Skip to main content

Gorkha Sansar

चितवनमा अहिलेसम्मकै सबैभन्दा ठूलो पुरस्कार राशीको राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता सुरु

चितवन, माघ २८

देशकै सबैभन्दा ठूलो धनराशीको ‘प्रथम प्रधानमन्त्री कप राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता–२०७७’ चितवनमा सुरु भएको छ ।

राष्ट्रिय खेलकुद परिषद्को सहयोग, नेपाल ब्याडमिन्टन संघको पहल तथा चितवन जिल्ला ब्याडमिन्टन संघ र हरिलाल धर्मदेवी मेमोरियल ट्रष्टको संयुक्त आयोजनामा भएको प्रतियोगिताको आज वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले उद्घाटन गरेका हुन् । प्रतियोगिता उद्घाटन गर्दै प्रदेश प्रमुख प्रसाईले कोभिडको कारण बन्द भएको खेल क्षेत्र विस्तारै चलायमान हुन लागेको बताए । खेलकुदबाट खेलाडीले आफ्नो र राष्ट्रको नाम विश्वमा परिचित गराउन सक्ने भन्दै खेलाडीका लागि सरकारले पारिश्रमिकको व्यवस्था समेत सुरु गरेको प्रसाईले बताए । खेलकुदका गतिविधि बढ्न थालेपछि खेल पर्यटनको समेत विकास हुने उनको भनाइ थियो । आजदेखि सुरु भएको प्रतियोगितामा देशभरका ३०० बढी खेलाडीको सहभागिता रहेको चितवन जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष भरत मल्ले बताए ।

फागुन १ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विश्वकै तेस्रो बरियतामा रहेका खेलाडी प्रिन्स दाहाललगायतका राष्ट्रिय खेलाडीहरुको सहभागिता रहेको छ । प्रतियोगिताअन्तर्गत आज पहिलो चरणका ६९ वटा खेल सम्पन्न भएका नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष सुवास श्रेष्ठले बताए । विभिन्न आठ विधामा हुने प्रतियोगितामा वुमन सिङ्गल, गल्स सिङ्गल अण्डर १७ अन्तर्गतका खेलहरु भोलि बिहीबार हुने श्रेष्ठले बताए । प्रतियोगितामा मेन्स सिङ्गल र वुमन्स सिङ्गलतर्फ पहिलो हुने खेलाडीले नगद एक लाख १५ हजारका दरले पुरस्कार पाउने श्रेष्ठले बताए । प्रतियोगितामा आठ वटा विधामा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीको लागि नगदसहित ट्रफी, मेडल र प्रमाणपत्रसिहतको पुरस्कारको व्यवस्था गरिएको श्रेष्ठको भनाइ छ । प्रतियोगिताअन्तर्गत नगद पुरस्कारमात्रै आठ लाख १९ हजार रुपैयाँ खर्च हुने भन्दै श्रेष्ठले प्रतियोगिता सम्पन्न गर्न ४० लाख रुपैयाँ खर्च हुने बताए । भरतपुरको कभर्डहलमा सञ्चालन भएको खेल निःशुल्क रुपमा हेर्ने व्यवस्था मिलाइएको चितवन जिल्ला ब्याडमिन्टन संघले जनाएको छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.