Gorkha Sansar

विज्ञान शिक्षणलाई व्यवहारिक बनाउने अभियान : सिरानचोकमा दुईदिने विज्ञान सामग्री व्यवस्थापन कार्यशाला सम्पन्न

गोरखा, वैशाख २७ । सिरानचोक गाउँपालिका को आयोजना तथा विज्ञान शिक्षक समाज सिरानचोक गाउँपालिका को समन्वयमा विज्ञान विषय अध्यापनलाई थप प्रभावकारी र व्यवहारिक बनाउने उद्देश्यसहित दुईदिने “विज्ञान सामग्री व्यवस्थापन कार्यशाला” सम्पन्न भएको छ ।

वैशाख २६ र २७ गते सञ्चालन गरिएको कार्यशाला श्री मण्डली माध्यमिक विद्यालय मा सम्पन्न भएको हो । उक्त विद्यालयमा सिरानचोक गाउँपालिकाले नमुना विज्ञान प्रयोगशाला समेत निर्माण गरेको छ ।

कार्यक्रमको उद्घाटन गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र गुरुङ ले गर्नुभएको थियो । उद्घाटन समारोहमा बोल्दै अध्यक्ष गुरुङले शिक्षण–सिकाइलाई गुणस्तरीय बनाउन आवश्यक सम्पूर्ण पक्षमा गाउँपालिका सहयोग गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।

कार्यक्रममा गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुशिल नराल ले कार्यक्रमको औचित्य र उद्देश्यबारे प्रकाश पार्दै तालिम तथा कार्यशालाबाट सिकिएका सीप र ज्ञानलाई विद्यालय तथा कक्षाकोठामा व्यवहारिक रूपमा प्रयोग गर्न शिक्षकहरूलाई आग्रह गर्नुभयो । उहाँले आगामी दिनमा पनि यस्ता कार्यक्रममार्फत शिक्षकहरूको पेशागत दक्षता अभिवृद्धि गर्न गाउँपालिका निरन्तर लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

शिक्षकहरूको आवश्यकता र मागलाई ध्यानमा राखेर कार्यक्रम सञ्चालन गरिएकोमा विज्ञान शिक्षक समाज सिरानचोकका अध्यक्ष तथा विज्ञान विषय समितिका संयोजक प्रकाश पोखरेल ले खुशी व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा समेत शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि गर्ने खालका कार्यक्रम सञ्चालन गर्न पालिकासँग आग्रह गर्नुभयो ।

कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै विज्ञान शिक्षक समाज गोरखाका जिल्ला अध्यक्ष तथा महेन्द्र माध्यमिक विद्यालय कुन्दुर का विज्ञान शिक्षक भिम नारायण श्रेष्ठ ले यस्ता कार्यक्रमले विज्ञान शिक्षकहरूको क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले सबै पालिकामा यस्ता कार्यक्रम सञ्चालन गर्न स्थानीय तह र विज्ञान शिक्षक समाजबीच सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो ।

दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा सिरानचोक गाउँपालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत गरी १६ वटा माध्यमिक विद्यालय र ४ वटा आधारभूत विद्यालयका ३५ जना विज्ञान शिक्षकहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा विज्ञान शिक्षक समाज चितवनका जिल्ला अध्यक्ष श्री प्रदिप काफ्ले  तथा श्री शक्ति माध्यमिक विद्यालय का शिक्षक तिलक जंग केसी ले सहजीकरण गर्नुभएको थियो । कार्यशालामा विद्यालय तहमा विज्ञान विषयसँग सम्बन्धित सामग्रीहरूको प्रभावकारी प्रयोगबारे प्रयोगात्मक अभ्यास गराइएको थियो । स्थानीय स्तरमै उपलब्ध सामग्री, बजारबाट खरिद गर्न सकिने सामग्री तथा डिजिटल माध्यमको प्रयोगमार्फत कसरी प्रभावकारी विज्ञान शिक्षण गर्न सकिन्छ भन्ने विषयमा सहभागी शिक्षकहरूलाई व्यवहारिक प्रशिक्षण प्रदान गरिएको आयोजकले जनाएको छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.