Skip to main content

Gorkha Sansar

आन्तरिक अनुशासन उल्लंघन र गुटबन्दीविरुद्ध एकजुट हुन नेकपा (बहुमत) को आह्वान

डम्मरकुमारी शाही / काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले पार्टीभित्र देखिएका विसर्जनवादी, अराजक र अनुशासनहीन गतिविधिको भर्त्सना गर्दै सम्पूर्ण पार्टी सदस्य तथा क्रान्तिकारीहरूलाई एकताबद्ध हुन आह्वान गरेको छ । पार्टीका अध्यक्ष कञ्चनद्वारा जारी प्रेस वक्तव्यमा राष्ट्रिय विपत्तिको समयमा राहत र उद्धारलाई छाडेर पार्टी फुटाउने षड्यन्त्रमा लागेका तत्त्वहरूबाट भ्रममा नपर्न अपिल गरिएको छ ।

वक्तव्यअनुसार पार्टीले नेपाली र अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका दार्शनिक, वैचारिक, राजनीतिक तथा संगठनात्मक विषयमा गहन बहस चलाउँदै सत्यको अन्वेषणका लागि राष्ट्रिय सम्मेलनको आयोजना गरेको थियो । तर, सम्मेलनको तयारीका क्रममा २१ औँ शताब्दीको क्रान्ति र प्रतिक्रान्तिका गम्भीर वैचारिक प्रश्नहरूलाई तोडमरोड गरी प्राविधिक बहसमा सीमित गर्ने र चरम महत्त्वाकाङ्क्षाका कारण पार्टी विघटनतर्फ धकेल्ने विसर्जनवादी सोच केही नेताहरूमा देखिएको उल्लेख छ ।

वैज्ञानिक समाजवादी क्रान्तिका लागि तार्किक वैचारिक बहस अनिवार्य रहेको स्पष्ट पार्दै वक्तव्यमा भनिएको छ, “विगतका अनुभव र दशवर्षे जनयुद्धले देखाएको छ कि सही कार्यदिशा र वैचारिक स्पष्टताबिना केवल आकाङ्क्षाले मात्र क्रान्ति सम्भव छैन । बहसलाई तार्किक निष्कर्षमा नपुर्‍याई फुट र विभाजनको शृङ्खला रोक्न सकिँदैन ।”

हालै रसुवाको भोटेकोशीमा आएको भीषण बाढीका कारण जनधनको ठूलो क्षति भएपछि पार्टी केन्द्रीय कार्यालयले राष्ट्रिय सम्मेलनसहितका सम्पूर्ण आन्तरिक कार्यक्रम स्थगन गरी उद्धार र राहतमा जुट्न सिंगो पार्टी पङ्क्तिलाई निर्देशन दिएको थियो ।

तर, उक्त सार्वजनिक आह्वान र निर्णयको विपरीत केही गैरजिम्मेवार सदस्यहरूले सर्वहारावर्गीय जनवादी केन्द्रीयता र अनुशासनको धज्जी उडाउँदै गुटबन्दी गरेको वक्तव्यमा उल्लेख छ । राष्ट्रिय विपत्तिकै बीच छुट्टै भेला गर्ने, नेतृत्वविरुद्ध कपोलकल्पित गालीगलौज गर्ने, पार्टीको आधिकारिक लेटरप्याड दुरुपयोग गरी “अध्यक्षलाई हटाइएको” भन्ने भ्रमपूर्ण वक्तव्यबाजी गर्ने जस्ता बुर्जुवा बहुलवादी र षड्यन्त्रकारी रवैया देखाइएको पार्टीले जनाएको छ ।

आन्दोलनमा बारम्बार देखिने निम्नपूँजीवादी व्यवहारवाद, दलाल पुँजीवादी अराजकतावाद, दक्षिणपन्थी अवसरवाद र पदलोलुपता जस्ता प्रवृत्ति पार्टीभित्र देखा पर्नु श्रमजीवी वर्ग र सिंगो देशका लागि दु:खद विषय भएको वक्तव्यमा दर्शाइएको छ ।

यी सम्पूर्ण भ्रम र षड्यन्त्रप्रति सचेत रहन आग्रह गर्दै अध्यक्ष कञ्चनले क्षणिक भावावेश, उत्तेजना र आरोप-प्रत्यारोपबाट मुक्त भई आ-आफ्नो जिम्मेवारीमा फर्कन नेता-कार्यकर्ताहरूलाई आग्रह गर्नुभएको छ ।

शहीदको रगत, बेपत्ता र घाइते योद्धाहरूको त्यागलाई स्मरण गर्दै वक्तव्यको अन्त्यमा भनिएको छ, “फुटेर छरिएका तमाम क्रान्तिकारी शक्ति, संगठन र व्यक्तिहरूलाई एउटै मालामा गाँस्दै वैज्ञानिक समाजवादी क्रान्तिको दिशामा अघि बढ्न नेकपा (बहुमत) प्रतिबद्ध छ ।”

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.