आँबुखैरेनी, २४ भदौ — भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई राहत तथा मानवीय सहयोग उपलब्ध गराउन आँबुखैरेनीबाट संकलित राहत सामग्रीसहितको टोली प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको छ।
स्थानीय स्तरमा संकलन गरिएको खाद्यान्न, लत्ताकपडा तथा अन्य अत्यावश्यक सामग्री लिएर टोली प्रभावित क्षेत्रमा गएको हो। बाढीका कारण प्रभावित परिवारलाई तत्काल आवश्यक सहयोग पु¥याउने उद्देश्यले स्थानीयवासी तथा विभिन्न पक्षको सहयोगमा राहत सामग्री जुटाइएको जनाइएको छ।
राहत लिएर गएको टोलीले प्रभावित परिवारको वास्तविक अवस्था बुझ्ने, आवश्यकताको पहिचान गर्ने तथा संकलित सामग्री प्राथमिकताका आधारमा वितरण गर्ने जनाएको छ।
भोटेकोशी बाढीले ठूलो जनधनको क्षति पुर्याएपछि प्रभावित क्षेत्रमा राहत, उद्धार र पुनर्स्थापनाको आवश्यकता अझै कायम रहेको अवस्थामा आँबुखैरेनीबाट गरिएको यो पहलले स्थानीय तहमा देखिएको मानवीय सहकार्य र सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेको छ।
टोलीले राहत वितरणसँगै प्रभावित परिवारको अवस्था, तत्काल आवश्यक सामग्री तथा आगामी दिनमा थप सहयोग आवश्यक पर्ने क्षेत्रबारे समेत जानकारी संकलन गर्ने जनाएको छ।