Skip to main content

Gorkha Sansar

पालुङटारमा भोटेकोसी बाढीका ३३ मृतकको सम्झनामा श्रद्धाञ्जली सभा

पालुङटार, गोरखा — भोटेकोसीको विनाशकारी बाढीमा परी ज्यान गुमाएका पालुङटारका ३३ जना नागरिकको सम्झनामा पालुङटार नगरपालिका–५, चारकुनेमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ।

पालुङटार नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दल, सुरक्षा निकाय, स्थानीय सरोकारवाला तथा सर्वसाधारणको सहभागिता रहेको थियो। कार्यक्रम नगर प्रमुख विवश चिन्तनको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य कबिन्द्र बुर्लाकोटी, गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री फणीन्द्र देवकोटा, जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापा, भानु नगरपालिकाका नगर प्रमुख आनन्द राज त्रिपाठी, गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिना लगायतको उपस्थिति थियो।

श्रद्धाञ्जली सभामा सहभागी वक्ताहरूले भोटेकोसी बाढीमा ज्यान गुमाएका नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरे।

३३ परिवारको पीडामा पालुङटार एकजुट

भोटेकोसी बाढीले ज्यान गुमाएका ३३ जना पालुङटारवासीको सम्झनामा आयोजित कार्यक्रम केवल औपचारिक श्रद्धाञ्जलीमा सीमित नरहेको सहभागीहरूले बताएका छन्। विपद्पछि प्रभावित परिवारको राहत, पुनर्स्थापना र दीर्घकालीन सहयोगका लागि स्थानीय सरकार, प्रदेश, संघीय सरकार तथा सरोकारवाला निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेकोमा जोड दिइएको छ।

मन्त्री देवकोटा, सांसद बुर्लाकोटी र नगर प्रमुख चिन्तनले विपद्को यस कठिन अवस्थामा पीडित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन तथा पुनर्स्थापनाका काममा सबै पक्ष एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

विपद्ले दिएको क्षतिको भौतिक मूल्यांकनसँगै मृतक परिवारको सामाजिक तथा आर्थिक अवस्थालाई सम्बोधन गर्दै दीर्घकालीन पुनर्स्थापना र भविष्यमा यस्ता विपद्बबाट हुने क्षति न्यूनीकरणका लागि पूर्वतयारी बलियो बनाउनुपर्ने आवश्यकता पनि कार्यक्रममा औँल्याइएको छ।

३३ जना नागरिकको सम्झनामा गरिएको श्रद्धाञ्जलीले पालुङटारमा विपद्को पीडा अझै ताजा रहेको मात्र होइन, विपद्पछिको पुनर्निर्माण र प्रभावित परिवारको साथमा स्थानीय सरकार निरन्तर उभिनुपर्ने जिम्मेवारीसमेत सम्झाएको छ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.