शवसमेत प्राप्त नभएपछि प्रतीकात्मक दाहसंस्कार; आफन्तजन भावविह्वल, पालुङटार शोकमा
By : प्रेम कोइराला
पालुङटार, गोरखा — भदौ ५, २०८३
गोसाइँकुण्ड जाने क्रममा भएको दुर्घटनामा परी ज्यान गुमाएका तर हालसम्म शव प्राप्त हुन नसकेका पालुङटार क्षेत्रका १० जनाको हिन्दू संस्कारअनुसार कुशको शव बनाई अन्तिम संस्कार गरिएको छ।
आफ्ना स्नेही आफन्तको भौतिक शरीरसमेत देख्न र पाउन नसकेको अवस्थामा कुशबाट प्रतीकात्मक शव बनाएर अन्तिम बिदाइ गर्नुपर्दा परिवारजन तथा आफन्तहरू अत्यन्तै भावविह्वल बनेका थिए।
चेपेघाटस्थित मर्स्याङ्दी नदी र चेपे खोलाको दोभानमा आयोजित सामूहिक अन्तिम संस्कार कार्यक्रममा मृतकका आफन्त, स्थानीयवासी, जनप्रतिनिधि तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा पालुङटार नगरपालिकाका मेयरसमेत सहभागी भएका थिए।
शव प्राप्त हुन नसकेपछि हिन्दू धार्मिक परम्पराअनुसार मृतकको प्रतीकका रूपमा कुशबाट शव निर्माण गरी विधिपूर्वक अन्तिम दाहसंस्कार गरिएको हो। आफन्तजनले धार्मिक विधिअनुसार पूजा, तर्पणलगायतका संस्कार सम्पन्न गर्दै दिवंगत आत्माहरूको चिरशान्तिको कामना गरेका थिए।
अन्तिम संस्कार गरिएका व्यक्तिहरूको नामावली
१. दुर्गा देवी देवकोटा
२. तेजकुमारी देवकोटा
३. हरिप्रसाद देवकोटा
४. शारदा देवकोटा
५. सम्झना देवकोटा
६. डिलबहादुर खत्री
७. मुरली खत्री
८. गोमा पपने
भदौ १९ गते संस्कार गरिएका थप २ जना
९. माया देवकोटा
१०. कृष्णकला देवकोटा
शव प्राप्त हुन नसक्दा आफन्तले आफ्ना प्रियजनको अन्तिम अनुहारसमेत हेर्न पाएनन्। जन्मदेखि जोडिएको सम्बन्धलाई मृत्युमा समेत आफ्नै हातले अन्तिम बिदाइ गर्न नपाउनुको पीडा कति गहिरो हुन्छ, त्यो अहिले यी परिवारले भोगिरहेका छन्।
कुशको प्रतीक बनाएर अन्तिम संस्कार गर्नुपर्ने बाध्यताले परिवारजनलाई थप मर्माहत बनाएको छ। एकातिर आफन्त गुमाउनुको पीडा, अर्कोतिर शवसमेत प्राप्त हुन नसक्नुको पीडाले उनीहरूलाई भावनात्मक रूपमा विक्षिप्त बनाएको छ।
एकै घटनामा पालुङटार क्षेत्रका १० जना गाउँले गुमाउनु परेको यो दुःखद घटनाले सिङ्गो पालुङटारलाई नै शोक र स्तब्धतामा डुबाएको छ। गाउँका घर–घरमा शोक छाएको छ भने आफन्त, छिमेकी र शुभेच्छुकहरू मृतक परिवारको पीडामा साथ दिइरहेका छन्।
शोकमा डुबेका परिवारका लागि कुशको शव केवल धार्मिक संस्कार पूरा गर्ने माध्यम मात्र बनेन, आफ्ना प्रियजनलाई अन्तिमपटक सम्झेर बिदाइ गर्ने विवश प्रतीक पनि बन्यो।
चेपेघाटमा गरिएको सामूहिक अन्तिम संस्कारसँगै आफन्तहरूले दिवंगत आत्माहरूको शान्तिका लागि प्रार्थना गर्दै बेपत्ताहरूको खोजी, शव पहिचान तथा पीडित परिवारलाई आवश्यक सहयोग निरन्तर हुनुपर्ने मागसमेत गरेका छन्।
“शव पाएर अन्तिम संस्कार गर्न पाउनु पनि आफन्तका लागि ठूलो सांत्वना रहेछ। तर आफ्नै मान्छेको शवसमेत नपाएर कुशको शव बनाई बिदाइ गर्नुपर्ने पीडा शब्दमा व्यक्त गर्न सकिँदैन।”
पालुङटारका यी परिवारका आँखामा आँसु अझै रोकिएको छैन। समय बित्दै जाँदा घाउ पुरिन सक्छ, तर आफ्नै हातले छुन नपाएको प्रियजनको अन्तिम सम्झना भने सधैँ मनमा जीवित रहनेछ।