गोरखा, वैशाख २ —
गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ८ धुवाकोटस्थित अकला माध्यमिक विद्यालय मा बिदाको समयमा अज्ञात समूहद्वारा तोडफोड गरिएको घटना सार्वजनिक भएको छ। उक्त घटनामा विद्यालयका करिब चारवटा कक्षा कोठामा क्षति पुगेको छ।
विद्यालयका सूचना अधिकारी प्रकाश तिवारी का अनुसार कक्षा कोठाभित्रको विद्युत् वायरिङ, फ्यान, दराज लगायतका सामग्रीमा तोडफोड गरी क्षति पुर्याइएको छ।
विद्यालय प्रशासनका अनुसार चैत २७ गतेसम्म नियमित पठनपाठन सञ्चालनमा रहेको थियो भने नयाँ वर्षको अवसर पारेर वैशाख १ गतेसम्म सार्वजनिक बिदा दिइएको थियो। सोही अवधिमा विद्यालय बन्द रहेको मौका छोपेर तोडफोड गरिएको हुनसक्ने अनुमान गरिएको छ।
आज वैशाख २ गते विद्यालय खुलेपछि मात्र घटनाबारे जानकारी भएको र यस विषयमा थप अनुसन्धान भइरहेको विद्यालयले जनाएको छ।
घटनाले स्थानीय अभिभावक तथा सरोकारवालामा चिन्ता बढाएको छ भने दोषीलाई छिट्टै पहिचान गरी कारबाही गर्न माग गरिएको छ।