Gorkha Sansar

किताबसँगै खेती पनि: पालुङटारका विद्यार्थीले उब्जाएको अर्गानिक टमाटर बजारमा ‘हिट’

गोरखा । पढाइसँगै व्यावहारिक सीप सिकाउने उद्देश्यले विद्यालय परिसरमै गरिएको अर्गानिक खेती अहिले आम्दानीको स्रोत बनेको छ ।

त्रिवेणी माध्यमिक विद्यालय का विद्यार्थीहरूले उत्पादन गरेको अर्गानिक टमाटर अहिले धमाधम बिक्री हुन थालेपछि विद्यालयमा उत्साह थपिएको छ ।

पालुङटार नगरपालिका–९ सेरा स्थित विद्यालयले “सिकाइसँगै कमाइ” अवधारणाअन्तर्गत विद्यार्थीहरूलाई व्यावहारिक कृषि शिक्षासँग जोड्दै टमाटर खेती सुरु गरेको थियो ।

विद्यार्थीहरूको मेहनत, शिक्षकको सहजीकरण र नियमित हेरचाहका कारण यसपटक राम्रो उत्पादन भएको विद्यालयले जनाएको छ ।

कक्षाकोठाबाट खेतसम्म

विद्यालय प्रशासनका अनुसार खेती कार्यक्रममा विद्यार्थीहरू प्रत्यक्ष सहभागी भएका थिए । बिरुवा रोप्ने, मल व्यवस्थापन, गोडमेलदेखि उत्पादन संकलनसम्मको काम विद्यार्थीहरूले नै गरेका हुन् ।

यसले विद्यार्थीहरूमा कृषि पेशाप्रति सकारात्मक सोच विकास गर्नुका साथै आत्मनिर्भर बन्ने प्रेरणा दिएको शिक्षकहरू बताउँछन् ।

स्थानीय बजारमा अर्गानिक टमाटरको माग बढ्दो

रासायनिक विषादीबिना उत्पादन गरिएको ताजा टमाटर भएकाले स्थानीय उपभोक्ताले चासोका साथ खरिद गरिरहेका छन् । विद्यालयमै पुगेर टमाटर किन्नेको संख्या पनि बढ्दै गएको बिद्यालयका प्रधानाध्यापक गणेशराज सेडाइले बताउनुभएकाे छ ।

स्थानीयवासीका अनुसार विद्यार्थीहरूले उत्पादन गरेको अर्गानिक तरकारीले “विद्यालय शिक्षालाई व्यवहारसँग जोड्ने” राम्रो उदाहरण प्रस्तुत गरेको छ ।

‘पढाइ मात्र होइन, जीवन उपयोगी सीप पनि’

विद्यालयले आगामी दिनमा टमाटर खेतीसँगै अन्य तरकारी तथा कृषि कार्यक्रमसमेत विस्तार गर्ने योजना बनाएको जनाएको छ ।

विद्यालय व्यवस्थापन पक्षका अनुसार यस्तो कार्यक्रमले विद्यार्थीलाई केवल सैद्धान्तिक ज्ञान मात्र होइन, जीवन उपयोगी सीप, श्रमको सम्मान र उद्यमशील सोचसमेत सिकाउने विश्वास गरिएको छ ।

ग्रामीण विद्यालयहरूमा व्यावहारिक शिक्षाको आवश्यकता बढिरहेका बेला त्रिवेणी माविको यो पहल अहिले प्रेरणादायी उदाहरण बनेको छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.