गोरखा । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पु¥याउने उद्देश्यले पालुङटार नगरपालिका–७, च्याङलीस्थित च्याङली सामुदायिक सिकाइ केन्द्रले १० हजार रुपैयाँ सहयोग गरेको छ ।
केन्द्रले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० हजार रुपैयाँ जम्मा गरेको हो । सहयोग रकम केन्द्रका तर्फबाट जम्मा गरिएको र यसको उद्देश्य बाढीपीडितको राहत तथा उद्धार अभियानमा ऐक्यबद्धता जनाउनु रहेको केन्द्रका अध्यक्ष डा. रविन्द्र कंडेलले जानकारी दिनुभयो ।
बाढी तथा पहिरोजस्ता प्राकृतिक विपद्का कारण प्रभावित परिवारको जनजीवन कठिन बन्दै गएको अवस्थामा आफ्नो क्षमता अनुसार सहयोग गर्नु सामाजिक दायित्व भएको अध्यक्ष कंडेलले बताउनुभयो ।
उहाँले भन्नुभयो, “विपद्को पीडामा रहेका नागरिकलाई राज्यसँगै समुदाय र संस्थाहरूले पनि साथ दिनुपर्छ । सानो सहयोग भए पनि संकटमा परेकाहरूका लागि यसले ठूलो अर्थ राख्न सक्छ ।”
सामुदायिक सिकाइ केन्द्रले शिक्षा र सिकाइसँग सम्बन्धित गतिविधिसँगै सामाजिक उत्तरदायित्वअन्तर्गत विपद्मा सहयोग गर्ने अभियानमा समेत सहभागिता जनाएको हो । केन्द्रको यो सहयोगले स्थानीय तहका सामुदायिक संस्थाहरू पनि विपद् व्यवस्थापन र मानवीय सहयोगमा सक्रिय हुनुपर्छ भन्ने सकारात्मक सन्देश दिएको छ ।
रसुवा बाढीपीडितका लागि सहयोग जुटाउने क्रम बढिरहेका बेला च्याङली सामुदायिक सिकाइ केन्द्रको यो योगदानले ‘सहयोगको आकारभन्दा संकटमा देखाइएको साथ महत्वपूर्ण हुन्छ’ भन्ने भावना उजागर गरेको छ ।