणा गरिएको थियो । साइबर सुरक्षा विज्ञ तथा कम्पनीका एसोसिएट डाइरेक्टर चिरञ्जीवी अधिकारी ले युवालाई सीप, रोजगारी र प्रविधिसँग प्रत्यक्ष जोड्ने उद्देश्यसहित टेकपाइला इनोभेसन स्थापना गरिएको बताए ।

उनले एकेडेमी, बुटक्याम्प तथा विभिन्न साझेदारी कार्यक्रममार्फत विद्यार्थीलाई अध्ययनसँगै व्यावहारिक अनुभव दिने योजना रहेको उल्लेख गर्दै “शिक्षा र उद्योगबीचको दूरी घटाउने समय आएको” बताए ।

कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल चेम्बर अफ कमर्स का निवर्तमान अध्यक्ष राजेन्द्र मल्ल ले “लर्निङ बाइ अर्निङ” अवधारणाले नेपाली युवालाई विदेश पलायन हुनबाट रोक्न सक्ने धारणा राखे । उनले नेपालमै दक्ष जनशक्ति उत्पादन गर्न सके डिजिटल अर्थतन्त्र मजबुत बन्ने बताए ।

कार्यक्रममा सफ्टवारिका कलेज अफ आईटी एण्ड ई–कमर्स का प्रिन्सिपल प्रमोद पौडेल, सूचना प्रविधि विज्ञ अमृत थापा, डिजी स्कुल ग्लोबलकी बिजनेस हेड अनिता महर्जन तथा लुम्बिनी प्रदेश प्रमुख लेखनाथ पन्त लगायतले डिजिटल शिक्षा, नवप्रवर्तन र प्रविधिमैत्री शिक्षाको आवश्यकताबारे धारणा राखेका थिए ।

सहभागीहरूले बुटवलबाट सुरु भएको यो पहलले नेपालमा डिजिटल साक्षरता विस्तारसँगै प्रविधिमा आधारित शिक्षा प्रणाली विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.