१.पृष्ठभूमि
सिञ्जा उपत्यका नेपालीको भाषा, सभ्यता र संस्कृतिको उद्गमस्थल मानिने ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक महत्वको सिञ्जा उपत्यका हो । यहॉ ३४६१ वर्षअघि अर्थात् इशापूर्व १४४४ मा राजा जालन्दरले सिंजा राज्य स्थापना गरेका थिए । राजा जालन्दरले शिवका भक्त भएकाले शिवको अघिल्लो अक्षर ‘शि’ र आफ्नो नामको अघिल्लो अक्षर ‘जा’बाट जोडेर सिंजा नाम रहन गएको जनश्रुति भेटिन्छ । जालन्दरकी रानी वृन्दाले बास गरेको भनी सिंजामा अहिले पनि पूजा गरिने देवीलाई वृन्दावासिनी भनिन्छ । पुराणहरूमा वृन्दालाई पतिव्रता र तपस्वी नारीका रूपमा चित्रण गरिएको पाइन्छ । यिनै वृन्दाको नाम अपभ्रंश हुँदै खस भाषामा बिन्नैनी उच्चारण गरिन्छ ।
खस राजा नागराजले र उनका उत्तराधिकारीले सिंजा नगरमा करिब ३०० वर्षसम्म शासन गरेका थिए । खस राजाले पूर्वमा नेपाल उपत्यकामा दुईपटक भन्दा बढी आक्रमण गरी करत राज्य बनाएको र पश्चिमका कुमाउ, गडवालसम्मका राज्यलाई आफ्नो साम्राज्यभित्र पारेको इतिहास भेटिएको छ (पूर्वेली न्युज, २४ जुन २०२०) । यस्तै गरि बली राजाका पालामा जुम्ला राज्य समृद्ध र शक्तिशाली रहेको इतिहास छ। जुम्ला राज्यका अन्तिम राजा सूर्यमान शाहीले वि.सं. १८१६ मा राज्याभिषेक गरेका थिए।
सिंजा साम्राज्यको इतिहास १२औँ देखि १४औँ शताब्दी सम्म विस्तारित छ, जहाँ खस मल्ल राजाहरूले राजधानी बनाएका थिए। यसको प्रमुख राजा जयसिंह र महासिंहले राज्य स्थापना र विस्तार गरे । मष्टो पूजा एक प्राचीन धार्मिक विधि हो जसमा मष्टो एक देवताको पूजा विशेष अवसरमा, मेला र उत्सवको माध्यमबाट गरिन्छ। यसमा भक्तिमय नृत्य, बलि र आध्यात्मिक अनुष्ठानहरू समावेश छन् । यो धार्मिक प्रथा सिंजा क्षेत्रका संस्कृति र ऐतिहासिक पहिचानको महत्वपूर्ण हिस्सा हो ।
खस समुदायको इतिहास, उत्पत्ति, संस्कृति, र वर्तमान अवस्थाबारे विस्तृत विवरण तल प्रस्तुत गरिएको छः
‘खस’ र भारतको मेघालयमा बसोबास गर्ने ‘खासी’ दुई फरक समुदाय हुन् । यहाँ नेपाल, भारतको उत्तराखण्ड÷हिमाचल र तिब्बतसँग जोडिएको ऐतिहासिक खस समुदायको बारेमा चर्चा गरिएको छ।अहिलेसम्म युरेसियाको पुरातात्विक अनुसन्धानले भारोपेली जातिको मूलथलो युराल पहाडको पश्चिमतिर कश्यप सागर र कृष्ण सागरको उत्तरतिरको भूभागलाई ठह¥याएको छ । रुसको भोल्गा नदी किनारको सिन्तास्ता भन्ने ठाउँलाई भारोपेली जातिको मूलथलो मानिएको छ । त्यो मूलथलोबाट झन्डै इ.पू. २५०० तिर जुन बगाल भूमध्य सागर क्षेत्रमा टर्कीको एनाटोलिया पुग्यो, त्यसलाई हित्ती भन्दछन् भने जुन बगाल पश्चिम चीनको ताक्लामकान आइपुग्यो, त्यस बगाललाई तोखार भन्छन् (कुज्मिना, सन् २००७, ओरिजिन्स अफ इन्डो–इरानियान्स, अस्कोपार्पोला, सन् २०१५, द रुट्स अफ हिन्दुइज्म, थापा, वि.सं.२०७८) ।
रुसी पुरातत्वविद् कुज्मिना (२००७ इ., ‘ओरिजिन अफ इन्डो इरानियन्स’) ले आर्यहरूको पुरातात्विक इतिहासमा के लेखेकी छिन् भने, इ.पू. १८औँ शताब्दीपछि आफ्ना अरू भारोपेली गोतीहरूलाई छाडेर आर्यहरू रुसको युरालको पूर्वतिर घुम्थे । त्यसमा पनि क्रमशः कजाखस्तानको पश्चिमतिरको भेगमा भएको आर्य जाति क्रमशः इरानी जातिमा विकसित भयो भने पूर्र्वितर भएको आर्य जाति ऋग्वेदका ऋचा लेख्ने अर्थात् वैदिक संस्कृति रच्ने भविष्यको भारतीय आर्यमा क्रमशः विकसित भयो ।त्यहाँबाट उनीहरू हिन्दुकुश पर्वतमाला हुँदै हिमालयको काखैकाख पूर्वतर्फ बसाइँसरेका थिए।ऐतिहासिक रूपमा खसहरू तिब्बतको पश्चिमी भाग (ङारी क्षेत्र), भारतको उत्तराखण्ड (कुमाउँ–गढवाल), हिमाचल प्रदेश, जम्मु–कश्मिर, नेपाल र वर्तमान समयमा भुटान तथा म्यानमारका केही भागहरूमा फैलिएका छन् ।
२. नेपाल, भारत र तिब्बतमा वर्तमान अवस्था
मुख्य गरी खस जातिहरु नेपाल, भारत, चीनको तिब्बत र अन्य देशहरुमा फैलिएको पाइन्छ । यस सन्दर्भमा विस्तृत रुपमा तल विमर्श गरिएको छ ।
नेपालः नेपालको आधुनिक पहिचान निर्माणमा खसहरूको ठूलो भूमिका छ। पृथ्वीनारायण शाहको एकीकरणपछि खस (क्षेत्री, बाहुन, ठकुरी, सार्की, कामी, दमाइ आदि) हरू देशैभरि फैलिए। नेपालको राजनीति, प्रशासन र सेनामा यो समुदायको बाहुल्यता रहे पनि जुम्ला र कर्णाली क्षेत्रका मूल खसहरू आज पनि आर्थिक र सामाजिक रूपमा पछाडि परेका छन् ।
भारतः भारतको उत्तराखण्ड (कुमाउँ र गढवाल) तथा हिमाचल प्रदेशमा ठूलो संख्यामा खसहरू बसोबास गर्छन् । त्यहाँ उनीहरूलाई राजपुत वा ब्राह्मणको दर्जा प्राप्त छ। दार्जिलिङ, सिक्किम र आसाममा रहेका नेपाली भाषीहरू पनि यही खस पहिचानसँग जोडिन्छन् ।
तिब्बतः ऐतिहासिक कालमा तिब्बतको ङारी क्षेत्र खस साम्राज्यको अधीनमा थियो र त्यहाँ खस संस्कृति र बौद्ध धर्मको मिश्रण थियो । वर्तमान समयमा तिब्बतमा खसहरूको स्वतन्त्र राजनीतिक पहिचान छैन, तर सांस्कृतिक अवशेषहरू सीमावर्ती क्षेत्रमा अझै देख्न सकिन्छ।
साथै वर्तमान समयमा विश्वव्यापीकरणका कारण रोजगारी तथा शिक्षा दीक्षाको लागि खसहरु युरोप, अमेरिका, क्यानडा, अफ्रिका, जापान, मलेसिया, सिंगापुर, थाइलैण्ड, खाडी मुलुक आदि देशमा बसोबास गरेको देखिन्छ ।
३. खस साम्राज्य र नेपालमा शासनकाल
नेपालको इतिहासमा खस समुदायको स्वर्ण युग ११औँ शताब्दीदेखि १४औँ शताब्दीसम्मको अवधिलाई मानिन्छ, जसलाई खस साम्राज्य वा कर्णाली साम्राज्य भनिन्छ।यस साम्राज्यको हिउँदे राजधानी सुर्खेतको दुल्लु र बर्खे राजधानी जुम्लाको सिंजा उपत्यका थियो ।राजा नागराजले ११औँ शताब्दी (सन् १०९१ को आसपास) मा जुम्लाको सिंजालाई केन्द्र बनाएर खस साम्राज्यको स्थापना गरेका थिए। यस साम्राज्यमा नागराज, चाप, क्राचल्ल, अशोक चल्ल, र प्रताप चल्ल जस्ता शक्तिशाली राजाहरूले शासन गरे । यो साम्राज्य पश्चिममा कुमाउँ–गढवाल, उत्तरमा तिब्बतको पुराङ (ङारी) क्षेत्र, पूर्वमा त्रिशूली नदी र दक्षिणमा कपिलवस्तुसम्म फैलिएको थियो । उनीहरूले तिब्बतमा समेत कैयौँ पटक आक्रमण गरी कर उठाएका थिए।
पतन र बाइसी–चौबीसी राज्यः १४औँ शताब्दीको अन्त्यतिर (सन् १३९३ को आसपास) राजा अभय मल्लको पालापछि यो विशाल साम्राज्य विघटन भयो र यही साम्राज्यको जगमा नेपालको पश्चिमी क्षेत्रमा बाइसी (२२) र चौबीसी (२४) राज्यहरूको उदय भयो । समग्रमा खसहरूले नेपालको भूमिमा सिधा रूपमा करिब ३०० वर्षभन्दा बढी एकछत्र विशाल साम्राज्य चलाए भने पछि बाइसी–चौबीसी राजाका रूपमा पृथ्वीनारायण शाहको एकीकरण कालसम्म शासन गरिरहे ।
४. खस संस्कृति र सभ्यता
नेपाली भाषा, संस्कृति र सभ्यताको जग खस साम्राज्यमै निर्माण भएको हो । वर्तमान नेपालको राष्ट्रिय भाषा ‘नेपाली भाषा’ को उत्पत्ति खस साम्राज्यको राजधानी जुम्लाको सिंजा उपत्यकाबाट भएको हो । यसलाई सुरुमा ‘खस कुरा’ वा ‘सिंजाली भाषा’ भनिन्थ्यो । नेपालको सबैभन्दा पुरानो नेपाली भाषाको शिलालेख (दामोदर शर्माको अभिलेख, इसं १३७४) खस साम्राज्यकै समयको हो ।खस समुदायको मौलिक धर्म ‘मष्टो धर्म’ वा ‘मष्टो संस्कृति’ हो । यो प्रकृति पूजक र पितृ पूजक धर्म हो । खसहरूले १२ भाइ मष्टो (जस्तैः दुधे मष्टो, दाह्रे मष्टो, बाह्र मष्टो आदि) र ९ बहिनी भवानीको पूजा गर्छन् । यस धर्ममा मन्दिर वा मूर्ति हुँदैन, बरु ‘धामी’ वा ‘डाङ्री’ को शरीरमा मष्टो देवता सवार हुने (देवता उत्रने) विश्वास गरिन्छ। पछि खसहरूले हिन्दू धर्म अँगाले पनि उनीहरूले आफ्नो मौलिक मष्टो पूजालाई त्यागेका छैनन् र आज पनि क्षेत्री–बाहुनहरूले कुलदेवताका रूपमा मष्टो पूजा गर्छन् । मष्टो पूजाको बारेमा तल विस्तृत व्याख्या गरिएको छ ।
५. मष्टो पूजाको विधि
मष्टो वा मष्टा खस आर्य (क्षेत्री, ब्राह्मण, ठकुरी आदि) जातिका प्राचीन तथा मौलिक कुलदेवता र प्रकृतिपूजक स्वरूप हुन् । खस संस्कृतिमा मष्टोका ‘१२ भाइ मष्टो’ र ‘नौ बहिनी भवानी’ (दुर्गा) प्रसिद्ध छन् । मष्टो दुई प्रकारका हुन्छन् दुधे मष्टो (बली नचल्ने, सात्त्विक) र दाह्रे वा रक्त मष्टो बोकाको बली चल्ने । मष्टो पूजा जसलाई देवाली, पैठ वा कुलपूजा पनि भनिन्छ । विशेष गरी वैशाख, साउन र मङ्सिरको पूर्णिमाका दिन धुमधामका साथ गरिन्छ ।
मष्टो पूजाको विधि र प्रक्रिया यस प्रकार छः
५.१ थान (मण्डु) को सफाइ र तयारीःमष्टो देवताको कुनै ठुलो मूर्ति हुँदैन; यिनी निराकार वा प्रतीकका रूपमा पुजिन्छन् । कुनै रुखको फेद, ओडार वा ढुङ्गाको शिला (थान÷गबीरो) मा त्रिशूल, घण्टी र ध्वजापताका चढाएर पूजास्थल बनाइन्छ । पूजाको दिन थानलाई गोबर–माटोले लिपेर एकदमै चोखो बनाइन्छ।
५.२ धामी र डाङ्ग्रीको भूमिकाःमष्टो पूजामा दुई पात्रको भूमिका मुख्य हुन्छ— धामी जसको शरीरमा देवता चढ्छन÷काँप्छन र डाङ्ग्री÷पुजारी जसले पूजाआजा गर्छन् र देवतासँग संवाद गर्छन् । धामी बस्ने व्यक्ति पूजाको केही दिन अघिदेखि नै चोखो नीतिमा बस्नुपर्छ ।
५.३ धामेलो (देवता जगाउने कार्य)ःपुजारीले तामाको कलश, धूप–अक्षता, धूपीको सुगन्धित धुवाँ (धूप) र ढयाङ्ग्रो वा घण्टीको तालमा मष्टोको मन्त्र÷थाली (स्तुति) गाउन थाल्छन् । बाजा र धूपको गन्धसँगै धामीको शरीर जुरुक्क उठेर काँप्न थाल्छ, जसलाई “धमेलो” वा देवता चढेको भनिन्छ । धामी चढेपछि उसले मष्टोका तर्फबाट भक्तहरूलाई आशिष् दिने र समाजको दुःख–कष्टबारे भविष्यवाणी गर्ने गर्दछ ।
५.४ बली तथा भोग अर्पण (मष्टोको प्रकृति अनुसार)ः दुधे मष्टो भए गाईको दूध, खिर, रोटी, फलफूल र पञ्चामृतको भोग लगाइन्छ। रक्त÷दाह्रे मष्टो भए चोखो बोका वा भेडाको बली चढाइन्छ । बली दिनुअघि पशुको टाउकोमा पानी छर्केर ‘पर्छिन’ (पशुले आफैँ जिउ हल्लाएर सहमति दिएको) गरिन्छ र त्यसपछि मात्र बली दिइन्छ।
५.५ देउडा र रमाइलोःपूजा सम्पन्न भएपछि सबै दाजुभाइ, कुलकुटुम्ब मिलेर थानको वरिपरि देउडा नाच खेल्ने, पुर्खाहरूको गाथा गाउने र बली वा प्रसादको सामूहिक भोज (प्रसाद ग्रहण) गर्ने गरिन्छ, जसले सामाजिक एकता र भाइचारा बढाउँछ।देउडा नाच र खस समुदायबीचको सम्बन्ध अत्यन्तै गहिरो र ऐतिहासिक छ। नेपालको सुदूरपश्चिम र कर्णाली प्रदेशमा उत्पत्ति भएको देउडा नाच खस संस्कृतिको मुटु मानिन्छ।
यसको विस्तृत विवरण तल प्रस्तुत गरिएको छः
५.५.१ देउडा नाचः देउडा सुदूरपश्चिम र कर्णाली क्षेत्रको सबैभन्दा लोकप्रिय र जीवन्त सांस्कृतिक लोकनृत्य एवं गीत हो । यस नाचमा सहभागीहरू (महिला तथा पुरुष) एकअर्काको हात समातेर वा काँधमा काँध मिलाएर एउटा ठूलो गोलो घेरा बनाउँछन् ।
नाच्ने तरिकाः घेरामा रहेका मानिसहरूले गीतको तालमा खुट्टा अगाडि र पछाडि सार्दै, शरीरलाई ढल्काउँदै सामूहिक रूपमा नृत्य गर्छन् । यसमा पाइला चाल्ने प्रक्रियालाई ‘डेढ कदम’ भनिन्छ, जसबाट यसको नाम ‘देउडा’ रहन गएको मानिन्छ।
देउडा गीत र सवाल–जवाफः देउडा केवल नाच मात्र होइन, यो एक प्रकारको काव्यिक संवाद पनि हो । यसमा दुई वा सोभन्दा बढी समूहबीच गीतका माध्यमबाट प्रश्न–उत्तर (सवाल–जवाफ) हुन्छ । यसलाई ‘न्याउल्या गीत’ पनि भनिन्छ। गीतमा मायाप्रेम, सुख–दुःख, सामाजिक विकृति, राजनीति, र इतिहासका प्रसङ्गहरू तत्कालीक रूपमा रचना गरेर गाइन्छ।यो नाच विशेष गरी गौरा पर्व, मेला, जात्रा, विवाह, र विभिन्न सांस्कृतिक उत्सवहरूमा अनिवार्य रूपमा खेलिन्छ।
५.५.२ खस समुदाय र देउडाको सम्बन्धः खस समुदाय नेपालको एक ऐतिहासिक र प्राचीन समुदाय हो, जसको उद्गम थलो कर्णाली र सुदूरपश्चिम क्षेत्र विशेष गरी प्राचीन खस साम्राज्य सिंजा उपत्यकालाई मानिन्छ। खस संस्कृति र देउडा नाचलाई निम्न बुँदाका आधारमा बुझ्न सकिन्छः
सांस्कृतिक पहिचानः देउडा नाच खस सभ्यताको मौलिक पहिचान हो । इतिहासकालदेखि नै खस जातिले आफ्नो मनोरञ्जन, सुख–दुःख साटासाट गर्ने र सामाजिक एकता कायम गर्ने माध्यमको रूपमा देउडालाई विकास गरे ।
भाषाको सम्बन्धः देउडा गीतमा प्रयोग हुने भाषा शुद्ध नेपाली भाषाको मातृ रूप खस भाषा वा डोटेली÷सिंजाली लवज हो । यसले प्राचीन खस भाषा र साहित्यलाई आजसम्म जीवित राख्न ठूलो योगदान पु¥याएको छ।
इतिहासको संवद्र्धनः प्राचीन समयमा खस राजाहरू र वीर योद्धाहरूको गाथा जस्तैः चैत र धमारी देउडाकै विभिन्न रूपहरूमा गाउने गरिन्थ्यो ।यसले खस इतिहासलाई पुस्तान्तरण गर्न मद्दत ग¥यो ।
सामाजिक सद्भावः खस समुदायमा देउडा नाचले समाजलाई जोड्ने काम गर्छ । मेला–जात्रामा सबै जातजाति, उमेर र वर्गका मानिसहरू एउटै घेरामा बाँधिएर देउडा खेल्ने भएकाले यसले खस समाजमा आपसी भ्रातृत्व र समानताको सन्देश दिन्छ।
सारमा, देउडा नाच खस समुदायको आत्मा हो । खस संस्कृति बिना देउडाको अस्तित्व कल्पना गर्न सकिँदैन र देउडा बिना खस सभ्यताको मौलिकता अपुरो रहन्छ।सिंजा साम्राज्य र मष्टो संस्कृति नेपाली इतिहासका यस्ता खम्बाहरू हुन् जसले आजको हाम्रो राष्ट्रिय पहिचान र नेपाली भाषाको जग निर्माण गरेका छन् ।
६. सिंजा साम्राज्य र यसका राजाहरूको इतिहास
सिंजा साम्राज्य र त्यहाँको मौलिक मष्टो परम्पराको विस्तृत विवरण तल प्रस्तुत गरिएको छः
सिंजा साम्राज्य (खस साम्राज्य) को स्थापना १२ औँ शताब्दीको सुरुतिर राजा नागराजले तिब्बतको खारी प्रदेशबाट आएर जुम्लाको सिंजा (सेजापुरी) लाई राजधानी बनाई गरेका थिए । यो साम्राज्य चौधौँ शताब्दीको अन्त्यसम्म (लगभग ३०० वर्ष) अत्यन्तै शक्तिशाली साम्राज्यका रूपमा रह्यो । यसको सिमाना पूर्वमा गण्डकी नदी, पश्चिममा कुमाऊँ–गढवाल (वर्तमान भारत), उत्तरमा तिब्बत र दक्षिणमा तराईसम्म फैलिएको थियो ।
सिंजा साम्राज्यका प्रमुख राजाहरू र उनीहरूको योगदान यस प्रकार छः
राजा नागराज (संस्थापक)ः यिनी खस साम्राज्यका आदिपुरुष हुन् । साना–साना राज्यहरूलाई एकीकृत गरेर उनले सिंजा साम्राज्यको जग बसाले ।
चाँप र क्राचल्लः नागराजपछिका शासकहरू जसले साम्राज्यको सैन्य शक्ति बलियो बनाए र
चल्ल (१३ औँ शताब्दी)ः यिनी अत्यन्तै पराक्रमी र धार्मिक राजा थिए । उनले आफ्नो सिमाना विस्तार गरे । अशोक साम्राज्यको सिमाना भारतको बोधगया र गढवालसम्म फैलाए। उनी बौद्ध धर्म र रैथाने मष्टो परम्परा दुवैलाई सम्मान रुपमा आदर गर्थे ।
जितारी मल्लः अशोक चल्लका छोरा जितारी मल्लले पहिलो पटक “मल्ल“ पदवी धारण गरे । उनले काठमाडौँ उपत्यकामा तीन पटक (वि.सं. १३४४ देखि १३४६ को आसपास) आक्रमण गरी कर असुल गरेका थिए।
रिपु मल्लः यिनी जुम्लाका प्रख्यात राजा थिए जसको उल्लेख लुम्बिनीको अशोक स्तम्भमा “ॐ मणि पद्मे हुँ” भनी कुँदिएको पाइन्छ, जसले उनको बौद्ध धर्मप्रतिको आस्था र काठमाडौँ–लुम्बिनीसम्मको पहुँच पुष्टि गर्छ ।
पृथ्वी मल्ल (स्वर्णकाल)ः वि.सं. १४१४ मा दैलेखको दुल्लुमा कीर्तिस्तम्भ स्थापना गर्ने राजा यिनै हुन् । उनको पालामा सिंजा साम्राज्य कला, भाषा र संस्कृतिमा शिखरमा पुगेको थियो । उनकै पालाका ताम्रपत्र र शिलालेखहरूमा नेपाली (खस) भाषाको सबैभन्दा पुरानो रूप फेला परेको छ ।
७.खस साम्राज्यको पतन
पृथ्वी मल्लपछि उनका उत्तराधिकारी राजा मलय वर्माको समयपछि साम्राज्य कमजोर हुँदै गयो । १५ औँ शताब्दीको सुरुवाततिर यो विशाल साम्राज्य टुक्रिएर बाइसे र चौबिसे राज्यहरू (जस्तै जुम्ला, जाजरकोट, डोटी, बजाङ आदि) मा विभाजित हुन पुग्यो । नेपालको इतिहासमा खस साम्राज्य (विशेष गरी कर्णाली क्षेत्रको जुम्ला–सिञ्जा साम्राज्य) को पतन हुनुमा कुनै एउटा मात्र कारण थिएन। तेह्रौँ र चौधौँ शताब्दीमा शक्तिशाली रहेको यो साम्राज्य चौधौँ शताब्दीको अन्त्यतिर र पन्ध्रौँ शताब्दीको सुरुवातमा विभिन्न आन्तरिक तथा बाह्य कारणहरूले गर्दा साना–साना राज्यहरू (२२ से राज्य) मा विभाजित भयो ।
खस साम्राज्यको पतन हुनुका मुख्य कारणहरूलाई निम्नानुसार व्याख्या गर्न सकिन्छः
७.१ उत्तराधिकारको विवाद र कमजोर केन्द्रीय सत्ताःसाम्राज्यका शक्तिशाली राजा पृथ्वी मल्लको कुनै वैध छोरा वा उत्तराधिकारी थिएनन् ।उनको मृत्युपछि दरबारभित्र सत्ताका लागि लुछाचुँडी सुरु भयो । भारदारहरू र राजाका आफन्तहरूबीच शक्ति हत्याउने खेल चल्दा केन्द्रीय सरकार एकदमै कमजोर बन्यो, जसको फाइदा उठाएर प्रान्तीय शासकहरू स्वतन्त्र हुन थाले ।
७.२ सामन्त र प्रान्तीय शासकहरूको महत्त्वाकांक्षाःखस साम्राज्य धेरै ठूलो क्षेत्रमा फैलिएको थियो र यसलाई चलाउन विभिन्न क्षेत्रमा ‘सामन्त’ वा स्थानीय शासकहरू नियुक्त गरिएका थिए। जब केन्द्रमा राजा कमजोर भए, तब डोटी, बझाङ, जुम्ला जस्ता क्षेत्रका शक्तिशाली सामन्तहरूले आफूलाई स्वतन्त्र राजा घोषणा गरे ।केन्द्रले उनीहरूलाई नियन्त्रणमा राख्न सकेन ।
७.३ भू–बनोट र भौगोलिक विकटताःखस साम्राज्यको भूगोल (पहाडी र हिमाली क्षेत्र) निकै विकट थियो । यातायात र सञ्चारको अभावका कारण सिञ्जा राजधानीबाट टाढा रहेका क्षेत्रहरूमाथि कडा निगरानी र नियन्त्रण राख्न गाह्रो थियो । विद्रोह हुँदा केन्द्रबाट तुरुन्तै सेना पठाउन भौगोलिक विकटताले बाधा पु¥यायो ।
७.४ आर्थिक सङ्कट र व्यापारमा ह्रासःखस साम्राज्यको आर्थिक शक्तिको मुख्य स्रोत तिब्बतसँगको व्यापार र कृषि थियो । आन्तरिक द्वन्द्व बढेपछि व्यापारिक मार्गहरू असुरक्षित भए। साथै, दक्षिणी क्षेत्रमा अन्य शक्तिशाली राज्यहरूको उदयले गर्दा खस साम्राज्यको व्यापारिक एकाधिकार कमजोर भयो, जसले गर्दा राज्यको आर्थिक अवस्था धराशायी बन्यो ।
७.५ धार्मिक र सांस्कृतिक परिवर्तनःसुरुका खस राजाहरू बौद्ध धर्म र स्थानीय मष्टो संस्कृतिका अनुयायी थिए। पछि भारतबाट मुसलमानहरूको आक्रमणका कारण भागेर आएका ब्राह्मण र राजपूतहरूको प्रभाव दरबारमा बढ्दै गयो । यसले गर्दा साम्राज्यमा हिन्दूकरण तीव्र भयो, जसले गर्दा पुरानो सामाजिक संरचना र सांस्कृतिक एकतामा खलबल पुग्यो र आन्तरिक असन्तोष बढायो ।
७.६ बाह्य दबाब र नयाँ राज्यहरूको उदयःत्यस समयमा खस साम्राज्यको छिमेकमा अन्य शक्तिहरू जस्तै पूर्वमा मगरात क्षेत्रका शासकहरू र दक्षिणका सेन वा मुसलमानी शक्तिहरू बलियो हुँदै गइरहेका थिए। बाह्य आक्रमण र दबाबलाई झेल्ने क्षमता कमजोर भइसकेको खस साम्राज्य अन्ततः जुम्ला, डोटी, जाजरकोट, बझाङ जस्ता बाइस वटा साना–साना राज्यहरूमा (बाइसी राज्य) टुक्रिएर समाप्त भयो ।
८. खस पहिचानका चुनौतीहरू
वर्तमान समयमा खस समुदायले आफ्नो मौलिक पहिचान जोगाउन निम्न चुनौतीहरूको सामना गरिरहेको छः
८.१ हिन्दूकरण र पहिचानको संकटः खसहरू मौलिक रूपमा मष्टो पुजक भए पनि लामो समयको हिन्दूकरणका कारण उनीहरूको मौलिक संस्कृति ओझेलमा परेको छ। धेरैजसो खसहरू आफूलाई विशुद्ध वैदिक हिन्दू मान्न थालेका छन्, जसले गर्दा उनीहरूको प्राचीन ‘खस’ पहिचान मेटिँदै गएको छ।
८.२ संवैधानिक परिभाषाको अस्पष्टताः नेपालको वर्तमान संविधानले ‘खस–आर्य’ (ब्राह्मण, क्षेत्री, ठकुरी, संन्यासी) भनी एउटै डालोमा राखेको छ। यसले गर्दा रैथाने खस संस्कृति र वैदिक आर्य संस्कृतिबीचको भिन्नता हराएको छ।
८.३ आर्थिक र क्षेत्रीय पिछडिएकोपनः खस सभ्यताको केन्द्र मानिने कर्णाली क्षेत्र आज नेपालको सबैभन्दा दुर्गम र गरिब क्षेत्र मानिन्छ। सभ्यताको जननी नै रोइरहेको अवस्था छ।
८.४ पश्चिमी संस्कृतिको प्रभावः आधुनिकता र विश्वव्यापीकरणका कारण युवा पुस्तामा मष्टो संस्कृति, देउडा नाच, र पुराना खस रीतिरिवाजप्रतिको आकर्षण घट्दै गएको छ । खासगरीकन पश्चिमा भाषा, भेष भूषा, खुवाई, शिक्षा र राजनीतिक प्रणाली समेत आयत भएकाले रैथाने संस्कृति र सभ्यतामा ठूलो चुनौती खडा भएको छ ।
९. सिकिएका पाठहरू
९.१ इतिहासको संरक्षण आवश्यकः कुनै पनि देशको भाषा र संस्कृतिको विकास कसरी भयो भन्ने कुरा इतिहासले सिकाउँछ। सिंजा उपत्यकाको संरक्षण नगर्दा नेपाली भाषाको उद्गम स्थल नै संकटमा परेको छ।
९.२ आन्तरिक विविधताको सम्मानः ‘खस’ र ‘आर्य’ दुई फरक ऐतिहासिक पृष्ठभूमि भएका समुदाय हुन् । राज्यले नीति निर्माण गर्दा ऐतिहासिक तथ्यलाई ध्यानमा राख्नुपर्छ ।
९.३ आर्थिक विकास बिना पहिचान अधुरोः भूगोल शक्तिशाली भएर मात्र हुँदैन, यदि त्यस क्षेत्रको आर्थिक र शैक्षिक विकास भएन भने गौरवमय इतिहास बोकेको वर्तमान कर्णाली क्षेत्र पनि पिछडिन पुग्ने रहेछ ।
१०. निष्कर्षतथा सुझाव
खस समुदाय नेपालको इतिहास, भाषा, र संस्कृतिको मियो हो । सिंजा उपत्यकाबाट सुरु भएको खस सभ्यताले आजको आधुनिक नेपाललाई नेपाली भाषा र संस्कृति जस्तो अमूल्य उपहार दिएको छ। मष्टो धर्म जस्तो मौलिक प्रकृतिपूजक संस्कृति बोकेको यो समुदायले आफ्नो ऐतिहासिक पहिचानलाई पुनः ब्युँताउनु आवश्यक छ। खस साम्राज्यको समृद्ध इतिहासलाई पाठ्यपुस्तकमा समेट्दै, कर्णाली र सिंजा क्षेत्रको पुरातात्विक संरक्षण गरेमा मात्र नेपालले आफ्नो गौरवमय इतिहासको कदर गरेको ठहरिनेछ।नेपाली भाषा, सभ्यता र खस संस्कृतिको उद्गमस्थल मानिने कर्णाली क्षेत्रको ऐतिहासिक सिंजा साम्राज्य र त्यहाँको मौलिक मष्टो परम्परा नेपाली इतिहासका अत्यन्तै गौरवशाली पाटाहरू हुन् ।
नेपालमा खस संस्कृति र भाषाको संरक्षण तथा संवद्र्धन गर्नका लागि निम्नलिखित उपायहरू अपनाउन सकिन्छः
खस भाषाको अध्ययन र अभिलेखिकरणः खस भाषा र यसका ऐतिहासिक रूपहरू तथा सिञ्जा क्षेत्रका पुराना शिलालेख, हस्तलिखित ग्रन्थ र मौखिक परम्पराहरूको खोजी गरी तिनको अभिलेख राख्नुपर्छ ।
पुस्तान्तरण र शिक्षाः खस समुदायका बालबालिका तथा युवाहरूलाई आफ्ना पैतृक चालचलन, लोकसंस्कृति, भेषभूषा र परम्परागत ज्ञान बारे जानकारी गराउनु पर्छ। विद्यालय तहमा स्थानीय पाठ्यक्रममार्फत यसको महत्त्व जोड्नुपर्छ ।
ऐतिहासिक सम्पदाहरूको संरक्षणः जुम्लाको सिञ्जालगायत खस राज्यसँग जोडिएका ऐतिहासिक ठाउँहरू, मन्दिर, पाटी, पौवा र पुरातात्विक वस्तुहरूको संरक्षण गर्न स्थानीय र केन्द्रीय सरकारले विशेष जोड दिनुपर्छ ।
सांस्कृतिक उत्सव र मेलाहरूको जगेर्नाः खस समुदायमा प्रचलित हुड्के नाच, देउडा, ख्याली, र विभिन्न चाडपर्वहरूलाई सामूहिक रूपमा मनाउने र नयाँ पुस्तामा हस्तान्तरण गर्ने वातावरण बनाउनुपर्छ ।
संस्थागत सहयोगः खस संस्कृति र भाषाको विकासका लागि अनुसन्धान केन्द्र, संग्रहालय र सांस्कृतिक प्रतिष्ठानहरू स्थापना गरी तिनलाई आर्थिक तथा नीतिगत सहयोग प्रदान गर्नुपर्छ ।
अन्त्यमा, खस भाषा, संस्कृति र सभ्यताको जगेर्ना गर्नको लागि जन चेतना जगाउन प्राथमिक्ता दिई तीनै तहका सरकारले आफ्नो नीति तथा कार्यक्रम र बजेटमा व्यवस्था गरी सो अनुरुप समुदायमा आधारित कार्यक्रम कार्यन्वयन गर्नु पर्छ । कुनै पनि जातिको भाषा र संस्कृति हराएमा पहिचान गुम्दछ । यदि मानिसको पहिचान गुम्यो भने रैथाने ज्ञानका साथै इतिहास नै लोपहुन्छ । आफ्नो इतिहास नभएको मानिसहरुको समूह वा जाति पलासको फुल सरह हुन्छ ।