Gorkha Sansar

अटिजम रोग होइन, क्षमता हो: नेपालमा बदलिँदै सोच, अब ‘स्वीकार’ नै सबैभन्दा ठूलो उपचार!”

काठमाडौं,

अटिजमलाई रोग होइन, ‘न्यूरो–विविधता’को रूपमा बुझ्दै व्यवहारिक कार्यान्वयनतर्फ केन्द्रित तीनदिने ‘विशेष शिक्षा तालिम तथा सेमिनार’ सोमबार सम्पन्न भएको छ।

नेपाल एकेडेमी अफ साइकोलोजीको अग्रसरतामा मेन्टल हेल्थ नेपाल र स्कोप अफ होप फाउन्डेसन (भारत) सँगको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो।

तालिममा अटिजमलाई विकासात्मक अवस्था (developmental condition) का रूपमा व्याख्या गर्दै यसले व्यक्तिको सामाजिक अन्तरक्रिया, सञ्चार क्षमता र व्यवहारमा विविधता ल्याउने विषयमा गहन छलफल गरिएको थियो। अटिजम भएका व्यक्तिहरूमा आँखा सम्पर्क कम हुनु, सामाजिक संकेत नबुझ्नु, सम्बन्ध विस्तार गर्न कठिनाइ हुनु तथा एउटै व्यवहार दोहोर्याउने जस्ता विशेषता देखिने उल्लेख गरिएको छ।

तालिमका मुख्य प्रशिक्षक तथा नेपाल एकेडेमी अफ साइकोलोजीका निर्देशक उमङ्ग जंग पराक्रम शाहले अटिजमलाई ‘स्पेक्ट्रम’ भनिने कारण स्पष्ट पार्दै प्रत्येक व्यक्तिमा यसको लक्षण र आवश्यकता फरक–फरक हुने बताए। “अटिजम कुनै निको पार्नुपर्ने रोग होइन, यो मानव विविधताको एक रूप हो,” उनले जोड दिए।

उनका अनुसार, अटिजमका संकेतहरू प्रायः ६ देखि १२ महिनामै देखिन सुरु हुन्छन् भने १८ देखि २४ महिनाभित्र विश्वसनीय पहिचान गर्न सकिन्छ। विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर हरेक १०० मध्ये एक बालबालिकामा अटिजम हुने अनुमान छ।

कार्यक्रममा अटिजम भएका व्यक्तिका लागि व्यवहार थेरापी, स्पिच थेरापी, अकुपेसनल थेरापी तथा समावेशी शिक्षाको पहुँच विस्तार गर्नुपर्नेमा जोड दिइएको थियो। साथै, दया र सहयोगमा आधारित होइन, अधिकारमा आधारित समर्थन आवश्यक रहेको विषयलाई पनि विशेष रूपमा उठाइएको थियो।

समापन कार्यक्रममा निर्मल गुरुङ, प्रकाश रायमाझी, प्रेमकुमार खत्रीलगायतले अटिजमबारे जनचेतना अझ व्यापक बनाउनु पर्नेमा जोड दिएका थिए।

कार्यक्रमका अन्तर्राष्ट्रिय प्रशिक्षक विपिन मौर्य (मुम्बई) रहेका थिए भने समग्र कार्यक्रमले नेपालमा अटिजमप्रतिको सोच ‘समस्या’बाट ‘सम्भावना’तर्फ रूपान्तरण हुँदै गएको स्पष्ट सन्देश दिएको छ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.