गोरखा ।
गोरखाको पालुङटार नगरपालिका क्षेत्रमा अवस्थित आँपपिपल अस्पतालमा अब प्रवीणता प्रमाणपत्र तहअन्तर्गत एचए (Health Assistant) विषयको पढाइ सञ्चालन हुने भएको छ। गण्डकी प्रदेश सरकार र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) बीचको सहकार्यमा कार्यक्रम अगाडि बढाउने तयारी भएपछि गोरखासहित आसपासका जिल्लाका विद्यार्थीमा उत्साह थपिएको छ।
प्रदेश सरकारले यसअघि नै आँपपिपल अस्पतालमा एचए तथा बागलुङस्थित धवलागिरि अस्पतालमा स्टाफ नर्स विषयको अध्ययन सञ्चालन गर्ने निर्णय गरिसकेको छ। आवश्यक प्रक्रिया, पूर्वाधार व्यवस्थापन तथा अनुमति प्राप्तिपछि कक्षा सञ्चालन गर्ने तयारी तीव्र बनाइएको बताइएको छ।
पालुङटारमा रहेको एकमात्र प्रदेशस्तरीय अस्पतालको विशेष पहल, निरन्तर समन्वय तथा व्यवस्थापनकै कारण यो कार्यक्रम सञ्चालनको चरणमा पुगेको स्थानीयले बताएका छन्। यसलाई गोरखा जिल्लामा स्वास्थ्य शिक्षाको क्षेत्रमा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
अस्पताल सञ्चालक समितिका अध्यक्ष पार्वती पाठक ले अस्पतालमा आवश्यक तयारी तीव्र गतिमा अघि बढिरहेको जानकारी दिँदै छिट्टै कक्षा सञ्चालन हुने बताइन्। उनका अनुसार यस कार्यक्रमबाट गोरखा, तनहुँ, लमजुङ लगायतका जिल्लाका विद्यार्थीहरूलाई विशेष सहजता पुग्नेछ।
“स्वास्थ्य शिक्षा अध्ययनका लागि टाढा जानुपर्ने बाध्यता कम हुनेछ,” अध्यक्ष पाठकले भनिन्, “ग्रामीण क्षेत्रमै गुणस्तरीय स्वास्थ्य शिक्षा उपलब्ध गराउने उद्देश्यले यो पहल गरिएको हो।”
हालसम्म एचए अध्ययनका लागि विद्यार्थीहरू पोखरा, चितवन, काठमाडौं लगायतका शहर धाउन बाध्य थिए। आर्थिक अभाव र दूरीका कारण धेरै विद्यार्थी अवसरबाट वञ्चित हुने अवस्था रहेको बेला आँपपिपल अस्पतालमै एचए पढाइ सुरु हुन लाग्नु ग्रामीण क्षेत्रका लागि ठूलो उपलब्धि मानिएको छ।
स्वास्थ्य शिक्षा स्थानीय तहसम्म विस्तार हुँदा ग्रामीण क्षेत्रमा दक्ष स्वास्थ्य जनशक्ति उत्पादनमा समेत महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। यसले भविष्यमा स्थानीय स्वास्थ्य संस्थाहरूमा दक्ष जनशक्तिको अभाव कम गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।
स्थानीय अभिभावक, विद्यार्थी तथा शिक्षाप्रेमीहरूले प्रदेश सरकार र अस्पताल व्यवस्थापनको पहललाई स्वागत गर्दै पालुङटार क्षेत्र अब स्वास्थ्य शिक्षाको महत्वपूर्ण केन्द्रका रूपमा विकास हुने अपेक्षा व्यक्त गरेका छन्।