Gorkha Sansar

एभरेष्ट इन्जिनियरिङ कलेजमा आन्तरिक अनुसन्धान प्रस्तुति सम्पन्न

वैशाख २७ । एभरेष्ट इन्जिनियरिङ कलेज मा आन्तरिक अनुसन्धान अनुदान कोषअन्तर्गत सञ्चालित तीनवटा अनुसन्धान कार्यक्रमहरूको नतिजा प्रस्तुति सम्पन्न भएको छ । शिक्षक तथा विद्यार्थीहरूले गर्न चाहेका अनुसन्धानलाई सहयोग र प्रोत्साहन गर्ने उद्देश्यले स्थापना गरिएको उक्त कोषमार्फत गत आर्थिक वर्षमा छनोट भएका अनुसन्धान परियोजनाहरूको प्रस्तुति कलेजको सेमिनार हलमा गरिएको हो ।

कलेजले प्रत्येक वर्ष खुला प्रतिस्पर्धामार्फत छनोट गरिएका अनुसन्धान प्रस्तावहरूलाई आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको जनाएको छ ।

कार्यक्रममा कलेजका शिक्षक इन्जिनियर नारायण सापकोटा ले भिरालो जमिनमा पहिरो फैलावटको अनुमान गर्न सकिने नयाँ गणितीय विधिबारे प्रस्तुति दिनुभएको थियो । भौतिकशास्त्र र न्यूरल नेटवर्कको संयोजनबाट विकसित उक्त “पिआइएनएन” विधि संसारकै नौलो रहेको उहाँको दाबी थियो । कार्यक्रममा सहभागी विज्ञहरूले उक्त अनुसन्धानलाई उच्चस्तरीय र सम्भावनायुक्त भन्दै प्रशंसा गरेका थिए ।

त्यसैगरी अनुसन्धानकर्ता न्युटन शाही ठकुरी ले भूकम्पीय विपद्का समयमा घाइतेहरूको प्रभावकारी उपचार व्यवस्थापनबारे अध्ययन प्रस्तुत गर्नुभयो । उहाँले जनसंख्याको आधारमा अस्पतालको संख्या तथा क्षमता, एम्बुलेन्सको उपलब्धता, स्थान र चिकित्सकहरूको संख्याले सेवा प्रवाहमा पार्ने प्रभावबारे विश्लेषण गर्नुभएको थियो । कम्प्युटरमा आधारित गणितीय विधिको प्रयोगमार्फत घाइते बिरामी र चिकित्सकीय सेवाको समय घटाउन सकिने उहाँको निष्कर्ष रहेको थियो ।

यस्तै अनुसन्धानकर्ता आयुष कोइराला र शुभम बिके ले संयुक्त रूपमा बागमती नदी का विभिन्न शाखा नदीहरूमा रहेको रासायनिक तथा जैविक प्रदूषणको अवस्थाबारे प्रस्तुति दिएका थिए । उनीहरूले प्रदूषण न्यूनीकरणका सम्भावित उपायहरूमाथि समेत अध्ययन प्रस्तुत गरेका थिए ।

प्रस्तुति कार्यक्रममा कलेजका प्रमुख कार्यकारी अधिकृत अरूण कुमार भण्डारी, अनुसन्धान समिति प्रमुख तथा प्राचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठ र सहप्राध्यापक डा. यज्ञराज पाण्डे ले अनुसन्धानका नतिजालाई व्यवहारिक तथा उपयोगी पक्षसँग अझ मजबुत रूपमा जोड्नुपर्नेमा जोड दिएका थिए ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.