Skip to main content

Gorkha Sansar

अष्ट्रेलियामा बाढीपहिरो पीडितका लागि आर्थिक सहयोग र शोकसभा

सिड्नी । नेपालमा हालै गएको विनाशकारी बाढीपहिरोबाट प्रभावित तथा पीडित परिवारको सहयोगका लागि अष्ट्रेलियामा रहेका नेपालीहरूले मानवीय सहयोगको हात अघि बढाएका छन्।

नेपाली अभिभावक समाज एलएमसी, क्याम्पबेलटाउन सिटी काउन्सिलले बाढीपहिरो पीडितका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।

समाजका अध्यक्ष प्रदीप डंगोलको अध्यक्षतामा सिड्नीको मिन्टोस्थित पेम्ब्रोक पार्कमा आयोजित कार्यक्रममा उक्त सहयोग घोषणा गरिएको हो। क्याम्पबेलटाउन सिटी काउन्सिलअन्तर्गतको पेम्ब्रोक पार्क मिन्टोमा अवस्थित रहेको काउन्सिलको आधिकारिक विवरणमा उल्लेख छ।

यसअघि पूर्वनिर्धारित सामूहिक तीज पर्वको कार्यक्रमलाई नेपालमा आएको विनाशकारी विपद्का कारण स्थगित गर्दै समाजले सोही अवसरलाई शोकसभा तथा राहत सहयोग कार्यक्रममा परिणत गरेको थियो।

कार्यक्रममा नेपालको राष्ट्रिय झण्डा झुकाएर बाढीपहिरो तथा विभिन्न दुर्घटनामा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको थियो। सहभागीहरूले मृतकहरूको सम्झनामा एक मिनेट मौनधारण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका थिए।

नेपालमा अगस्ट २६ मा आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति भएको छ। पछिल्लो विवरणअनुसार हजारौँ मानिसको मृत्यु तथा बेपत्ता भएको छ भने हजारौँ घर तथा महत्वपूर्ण पूर्वाधारमा क्षति पुगेको छ। प्रारम्भिक सरकारी आकलनअनुसार भौतिक क्षति मात्रै करिब ३८७.५ अर्ब रुपैयाँ पुगेको छ।

यस्तो दुःखद परिस्थितिमा प्रवासमा रहेका नेपाली समुदायबाट प्राप्त सहयोगले पीडितको राहत र पुनःस्थापनामा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। अष्ट्रेलिया सरकारसमेत नेपालमा जारी खोज तथा उद्धार र मानवीय सहायता अभियानमा सहयोग गरिरहेको छ।

कार्यक्रममा समाजका अध्यक्ष डंगोलले ‘जहाँ रहे पनि सामाजिक कार्य’ भन्ने मूल मर्मलाई आत्मसात् गर्दै विपद्को यस घडीमा आफूहरू सधैँ मातृभूमिको साथमा रहेको बताए।

नेपालमा परेको विपद्मा प्रवासबाट देखाइएको यो सहयोगले नेपाली जहाँ रहे पनि मातृभूमिप्रतिको माया, सामाजिक उत्तरदायित्व र मानवीय संवेदनालाई जीवन्त राखेको सन्देश दिएको छ। कार्यक्रमकाे सहजीकरण रवि कंडेलले गरेका थिए ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.