Skip to main content

Gorkha Sansar

कारभान अर्थतन्त्रको पतनः जनजीविकामा चुनौती -डा. नरविक्रम थापा

हिमालय क्षेत्रको कर्णालीमा ‘कारभान अर्थतन्त्र’ ले शताब्दीयौंदेखि यस क्षेत्रको जनजीवीका धान्दै आएको छ । यसले दक्षिणमा नेपालको तराई, भारतका मैदान र उत्तरमा तिब्बतबीचको व्यापारिक पुलको रूपमा काम गरेको छ । यो अर्थतन्त्रले कर्णालीको ऐतिहासिक समृद्धि, संस्कृति र जीवनशैलीलाई गहिरो प्रभाव पारेको छ । कर्णालीको खस साम्राज्यले मुख्यतया गाई, बाघ, ऊन, सुन आदि वस्तुहरूलाई तिब्बत र दक्षिणी नेपालमा बजारमा ल्याउने बाटो तयार पारेको थियो । व्यापारी वर्गले चौरी गाई, घोडा, खच्चर, भेडामार्फत सामान ढुवानी गर्ने व्यवस्था थियो । शुरुमा कर्णालीको आर्थिक उन्नति व्यापारको आधारमा भएको थियो । तर अब विश्वीकरणले नयाँ बाटो, आइटी, यान्त्रिक उपकरण आदिको प्रयोगले परम्परागत व्यापारलाई बिगारेको छ। लाभमा आर्थिक सुविधा छ तर चुनौतीमा जीवनयात्राको बाटो झन्डै गायब भएको छ। अहिले कर्णालीका जाड र खस समुदायको जनजीविका खतरामा छ। जाडो क्षेत्र (जडान) मा बसोबास गर्ने समुदायलाई जाड भनिन्छ । हिमाली क्षेत्र जीविकाका सीमित साधन स्रोत भएकाले जाड समुदायमा वहुपति प्रथा थियो । पुरुषहरु चौरी गोठ र व्यापार गर्न वर्षको ६ महिनासम्म घर बाहिर नै रहनु पर्ने अवस्था हुन्छ । तल्लो क्षेत्र (खसान) मा बसोबास गर्ने समुदायलाई खस भनिन्छ । यो क्षेत्रमा जनजीविकाका लागि अलि धेरै अवसर जस्तै सघन खेतीपाती, पशुपालन, अन्य व्यवसाय हुने भएकाले कृषि कर्म गर्न धेरै जनशक्ति आवश्यक्ता पर्ने हुनाले वहुपत्नी प्रथा प्रचलनमा थियो । यी दुबै समुदाय त्यस क्षेत्रका आदिवासी हुन् । अहिले आधुनिक संस्कृतिको प्रभावले जाड समुदायमा वहुपति र खस समुदायमा वहुपत्नी प्रथा लोप हुने अवस्थामा छ ।
कर्णाली र तिब्बत बीचको व्यापारको ऐतिहासिक महत्व
११ औं देखि १४ औं शताब्दीसम्म, कर्णाली क्षेत्रमा शक्तिशाली खस मल्ल साम्राज्यको उदय भएको थियो । यसको राजधानी जुम्लाको सिंजा उपत्यका थियो । यो साम्राज्यले नेपालको वर्तमान भाषा (खस÷नेपाली भाषाको उत्पत्ति), साहित्य र संस्कृतिको उद्गम स्थल मानिन्छ । खस साम्राज्यले उत्तरमा तिब्बतदेखि दक्षिणमा कपिलवस्तु र पश्चिममा गढवालसम्म आफ्नो सीमा विस्तार गरेको थियो, जसको मुख्य आधार नै यही कारभान व्यापार थियो ।
कर्णाली र तिब्बत बीचको व्यापार हिमाली नुन–ऊन व्यापार मार्गको एक महत्वपूर्ण हिस्सा थियो, जसलाई प्रायः “कारवां व्यापार” भनिन्छ। कर्णालीको खस साम्राज्य (११औं–१४औं शताब्दी)को पालादेखि नै तिब्बतसँग व्यापार स्थापित थियो । खस राजा नागराज, क्राचल्ल, अशोक चल्ल आदिको पालामा यो व्यापार फस्टाएको प्रमाण अभिलेखहरूमा पाइन्छ।
मुख्य व्यापारिक वस्तुहरूको बारेमा तल (तालिका १) मा प्रस्तुत गरिएको छ ।
तालिका १ः निर्यात र आयात गरिने वस्तु
कर्णालीबाट तिब्बत (निर्यात) तिब्बतबाट कर्णाली (आयात)
अन्न, चामल, दाल, घिउ, चिनी नुन, ऊन, च्याङ्ग्राको ऊन, खसी
हाते कलाकृति, गरगहना घोडा, याकको पुच्छर
सुती कपडा, मसला चिनियाँ रेशम, चियापात्र
फलामका उपकरण तामा, हस्तलिखित धर्मग्रन्थ
कर्णालीको कालीगण्डकी–पास र मुस्ताङ–कोरला नाका हुँदै व्यापारिक समूहहरू जान्थे । यसले सिमकोट, मुगु, डोल्पा, जुम्ला, हुम्ला जस्ता स्थानहरूलाई व्यापारिक केन्द्र बनायो । हरेक वर्ष हजारौं गोरु–भैंसी–चौंरी लिएर कारवांहरू जान्थे — जसलाई स्थानीय भाषामा “भोट व्यापार” भनिन्थ्यो । तिब्बती बौद्ध धर्म (लामावाद) कर्णाली क्षेत्रमा यही व्यापार मार्ग हुँदै भित्रियो । भोटे भाषा, तिब्बती लिपि, माने ढुङ्गा, चोर्तेन (स्तूप) संस्कृतिको विकास भयो । दुवै समुदायबीच जाड र खस जातिले मध्यस्थ व्यापारीको भूमिका खेलेका थिए ।
ताक्लाकोट मार्ग सिक्किम र कुमाउँ–गढवालभन्दा छोटो र सुरक्षित थियो । तिब्बतको मानसरोवर र कैलाश जाने तीर्थयात्रीहरू पनि यही व्यापारिक मार्ग प्रयोग गर्थे । खस साम्राज्यले व्यापारलाई करको मुख्य स्रोत बनायो । टोलकर (शुल्क) सङ्कलन गरी प्रशासन चलाइयो । तिब्बतका ल्हासा र शिगात्सेसम्म व्यापारिक सम्बन्ध पुगेको थियो । कर्णाली–तिब्बत व्यापार हिमाली जीवनको मेरुदण्ड थियो । यसले खस साम्राज्यको आर्थिक उन्नति, सांस्कृतिक विविधता र कर्णालीको समृद्धिलाई सहयोग गरेको पाइन्छ । व्यापार मार्गले हिमाल, पहाड र तराईलाई एउटै आर्थिक सञ्जालमा जोडेको थियो ।
कारभान अर्थतन्त्रको सिद्धान्त
तिब्बतको पठारमा नुन र ऊन प्रचुर मात्रामा थियो तर अन्नको अभाव थियो ।यसको विपरीत, कर्णाली र दक्षिणका क्षेत्रमा अन्न उत्पादन हुन्थ्यो । यस अर्थतन्त्रको सिद्धान्त वस्तु विनिमयमा आधारित थियो । भोट (तिब्बत) का बासिन्दाहरू भेडा, च्याङ्ग्रा र याकको ढाडमा नुन र ऊन बोकेर दक्षिण झर्थे र त्यसको बदलामा चामल, गहुँ, घिउ र कपडाहरू लिएर जान्थे । व्यापारीहरू जाडोको समयमा तराईका समथर भू–भागमा झर्थे । उनीहरूले भेडाको ऊनबाट राडी, पाखी जस्ता कपडा बुनेर तराईका बासिन्दालाई बेच्थे र त्यहाँबाट चामल, नुन तथा दैनिक उपभोग्य वस्तुहरू फेरि माथि (हिमालय) तिर लैजान्थे ।
कर्णाली क्षेत्रमा वस्तु विनिमय प्रणालीको अर्थ कर्णाली नेपालको एउटा दुर्गम र विकट क्षेत्र हो जहाँ सडक र आधुनिक मुद्राको पहुँच पुग्नुभन्दा धेरै वर्ष अघिदेखि वस्तु विनिमय प्रणाली चल्दै आएको थियो । यो एक यस्तो व्यवस्था हो जहाँ पैसाको प्रयोग बिना नै एउटा सामान दिएर अर्को सामान साटिन्छ । समुदाय स्तरमा पनि मानिसहरूले आफूले उत्पादन गरेको घिउ, सिमी, जडीबुटी, ऊनबाट बनेका राडी–पाखी जस्ता सामानहरूलाई नुन, तेल, वा सुती कपडा जस्ता दैनिक उपभोग्य वस्तुहरूसँग साटासाट गर्थे । यो प्रणालीले समुदायका मानिसहरू बीचको सम्बन्धलाई बलियो बनाउँथ्यो र गाउँलाई बाहिरी बजारमा पूर्ण निर्भर नभई आत्मनिर्भर बनाउन मद्दत गथ्र्यो । यद्यपि, सडक सञ्जालको विस्तार र आधुनिक अर्थतन्त्रको विकाससँगै कर्णालीमा वस्तु विनिमयको चलन घट्दै गएको छ र पैसाको प्रयोग बढ्न थालेको छ ।
कर्णालीमा प्रचलित कारभान अर्थतन्त्र भन्नाले यस क्षेत्रको कठिन भौगोलिक बनावट र सडक सञ्जाल नपुगेका दुर्गम क्षेत्रहरूमा खच्चर, भेडा, चौंरी वा मानिसको समूह (कारभान) मार्फत गरिने परम्परागत व्यापार, ढुवानी र जीविकोपार्जनको व्यवस्थालाई बुझाउँछ ।कर्णाली प्रदेशका धेरैजसो दुर्गम जिल्लाहरू (हुम्ला, मुगु, डोल्पा) मा सडक सञ्जाल नहुँदा दैनिक उपभोग्य वस्तु र अन्य सामान ढुवानी गर्न परम्परागत कारभानको प्रयोग गरिन्छ । अर्थतन्त्रमा व्यापारीहरूको समूहले भेडा, खच्चर र चौंरीहरूमा नुन, चामल, कपडा, जडीबुटी, र खाद्यान्न बोकाएर एक ठाउँबाट अर्को ठाउँमा वा तिब्बतसम्म पु¥याएर वस्तु विनिमय तथा व्यापार गर्छन् । जाडो महिनामा अत्यधिक चिसोका कारण हिमालबाट मानिसहरू बेंसीतिर झर्ने र गर्मीमा लेकाली घाँसे मैदानतिर जाने गर्छन् । यो आवतजावतसँगै उनीहरूको आर्थिक गतिविधि, पशुपालन र व्यापार पनि चल्ने गर्दछ । सडक नभएका स्थानहरूमा खाद्यान्न अभाव टार्न र स्थानीय उत्पादन (यार्सागुम्बा, ऊन, जडीबुटी) बेच्न यो अर्थतन्त्रको मुख्य माध्यम हो । आधुनिक सडकहरूको विस्तारसँगै यो परम्परागत कारभान अर्थतन्त्र बिस्तारै घट्दै गएको छ, तर अझै पनि हुम्ला र डोल्पा जस्ता दुर्गम क्षेत्रहरूमा यसको महत्व छ ।
विगतमा कर्णालीको समृद्धि
सडक सञ्जालको विकास नभएका कारण कर्णाली क्षेत्र कारभान व्यापारको प्रमुख केन्द्र रह्यो । त्यतिबेला कर्णाली क्षेत्र यसै व्यापारका कारण आर्थिक रूपमा आत्मनिर्भर र समृद्ध थियो । यस मार्ग भएर गरिने नुन र अन्नको विनिमयले यहाँका बासिन्दाको खाद्यान्न संकट टार्ने काम गथ्र्यो । कर्णाली क्षेत्रमा परम्परागत नुन तथा खाद्यान्नको कारभान अर्थतन्त्र कुनै एक निश्चित मितिमा अन्त्य भएको होइन । यो विस्तारै सडक सञ्जालको विकास र चीनसँगका नयाँ व्यापारिक नियमहरूका कारण विस्थापित हुँदै गयो । सन् २००७ मा सुर्खेतदेखि जुम्लासम्मको कर्णाली राजमार्ग संचालनमा आएपछि यसले पहिलो पटक भारी यातायातको पहुँच पुर्यायो । त्यसपछिका वर्षहरूमा, विशेषगरी सन् २०१९ देखि २०२५ को बीचमा कर्णाली करिडोर र हुम्लाको हिल्सासम्म बाटो खुलेपछि खच्चर र पैदल कारभानको पूर्ण रूपमा अन्त्य भयो । समय र परिस्थिति अनुसार राज्य र स्थानीय जनसमुदायले आर्थिक तथा सामाजिक रुपान्तरण गर्न आर्थिक क्रियाकलाप अगाल्न नसक्दा विगतको समृद्धि अहिले गरिबीमा परिणत भएको छ ।
विश्वव्यापीकरणको प्रभाव
विश्वव्यापीकरण र आधुनिकरणको आगमनसँगै कारभान अर्थतन्त्रमा गम्भीर परिवर्तन आयो । कोहलपुर–बनबासा र अन्य राजमार्गहरूको निर्माणले भारतीय आयोडिनयुक्त नुन सहज रूपमा गाउँ–गाउँमा पुग्न थाल्यो । सन् १९५० को दशकपछि तिब्बतमा चीनको उपस्थिति र नयाँ सीमा नियमहरू लागू भए। तिब्बतमा सडक बनेपछि चीनले सहज रूपमा चामल र पीठो पुर्याउन थाल्यो ।यसले गर्दा नेपालको चामल तिब्बत पुर्याउने परम्परागत व्यापार लगभग समाप्त भयो । विश्वीकरणले कर्णालीको सदियौं पुरानो कारवान व्यापार प्रणालीमा गहिरो र बहुआयामिक असर पारेको छ। भौतिक पूर्वाधारको विकासको कारणले परम्परागत व्यापारको पतन भएको पाइन्छ ।
परम्परागत र अहिले के कस्तो फरक देखिएको छ यस्को बारेमा तल (तालिका २) मा प्रस्तुत गरिएको छ ।
तालिका २ः परम्परागत र वर्तमान अवस्थाको तुलना
पहिले (परम्परागत) अहिले (विश्वीकरणपछि)
गोरु–चौंरी–खच्चडमा सामान ढुवानी सडक–गाडी र हवाई मार्ग
महिनौं लाग्ने व्यापारिक यात्रा दिन–सातामै सामान पुर्याउन सकिने
हिमाली नाका(कोरला, पुराङ) हुँदै व्यापार चीन–नेपाल सीमाका ठूला नाका (रसुवागढी, तातोपानी)

सडक सञ्जालको विस्तारले कारवां प्रणालीलाई नै निर्जीव बनाएको छ। आजभोलि कसैले पनि याक नाकको बथान लिएर तिब्बत जानुपर्दैन । ट्रकले एकैपल्ट ठूलो परिमाणको सामान ओसार्छ । चीनमा भएको औद्योगिक क्रान्तिले सस्ता उपभोग्य वस्तुहरू (प्लास्टिक, कपडा, भाँडाकुँडा) कर्णाली भित्र्यायो । यसले स्थानीय हस्तकला र उद्योगलाई ध्वस्त पार्यो । पहिले नुन तिब्बतबाट ल्याइन्थ्यो, तर अहिले भारतीय नुन (टाटा, आइओसी) सस्तो र सहज उपलब्ध भएपछि तिब्बतको नुन व्यापार समाप्त भयो ।बाहिरी सहरबाट चामल आउन थालेपछि स्थानीय कृषि र अन्न व्यापारमा गिरावट आयो ।सन् १९६२ को चीन–भारत युद्धपछि तिब्बतसँगको व्यापारमा कडाइ गरियो । सन् २०१५ को नाकाबन्दीपछि चीन–नेपाल सम्बन्ध नजिकियो, तर मध्यवर्ती व्यापारी (जाड समुदाय) को भूमिका घट्यो । औपचारिक व्यापार सम्झौता र सीमाशुल्क प्रणालीले अनौपचारिक कारवान व्यापारलाई कानुनी रूपमा जटिल बनायो ।
उपभोग्य वस्तुहरूको पहुँच बढ्यो । गाउँ–गाउँमा प्लास्टिक, लत्ताकपडा, मोबाइल पुग्यो । शिक्षा, स्वास्थ्य र सूचनाको पहुँच विस्तार भयो । परम्परागत व्यापारी समुदाय (खस, जाड, भोटे) को आय स्रोत सुक्यो । कारवान व्यापारमा संलग्न बथान (चौंरी, गोरु) पाल्ने परम्परा घट्यो । पशुपालन व्यावसायिक रूपमा नाफारहित भयो । मुद्रा अर्थतन्त्रमा आएको परिवर्तनले वस्तु विनिमय प्रणाली समाप्त भयो । भोटे भाषा र खस भाषाको प्रयोग व्यापारमा घट्यो । नेपाली र अंग्रेजी भाषा हाबी भयो । परम्परागत व्यापारसँग जोडिएका पर्व, मेला, धार्मिक अनुष्ठान (जस्तैः व्यापारीको सुरक्षाका लागि गरिने पूजा) हराउँदै गए । “भोट व्यापार” भन्ने सामाजिक पहिचान नै संकटमा पर्यो । मोटरगाडीको चाप बढ्दा हिमाली माटो क्षरण, वायु प्रदूषण र सडक निर्माणले वनजंगलमा नकारात्मक असर परेको छ । परम्परागत कारवांनले वातावरणमा क्षति पुर्याउँदैनथ्यो । तर विश्वीकरणको हालको मोडेल वातावरणमैत्री नभएकाले दिगो छैन ।
कारभान अर्थतन्त्रका लाभ र हानी
बाटो नभएका विकट क्षेत्रहरूमा वर्षभरिको खाद्यान्न र नुनको जोहो हुन्थ्यो । बाह्य बजारमा निर्भर नभई स्थानीय उत्पादन र स्रोतको सही उपयोग हुन्थ्यो । व्यापारीहरूको निरन्तर यात्राले विभिन्न समुदायबीचको सांस्कृतिक तथा सामाजिक सम्बन्ध बलियो बनाउँथ्यो ।तर यसका केही हानी पनि थिए । हिउँ पहिरो, अक्सिजनको कमी, चिसो र भिर–पाखाको बाटोका कारण व्यापारीले ठूलो मानवीय र भौतिक क्षति व्यहोर्नुपथ्र्यो । व्यापारको लागि महिनौं हिंड्नुपथ्र्यो जसले गर्दा अन्य आर्थिक वा शैक्षिक क्रियाकलाप प्रभावित हुन्थे ।
जीविकोपार्जनमा संकट
कारभान व्यापार बन्द भएपछि कर्णालीका हिमाली (जाड, भोटे, लामा) र खस समुदायको जीवनमा गम्भीर संकट देखा पर्यो । परम्परागत व्यापारबाट जीविकोपार्जन गर्ने परिवारहरू बेरोजगार भए । स्थानीय उत्पादनमा भन्दा बाहिरी चामल र वस्तुहरूमा निर्भरता बढ्यो, जसले गर्दा कर्णाली क्षेत्र खाद्यान्न संकटको चपेटामा पर्यो ।
जाड (भोटे) र खस समुदाय कर्णालीको परम्परागत कारवां व्यापारका मुख्य आधारस्तम्भ थिए। यी दुई समुदायको जीवनशैली, संस्कृति र जीविकोपार्जन कारवान व्यापारसँग यति गहिरो रूपमा गाँसिएको थियो कि व्यापारको पतनले तिनीहरूको अस्तित्वमै प्रश्नचिह्न खडा भएको छ।जाड समुदाय (भोटे) हिमाली क्षेत्र (डोल्पा, मुगु, हुम्ला) मा बसोबास गर्ने तिब्बती मूलका व्यापारी हुन् । तिब्बतको मौसम, भाषा, बाटो घाटीको राम्रो जानकार उनीहरू नै मध्यस्थ व्यापारी थिए। चौंरी, याक, खच्चड पालेर भारी ढुवानी गर्थे । तिब्बत र कर्णालीबीचको नुन–अन्न विनिमय उनीहरूकै हातमा थियो ।
खस समुदाय कर्णालीको उपत्यका (जुम्ला, सिमकोट, कालिकोट) मा बसोबास गर्ने क्षत्रिय–ब्राह्मण–शिल्पकार मिश्रित समुदाय हो । व्यापारिक सामानको ठेक्का, जोहो, वितरण र स्थानीय बजार व्यवस्थापन उनीहरूकै जिम्मा थियो । खस राजाको प्रशासनमा व्यापार कर सङ्कलन गर्ने भूमिका पनि उनीहरूले नै खेल्ने गर्थे ।
जीविकोपार्जनमा परेको प्रभावको बारेमा तल (तालिका ३) मा प्रस्तुत गरिएको छः
तालिका ३ः परम्परागत अवस्था र विश्वीकरणपछि जनजीविका परेको प्रभाव
पक्ष परम्परागत अवस्था विश्वीकरणपछि
आय स्रोत व्यापार नै मुख्य आम्दानी व्यापार ठप्प, वैकल्पिक रोजगार नभएको
पशुपालन चौंरी–याक–भेडाको बथान—यातायात र दूध÷मासुको स्रोत बथान घट्दै, चरन क्षेत्र संकुचित
वस्तु विनिमय नुन ÷ अन्न ÷ ऊनको सीधा साटासाट मुद्रा अर्थतन्त्रमा परिवर्तन, उनीहरूसँग पुँजी नभएको
सामाजिक प्रतिष्ठा व्यापारी वर्ग उच्च सामाजिक स्थानमा अहिले युवा पुस्ता यो पेशालाई “पुरानो र हीन” ठान्न थालेको

जाड समुदायः तिब्बती भाषा, गोम्पा (मठ), माने ढुङ्गा, लोसार पर्व — यी सबै व्यापारसँगै फस्टाएका थिए। व्यापार घटेपछि धार्मिक आयोजन, मेला र गोम्पाको आर्थिक आधार नै खस्कियो । धेरै जाड परिवार भारत (लद्दाख, सिक्किम) वा काठमाडौं पलायन भइरहेका छन् ।
खस समुदायः खस पहिचान (खस भाषा — आजको नेपाली भाषाको जननी) र व्यापारिक नेतृत्वसँग गाँसिएको थियो । व्यापारको पतनपछि खस पहिचान कमजोर हुँदै गयो । आज धेरै खसले आफूलाई “पहाडी ब्राह्मण÷क्षेत्री” मात्र ठान्छन् । कर्णालीबाट वार्षिक हजारौं युवा भारत, खाडी र काठमाडौं जान बाध्य छन् । चौंरी र याक पाल्ने परम्परा हराउँदै गएको छ । वैकल्पिक आय नभएपछि बुढाबुढीहरु मात्र बाँकी रहने अवस्था आएको छ ।
पहिले व्यापारबाट राम्रो आम्दानी थियो, अहिले दैनिक ज्याला–मजदुरी र भारतमा मजदुरी गर्न बाध्य हुनु परेको छ । व्यापार घटेपछि धेरैले सहुलियत ऋण तिर्न नसकेर गरिबीको चक्रमा फसे । डोल्पाको भिजेर र डुनै गाउँ पहिले व्यापारको धनी केन्द्र थिए। जाड व्यापारीहरू ल्हासा, शिगात्से र मानसरोवरसम्म जान्थे । अहिले चीनले तिब्बतको व्यापारमा कडाइ गरेपछि ठप्प हुने अवस्था छ । धेरैले होटल, पर्यटन व्यवसायमा हात हाले । युवा पुस्ता मोटरसाइकल मर्मत, प्लम्बिङ र तालिमयुक्त पेशा तिर लागेका छन् तर पूर्वाधार अभावले समस्या देखिएको छ ।
चुनौतिहरू
सडक सञ्जालको अभावमा हिमाली जिल्ला (जस्तैः हुम्ला) मा दैनिक उपभोग्य वस्तुहरूको मूल्य अत्यधिक महँगो छ। आधुनिक विश्व अर्थतन्त्रसँग प्रतिस्पर्धा गर्न स्थानीय उत्पादनले नसक्नु नै अहिले ठूलो चुनौती रहेको छ । युवा पुस्ताको बढ्दो बसाइसराइ र परम्परागत सीप हस्तान्तरणमा कमी आएको छ ।
सिकाइ
परम्परागत व्यापार र विनिमयलाई पूर्णतया त्यागेर बाह्य खाद्यान्न (चामल) मा निर्भर हुनु दिगो समाधान होइन। राज्यले कर्णालीको स्थानीय उत्पादन (जस्तैः फापर, कोदो, जौ, स्याउ र जडिबुटी) लाई प्रोत्साहन गर्नुपर्छ । चीन र तिब्बतसँगका परम्परागत सीमा नाकाहरूलाई व्यवस्थित र खुला राख्न सकेमा कर्णालीले आफ्नो पुरानो व्यापारिक महत्त्व र समृद्धि पुनः प्राप्त गर्न सक्छ।दुवै समुदाय लगभग एकल व्यापारमा निर्भर थिए, तर विकल्पको अभावले संकट गहिरियो । हिमाली बाटो, मौसम पूर्वानुमान, पशुपालन, जडिबुटी आदि ज्ञान युनेस्कोस्तरीय सम्पदा हो तर अभिलेखीकरण नहुँदा हराउँदै जान थालेको देखिन्छ । न त पुरानो व्यापारको पुनस्र्थापनाको योजना, न त नयाँ पेशाको प्रशिक्षण र पुँजीको व्यवस्था छ । पहिचान र अर्थतन्त्र एक अर्काका पुरक हुन् यसलाई अलग गर्न सकिँदैन । जाड र खस संस्कृति जीवित रहन आर्थिक आधार चाहिन्छ — व्यापार नभएपछि संस्कृति पनि ओइलायो । जाड र खास समुदायको जीविकोपार्जन कारवान व्यापारको उत्थानमा फस्टाएको थियो र पतनमा चकनाचुर भएको छ।
निष्कर्ष
कर्णाली क्षेत्रको कारभान अर्थतन्त्र केवल नुन र चामलको व्यापार मात्र थिएन; यो यस क्षेत्रको सिङ्गो सभ्यता, संस्कृति र जीवन पद्धति थियो । खस साम्राज्यको ऐतिहासिक पृष्ठभूमिसँग जोडिएको यो अर्थतन्त्रले प्राचीन कालमा कर्णालीलाई निकै सम्पन्न बनाएको थियो । विश्वव्यापीकरण र सडक विस्तारले यस परम्परागत व्यापारलाई धिमा पारे पनि, कर्णालीको समृद्धि र जीविकोपार्जनका लागि यसको अवमूल्यन गर्न सकिँदैन । कर्णालीको दिगो विकासका लागि परम्परागत कारभान मार्गहरूको आधुनिकीकरण, स्थानीय कृषि र पर्यटनको प्रवद्र्धन गर्न उत्तिकै आवश्यक छ। विश्वीकरणले कर्णालीको परम्परागत व्यापारलाई लगभग निस्तेज पारिसकेको छ। सडक, मोबाइल र आधुनिक सुविधा आएको छ तर यसको मूल्य पुस्तौंदेखि चलिआएको व्यापारिक परम्परा, जीविकोपार्जन र सांस्कृतिक पहिचानको बलिदानको रूपमा तिरिएको छ। कर्णालीले विश्वीकरणको लाभ पनि उत्तिकै भोगेको छ, तर हानीको पुनर्भरणको कुनै संयन्त्र अझै बनिसकेको छैन । स्थानीय ज्ञान, विविध संस्कृति र सभ्यताको संरक्षण र अन्तराष्ट्रिय व्यापार सम्झौतामा समावेश गर्ने आवश्यकता छ।समय र परिस्थिति अनुसार राज्य र स्थानीय जनसमुदायले आर्थिक तथा सामाजिक रुपान्तरण गर्न उपयुक्त आर्थिक क्रियाकलाप अगाल्न नसक्दा विगतको समृद्धि अहिले गरिबीमा परिणत भएको छ । नेपालको समस्त हिमाली क्षेत्र तथा कर्णाली प्रदेशमा पशुपालन, फलफुल (स्याउ, ओखर, केशर आदि), तरकारी खेती, जडीवुटी उत्पादन तथा प्रशोधन, पर्यटन, खानी उत्खनन्, तिब्बतसंग व्यापारका नविन संभावनाहरु भएकाले जनजीविका र रोजगारीका अवसर सिर्जना गर्न सकिन्छ । यसतर्फ तीनै तहका सरकारले अब गंभीरतापूर्वक ध्यान दिने हो की ?अस्तु ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.