गोरखा, वैशाख २ — गोरखाको आँपपिपल अस्पतालमा स्वास्थ्य सेवा विस्तार र बाल स्वास्थ्य सुधारलाई केन्द्रमा राख्दै महत्वपूर्ण निर्णयहरू गरिएको छ। आज मिति २०८२ साल वैशाख २ गते अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्री पार्वती देवी पाठकज्यूको अध्यक्षतामा बसेको बैठकले अस्पतालमा शैक्षिक तथा स्वास्थ्यसम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्ने निर्णय गरेको हो।
बैठकले अस्पतालमा सामान्य चिकित्सा (हेल्थ असिस्टेन्ट) लगायतका प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले शैक्षिक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ। यस कदमले ग्रामीण क्षेत्रमै दक्ष स्वास्थ्यकर्मी उत्पादन गरी स्वास्थ्य सेवामा पहुँच विस्तार हुने अपेक्षा गरिएको छ।
त्यसैगरी, बालबालिकाको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै Kathmandu Institute of Child Health (किओच) सँग सहकार्यमा बृहत् बाल स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ। किओच नेपालमा बाल स्वास्थ्य सेवा सुलभ, गुणस्तरीय र सर्वसुलभ बनाउने उद्देश्यले स्थापना भएको संस्था हो ।
शिविर यही वैशाख १० र ११ गते सञ्चालन हुने तय भएको छ। उक्त शिविरमा वरिष्ठ मुटुरोग विशेषज्ञ तथा किओचका अध्यक्ष डा. भगवान् कोइराला सहित विभिन्न विषयका विशेषज्ञ चिकित्सकहरूको सहभागिता रहनेछ। डा. कोइराला नेपालमा मुटु शल्यक्रिया क्षेत्रका अग्रणी चिकित्सकका रूपमा परिचित छन् ।
शिविरमा बालबालिकासँग सम्बन्धित विभिन्न रोगहरूको परीक्षण तथा परामर्श सेवा प्रदान गरिनेछ। जसअन्तर्गत मुटु रोग, छाती रोग, मृगौला रोग, रगत तथा क्यान्सरजन्य रोग लगायतका जटिल स्वास्थ्य समस्याको विशेषज्ञमार्फत जाँच तथा उपचार सेवा उपलब्ध गराइनेछ। किओचले यसअघि पनि बहुविषयगत बाल स्वास्थ्य शिविरमार्फत विशेषज्ञ सेवा उपलब्ध गराउँदै आएको छ ।
बैठकले शिविरलाई प्रभावकारी र सफल बनाउन व्यापक प्रचारप्रसार गर्ने निर्णय समेत गरेको छ। स्थानीय समुदायलाई लक्षित गरी सूचना प्रवाह, समन्वय तथा सहभागिता बढाउने तयारी गरिएको जनाइएको छ।
यस कार्यक्रमले ग्रामीण क्षेत्रका बालबालिकालाई विशेषज्ञ स्वास्थ्य सेवा नजिकबाट उपलब्ध गराउनुका साथै दीर्घकालीन रूपमा स्वास्थ्य सेवा सुधारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।
आँपपिपल अस्पतालमा शैक्षिक कार्यक्रम र बृहत् बाल स्वास्थ्य शिविर सञ्चालन हुने