जनसम्पर्क समिति फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, नेतृत्व हस्तान्तरणसँगै एकता र लोकतान्त्रिक मूल्यको प्रतिबद्धता
पेरिस, फ्रान्स — नेपाली कांग्रेसनिकट नेपाली जनसम्पर्क समिति फ्रान्सले आफ्नो नेतृत्वमा नयाँ पुस्तालाई अघि सार्दै तेस्रो अधिवेशन सम्पन्न गरेको छ। ९ अगस्ट २०२६ मा पेरिसमा सम्पन्न अधिवेशनले शिवराम भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
प्रवासमा रहेका नेपालीलाई संगठित गर्दै लोकतान्त्रिक मूल्य–मान्यता र नेपाली समुदायको हकहितका विषयमा सक्रिय रहँदै आएको समितिको नयाँ नेतृत्व चयनलाई संस्थागत निरन्तरता र नेतृत्व हस्तान्तरणका रूपमा हेरिएको छ।
निवर्तमान सभापति सुधीर रानाको सभापतित्वमा सम्पन्न उद्घाटन सत्र संस्थापक सभापति निर्मल अर्यालको दीप प्रज्वलनबाट सुरु भएको थियो। कार्यक्रममा राष्ट्रिय गान प्रस्तुत गर्नुका साथै लोकतान्त्रिक आन्दोलनका ज्ञात–अज्ञात सहिद तथा संस्थापक संरक्षक स्वर्गीय किरणचन्द्र सिंह प्रधानको स्मृतिमा एक मिनेट मौनधारण गरिएको थियो।
अधिवेशनमा केन्द्रीय निर्वाचन प्रतिनिधि ध्रुवराज पौडेल प्रमुख अतिथि तथा केन्द्रीय पर्यवेक्षक अंकील ओली विशिष्ट अतिथिका रूपमा सहभागी थिए। निर्वाचन संयोजक सुवर्णविक्रम हमालको संयोजनमा निर्वाचन प्रक्रिया निष्पक्ष, पारदर्शी र संस्थाको विधानअनुसार सम्पन्न भएको आयोजकले जनाएको छ।
नयाँ नेतृत्वमा को–को?
सर्वसम्मत रूपमा चयन भएको नयाँ कार्यसमितिको नेतृत्व शिवराम भण्डारीले गर्नेछन्।
सभापति: शिवराम भण्डारी
वरिष्ठ उपसभापति: कृष्ण गुरुङ
उपसभापति: विकास के.सी.
उपसभापति: सुजन राज भट्ट
महामन्त्री: सुशिल भण्डारी
सहमहामन्त्री: विवेक धमला
कोषाध्यक्ष: दिपेन्द्र दाहाल
सदस्य: सचिन सेन
सदस्य: सागर गुरुङ
सदस्य: चिरञ्जीवी सापकोटा
नवनिर्वाचित सभापति भण्डारीले फ्रान्समा रहेका नेपालीहरूको एकता, हकहित र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणलाई प्राथमिकतामा राखेर नयाँ कार्यसमिति अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
दुई कार्यकालपछि सुधीर रानाको नेतृत्व हस्तान्तरण
अधिवेशनको अर्को महत्वपूर्ण पक्ष निवर्तमान सभापति सुधीर रानाले दुई कार्यकालपछि नेतृत्व हस्तान्तरण गर्नु रह्यो।
आफ्नो नेतृत्वकालका अनुभव साझा गर्दै रानाले नयाँ कार्यसमितिलाई आगामी दिनमा आवश्यक सहयोग र सहकार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गरे। उनको नेतृत्वपछि नयाँ टिम सर्वसम्मत चयन हुनुलाई समितिभित्रको सहमति र संस्थागत निरन्तरताको सकारात्मक संकेतका रूपमा हेरिएको छ।
कार्यक्रममा एनआरएनए फ्रान्सका पूर्वमहासचिव एवं जनसम्पर्क समितिका पूर्वमहामन्त्री कमलबिक्रम केसी, एनआरएनए फ्रान्सका पूर्वउपाध्यक्ष चेनभक्त ढुंगाना, वरिष्ठ पत्रकार दीपक चालिसे तथा संस्थापक कोषाध्यक्ष देविजङ्ग गुरुङ लगायतको उपस्थिति थियो।
संस्थापक नेतृत्वले प्रवासमा रहेका नेपालीहरूलाई एउटै छातामुनि संगठित गर्न जनसम्पर्क समितिको भूमिका महत्वपूर्ण रहेको बताउँदै नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिएको थियो।